|

बैतडी : बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आजदेखि जात्रा शुरु भएको छ। दशरथचन्द नगरपालिका-२ देहीमाडौंमा रहेको उक्त मन्दिरमा आजदेखि जात्रा शुरु भएको हो।

निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मुखिया मानबहादुर बोहराका अनुसार घटस्थापनादेखि नित्य पूजा भइरहेको मन्दिरमा महासप्तमीको अवसरमा विषेश पूजाआजासहित जात्रा शुरु भएको छ।

हरेक वर्ष महाष्टमीमा निङ्गलाशैनी भगवतीमा बोका र राँगाको बलिसहित जात्रा हुने भएकाले सप्तमीका दिन मन्दिरमा राँगाबोका पुर्‍याउने चलन रही आएको छ। महाष्टमीका दिन राँगाको बलिसहित मन्दिरमा जात्रा हुने गरेको छ। महाअष्टमीका दिन सुदूरपहाडकै सबैभन्दा बढी पशुबली यहाँ दिइन्छ। 

निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा टाढा–टाढाका भक्तजनसमेत आउने गरेको स्थानीय रमेश बोहराले बताए। जात्राका लागि नेपालका मात्रै नभएर भारतका विभिन्न ठाउँबाट समेत दर्शनार्थीहरु पुगेका छन्। निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ।

 निङ्गलाशैनी भगवती मन्दिरमा एक वर्षमा चारपटक जात्रा हुने गर्छ। महाष्टमी र चैत्राष्टमीमा लाग्ने जात्रा बलिसहित हुने भए पनि अनन्त चतुर्दशी र मंसिर शुक्ल पूर्णिमाका दिन लाग्ने मेलामा बलि नहुने बताइएको छ।

यसैबीच निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रालाई शान्त र भव्य रुपमा सम्पन्न गर्न देहीमाडौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ। मेला अवधिभर देहीमाडौं बजार र आसपासका क्षेत्रमा मदिरा सेवन र बिक्रीमा रोक लगाइएको दशरथचन्द नगरपालिका वडा नं २ का वडाध्यक्ष सूर्यबहादुर बोहराले बताए।

मदिरा सेवन र बिक्रले विभिन्न खालका समस्या उत्पन्न हुने भएकाले दशैँभरि मन्दिर आसपासका क्षेत्रमा मदिरा निषेध गरिएको हो। कसैले मदिरा कारोबार र सेवन गरेमा कानुनअनुसार कारवाही हुने चेतावनीसमेत दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.