|

जनकपुरधाम : विजयादशमीको सातौं दिन जनकपुरधामसहित यस क्षेत्रका शक्तिपीठ र पण्डालहरूमा फूलपाती भित्र्याइएको छ।

फूलपातीको विधिलाई यहाँ बेलतोरी विधिसमेत भनिन्छ। तराई–मधेशका शक्तिपीठ र दुर्गा मन्दिरहरूबाट बाजागाजा र झाँकीका साथ निक्लेको साधुसन्त र भक्तजनको समूह षष्ठीका दिन आमन्त्रण गरिएको बेल (फल)लाई विधिपूर्वक टिपेर आज मन्दिरमा प्रतिस्ठा  गरि फूलपाती मनाईएको छ।

जनकपुरधामको मुख्य शक्तिपीठ माता राजदेवी मन्दिरबाट महन्थको नेतृत्व र आयोजक महावीर युवा कमिटीको अगुवाईमा आज पनि बाजागाजासहित निक्लेको टोली हिजो आमन्त्रण गरिएको बेलको विधिपूर्वक पूजापाठ गरी मन्दिरमा भित्र्याइएको हो।

बेलको रुखमा एउटै हाँगामा फलेको एक जोडी बेललाई कपडाले बाँधेर षष्ठीका दिन निमन्त्रणा दिने गरिन्छ। विधिपूर्वक त्यही बेल तोडेर डोलामा सजाएर भगवतीको रुप मानेर ल्याइन्छ र देवीको प्रतिमामा विराजमान गराएपछि फूलपाती सम्पन्न हुन्छ।

सोहि विधिपछि पण्डालहरूमा बनाइएका माँ दुर्गा भवानी सहितको देवीदेवताका मूर्ति दर्शनका लागि आजैबाट खुल्ला गरिन्छ।

प्रत्येक वर्ष जसरी नै यस पटक पनि फूलपातीको अवसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली बाजागाजासहित फूलपाती भित्र्याउन सहभागी भएका छन्। सो अवसरमा सशस्त्र प्रहरी र नेपाली सेनाले २/२ तोपको सलामीसमेत अर्पण गरेका थिए।

टोलीमा स्थानीय सरकारका प्रमुख, उपप्रमुख, प्रशासनिक निकायका प्रमुखहरू, प्रदेश र संघीय सांसदसहित विशिष्ठ व्यक्तिहरूको सहभागिता हुने गर्दछ। दशैंमा ९ दिनसम्म शक्तिपीठ तथा घरमा पूजा अर्चनासहित दुर्गा भगवतीको स्तोत्र पाठ गरिन्छ।

नवरात्रिको सातौँ दिन माता कालरात्रीको पूजापाठ भइरहेको छ। प्रत्येक दिन नवदुर्गाको फरक फरक स्वरूपको आराधना गरिने परम्पराअनुरूप आश्विन शुक्ल सप्तमी तिथिमा देवी कालरात्रीको पूजा–आराधना गरिन्छ।

नवरात्रीको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा गरी दशैंमा शक्तिको पूजा आराधना गर्ने परम्परा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.