|

सुर्खेत : जिल्लामा गर्भपतन गराउनेमा २० वर्ष भन्दा कम उमेरका किशोरीको संख्या बढेको पाइएको छ। स्वास्थ्य संस्थाको पछिल्लो दुई वर्षको तथ्यांकले यस्तो बताएको हो।

आर्थिक वर्ष २०७७\७८ मा २० वर्ष मुनिका २४० जनाले गर्भपतन गराएका थिए। त्यस्तै, आर्थिक वर्ष २०७८\७९ मा ३२६ किशोरीले गर्भपतन गरेको तथ्यांक स्वास्थ्य सेवा कार्यालयसँग छ। यो विवरण सूचीकृत स्वास्थ्य संस्थाबाट गर्भपतन गराउनेहरूको हो। सुरक्षित गर्भपतनका लागि निश्चित स्वास्थ्य संस्था तोकिएका छन्। असुरक्षित गर्भपतन कानुनी रूपमा बर्जित छ। 

स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार अहिले पनि सुरक्षित भन्दा असुरक्षित गर्भपतन गर्नेहरूको संख्या ठूलो छ। सुरक्षित गर्भपतन सबैको पहुँचमा नहुनु तथा समाजका डरले पनि धेरै महिला असुरक्षित रूपमा गर्भपतन गरिरहेका छन्।

आर्थिक वर्ष २०७६\७७ मा सुर्खेतमा दुई हजार ४८३ जनाले गर्भपतन गरेका थिए। २०७७\७८ मा दुई हजार ४७३ जनाले गर्भपतन गरे। आर्थिक वर्ष २०७८\७९ मा दुई हजार ६१५ जनाले गर्भपतन गरेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको विवरण छ।
 
यो तथ्यांक सुर्खेतमा रहेका सूचीकृत स्वास्थ्य सेवा प्रदायकले राखेका हुन्। ती ठाउँमा निःशुल्क गर्भपतन सेवा दिने गरिएको छ। सरकारले निःशुल्क गर्भपतन सेवा दिएका कारण र सेवा प्रदायक संस्थाहरू पनि विस्तार भएकाले सेवा लिनेहरू पनि बढेको बताइएको छ। सुरक्षित गर्भपतन लिनेको संख्या बढ्नुमा सेवाको पहुँच विस्तार मुख्य कारण रहेको स्वास्थ्यकर्मी बताउछन्। 

किशोरी अवस्थामा प्रजनन अंगहरूको पूर्ण विकास नहुने हुँदा गर्भधारण गर्नु निकै जोखिमपूर्ण हुने स्वास्थ्यकर्मी बताउँछन्। अहिले पनि धेरै महिला सुरक्षित गर्भपतन सेवाको पहुँचमा छैनन्। गर्भपतन सेवा शहरकेन्द्रित छन्। ग्रामीण क्षेत्रका महिलाहरू ज्यान नै जोखिममा राखेर असुरक्षित रूपमा गर्भपतन गराउँदै आएका छन्। दक्ष जनशक्ति र सूचिकृत स्वास्थ्य संस्थाको अभावमा यो सेवा सबैको पहुँचमा पुग्न नसकेको हो। कतिपयले सरकारी स्वास्थ्य संस्थामा गोपनीयता नहुने आशंकामा पनि असुरक्षित गर्भपतन गराउने गरेको पाइन्छ।  

गर्भपतनका लागि पायक पर्ने ठाउँमा सूचिकृत सेवा प्रदायक संस्था र तालिम प्राप्त जनशक्ति नहुँदा पनि असुरक्षित गर्भपतन गर्नुपर्ने बाध्य छ। सुर्खेतका नौमध्ये दुई वटा पालिकामा अझै पनि सुरक्षित गर्भपतन सेवा उपलब्ध छैन। चौकुने र सिम्ता गाउँपालिकामा सुरक्षित गर्भपतन गर्ने सूचीकृत सेवा प्रदायक संस्था छैनन्। यहाँका महिलाहरूलाई सेवा लिन टाढा जानुपर्ने बाध्यता छ। 

टाढा जानुपर्ने झन्झटले गर्दा धेरैजसोले नजिकको मेडिकलबाट औषधि प्रयोग गरी असुरक्षित रूपमा गर्भपतन गर्ने गरेका छन्। 

हाल सुर्खेतमा सुरक्षित गर्भपतनका लागि १९ वटा स्वास्थ्य संस्था सूचीकृत छन्। त्यसमध्ये १० सरकारी र नौ वटा निजी स्वास्थ्य संस्था हुन्। सुरक्षित गर्भपतका लागि स्वास्थ्य संस्थाभन्दा पनि जनशक्ति अभाव छ। तालिम प्राप्त स्वास्थ्यकर्मीको सरुवा भइरहने हुँदा सेवालाई निरन्तरता दिन समेत कठिनाइ हुने गरेको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ।

सुरक्षित गर्भपतनका लागि सचेतनामूलक कार्यक्रम आवश्यक रहेको सरोकारवालाहरू बताउँछन्। सचेतनासँगै सेवाको पुहँच विस्तारमा ध्यान दिइनुपर्ने उनीहरूको भनाइ छ। 

छोराको चाहनामा गर्भमा छोरी भए पतन गर्ने मानसिकले पनि असुरक्षित गर्भपतन बढेको भन्दै गएकाले यसलाई रोक्न सबै सचेत हुनुपर्नेमा जोड सरोकारवालको जोड छ  । कानुनले अपराध ठाने पनि लुकिछिपी गर्भपतन गर्ने र यसले जटिलता ल्याउने भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.