|
गत जेठमा गएको पहिरोका कारण अवरुद्ध भएको बेनी–भकिम्ली सडक मर्मत गरेपछि ४ महिनापश्चात मात्र सञ्चालनमाआएको छ।

म्याग्दी : गत जेठ अन्तिम सातादेखि पहिरोका कारण अवरुद्ध बनेको बेनी–भकिम्ली सडक ४ महिनापछि सञ्चालनमा आएको छ।

म्याग्दीको बेनीनगरपालिका–३ भकिम्लीको हल्लेगौडा र खुर्सानीबारीमा गएको पहिरोले अवरुद्ध बेनी–भकिम्ली सडक चार महिनापछि हिजो (शुक्रबार) सञ्चालनमा आएको हो। यसअघि सामान्य मर्मत गरिए पनि सडक नियमित सञ्चालनमा आउन सकेको थिएन।

सदरमुकाम बेनीबाट दूधेखोला–हलेगौडा–डाँडाखानी हुँदै भकिम्ली जोड्ने सडकखण्डअन्तर्गत हलेगौडा, कल्लेरी खोलाको घुम्ती र खुर्सानीबारी भन्ने स्थानमा पहिराले सडक बगाएपछि भकिम्लीका बासिन्दा आवतजावत गर्ने सडक यातायातबाट विच्छेद भएको थियो।

‘अब ठूला सवारीसाधन पनि नियमित आवतजावत गर्न मिल्छ, बाटो अवरुद्ध हुँदा भकिम्लीवासीले धेरै सास्ती खेप्नुपरेको थियो‚’ भकिम्लीका युवा याम घर्तीमगरले भने।

उनका अनुसार बर्खा लागेपछि केही समय मोटरसाइकल मात्रै आवतजावत गर्ने बाटो बनाइए पनि लगातारको बाढीपहिरोले बगाएपछि भकिम्लीवासीले पैदल मार्गको प्रयोग गरी सदरमुकाम बेनीसम्म जानुपर्ने बाध्यता थियो।

पहिरोले सडक बगाएपछि सदरमुकाम बेनी आवतजावत गर्न स्थानीयले घुमाउरो र जोखिमपूर्ण बाटो प्रयोग गर्न बाध्य भएका थिए।

बेनी नगरपालिका र स्थानीयले समेत श्रमदान गरेर खोल्ने प्रयास गरे पनि असफल भएपछि अलपत्र परेको सडक मर्मतसम्भारका लागि कृष्ण छन्त्यालको अध्यक्षतामा उपभोक्ता समितिसमेत बनाइएको थियो।

गतवर्ष ढलानसहितको सडक पहिरोले बगाएपछि वैकल्पिक मार्ग हुँदै सडक सञ्जाल जोड्ने प्रयास गरिएको थियो। पहिरोले हलेगौडासहित आसपासका क्षेत्रका बस्तीसमेत जोखिममा परेका छन्।

भकिम्ली हुँदै छिमेकी बागलुङको काठेखोला र ताराखोला गाउँपालिकाका बासिन्दाले समेत आवतजावत गर्ने गरेका छन्।

भकिम्ली जाने वैकल्पिक सडकअन्तर्गत ज्यामरुककोट, बेनी–थामडाँडा सडकखण्डअन्तर्गत राखु र मरेक हुँदै आवतजावत गर्न सकिन्छ। भकिम्ली जोड्ने हलेगौडाको सडक सबैभन्दा छोटो र सजिलो मानिन्छ। नगरपालिकाले समेत उक्त सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको थियो।

करिब ७ सय ५० घरधुरीको बसोबास रहेको भकिम्लीवासीलाई सहज हुने गरी सडक मर्मतको प्रयास भए पनि उक्त स्थान सधैँ जोखिमपूर्ण बन्दै गएकाले अहिले मर्मत गरी सञ्चालनमा ल्याइएको वडाध्यक्ष पदम पुनले बताए।

‘नयाँ ट्र्याक खुले पनि केही ठाउँमा वर्षेनी सताउने गरेको छ, मर्मतपछि स्थानीयलाई घुमाउरो र वैकल्पिक मार्गको प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ‚’ अध्यक्ष पुनले भने।

एक वर्षअगाडि ढलान गरेको सहित डेढ किलोमिटर सडक पहिरोसँगै बगेपछि उक्त सडक नियमितजसो अवरुद्ध हुन थालेपछि वैकल्पिक मार्गको समेत सर्भे भएको थियो। यो सडक विस्तार, स्तरोन्नतिमा स्थानीयको चन्दासहित श्रमदान रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.