|

हुम्ला : जलवायु परिवर्तनका कारण हिमाली भेगमा तापक्रम वृद्धिसँगै डेंगुका बिरामी फेला परेका छन्। विशेषगरी तराई र भित्री मधेसका जिल्लामा हुने डेंगु संक्रमण जलवायुमा आएको फेरबदलका कारण हिमाली भेगमा पनि फैलिएको विशेषज्ञहरूको भनाई छ।  

सुर्खेतस्थित प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार यस वर्ष हालसम्म कर्णालीका हिमाली जिल्ला हुम्ला, जुम्ला, मुगु र डोल्पामा डेंगुका ४० जना बिरामी फेला परेका छन्।

डेंगु एडिस एजिप्टी जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा संक्रमण हुने गर्दछ। निर्देशनालयका डेंगु नियन्त्रण स्रोत व्यक्ति एवं भेक्टर कन्ट्रोल अफिसर श्यामलाल आचार्यले लामखुट्टेको जीवनचक्रका लागि हिमाली भेग पनि अनुकूल बन्दै गएको बताए।

‘कतिपय फेला परेका बिरामी तराईबाटै संक्रमित भएर गएका छन् भने कतिपय त्यही लामखुट्टेको टोकाइबाट संक्रमित भएको पाइएको छ,’ उनले भने, ‘दुई वर्षअघि नै मुगुको खत्याडमा लामखुट्टेका लार्भा भेटिनाका साथै डेंगुका बिरामीको पहिचान भएको थियो, हिमाली भेगमा लामखुट्टेको जीवनचक्र अनुकूल हुँदै गएपछि यसको संक्रमण पनि बढ्दै गएको हो।’ हिमाली भेगमा खोला र नदी किनारका बस्तीमा संक्रमण देखापरेको छ। 

निर्देशनालयका अनुसार यसपटक हुम्लामा १ जना, डोल्पामा ९ जना, मुगुमा ८ जना र जुम्लामा २२ जना बिरामी फेला परेका छन्।

प्रदेश अस्पतालका वरिष्ठ फिजिसियन डा केएन पौडेलले हिमाली भेगमा डेंगु संक्रमण हुनुमा जलवायुमा आएको परिवर्तन मुख्य कारण रहेको बताए।

उनले भने‚ ‘जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रका बासिन्दाको जनस्वास्थ्यमा असर परेको छ, डेंगु र मलेरियाजस्ता रोग पनि देखापरेका छन्।’ डेंगुका बिरामीलाई झुलभित्र राखेर उपचार गर्नुपरेको उनको भनाइ थियो।  

एक जिल्लाबाट अर्को जिल्लामा आवागमनका कारण पनि लामखुट्टे तराईबाट पहाड–हिमालतर्फ उक्लेको बताइएको छ। स्रोतव्यक्ति आचार्यले असोज मसान्तसम्म डेंगु सार्ने लामखुट्टे सक्रिय रहने समय भएकाले सजगता अपनाउन अनुरोध गरे।

निर्देशनालयले डेंगु रोकथामका लागि विभिन्न जनचेतनामूलक अभियान सञ्चालन गर्ने, लामखुट्टेको लार्भा नष्ट गर्ने, डेंगु कीट खरिद गरी स्वास्थ्य संस्थामा वितरण गर्नेजस्ता कार्यक्रमलाई निरन्तरता दिइएको जनाएको छ।

कर्णाली प्रदेशमा हाल डेंगुका ४ सय ४१ जना बिरामी छन्। तीमध्ये सबैभन्दा बढी सुर्खेतमा छन्। यहाँ ४ सय २२ जनामा यसपटक डेंगु संक्रमण भएको थियो। गत आवमा कर्णालीमा प्रदेश बाहिरका १४ जनासहित ७ सय ९६ जनामा डेंगु संक्रमण भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.