|

बैतडी : हिन्दू नेपालीहरुको महान चाड विजयादशमीमा पनि सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा हवाई सेवा सञ्चालन हुन सकेन। लामो समयदेखि बन्द रहेको हवाई सेवा दशैंमा पुनः सञ्चालन हुने भनिएको थियो। तर दशैंमा पनि सुचारु हुन नसकेको हो।

समिट एयरले साप्ताहिक रुपमा उडान गर्दै  आएकोमा  गत चैतदेखि बन्द रहेको धनगढी–बैतडी –धनगढी हवाई उडान  सेवा बन्द छ। कहिले यात्रु नपाइने समस्या त कहिले मौसम खराबीका कारण यहाँको उडान सेवा ६ महिनादेखि बन्द रहेको हो।  यसअघि दशैंलाई लक्षित गर्दै यही असोज ८ गते शनिबारदेखि नियमित रुपमा हवाई उडान हुने जनाइएको थियो।

माथिबाटै दशैंमा यात्रु हुन्छन् भनेर असोज ८ देखि उडान भर्ने भनेर जानकारी आएको भएपनि यात्रु समस्याका कारण हुन नसकेको समिट एयर बैतडीका सम्पर्क व्यक्ति कृष्ण दत्त भट्टले जानकारी दिए।

 साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएकोमा गत चैत १० गते यहाँ अन्तिमपटक उडान भएको थियो। भट्टले  भने, 'दशैंतहारको बेला यात्रु नियमित रुपमा पाइन्छन्  भनेर  असोज ८ गतेदेखि  फ्लाइट हुने जानकारी आएको थियो तर यात्रु अभावमा उडान हुन सकेन्।'

यसअघि बिहीबार हुदैं आएको हवाई उडान असोज ८ गतेदेखि हरेक शनिबार साप्ताहिक रुपमा धनगढी–बैतडी –धनगढी उडान हुने समिट एयरले जनाएको थियो।  दशैंमा समेत यात्रु अभाव भएपछि अब भने यहाँ कहिले उडान हुने भन्नेबारे अनिश्चित भएको छ।

उनले भने,'चाडपर्वको बेला यात्रु हुन्छन् र नियमित उडान गर्ने तयारी थियो तर अब यसपछि कहिलेदेखि उडान हुने भन्नेबारे समेत अनिश्चित भएको छ।'

यात्रु नपाइनुको मुख्य कारण महंगो भाडा

बैतडीमा हवाई उडान नहुनुको कारण यात्रु नपाइने भनेर भन्ने गरिएको छ तार यात्रुको गुनासो भने भाडा महंगो भएको रहेको छ। १७ मिनेटमै पुगिने यात्रामा भाडा भने महंगो भएको स्थानीय भागरथी भट्टले बताइन्। उनले भनिन्, '१७ मिनेटको यात्राका लागि ५ हजार तिर्नु निकै महंगो हो, भाडादर घटाएपछि नियमित रुपमा यात्रु पनि पाइन्थे, यात्रुहरुलाई पनि सहज हुन्थ्यो।'

 १७ मिनेटको बैतडी–धनगढी हवाई भाडा अबदेखि पाँच हजार रहेको छ । शुरुमा हवाई सेवा सञ्चालन हुँदा ३ हजार ८ सय ५० रुपैयाँ भाडा रहेकोमा त्यसपछि बढेर ४ हजार ६ सय रुपैंया पुगेको थियो। 

हवाई उडान नियमित नहुँदा आकस्मिक रुपमा  बिरामी भएकालाई लैजान तथा अन्य कामका लागि जान समस्या हुने गरेको छ।  सार्वजनिक यातायातमा धनगढी पुग्न  कम्तीमा ८ घण्टा लाग्ने गर्दछ।  नियमित उडान नहुँदा यहाँका नागरिक निरास समेत भएका छन्। 

पाटनमा विमानस्थल २६ वर्षपछि वि स २०७७ असोज अन्तिम साताबाट पुन सञ्चालनमा आएको हो। वि स २०३२ सालमा पाटनमा विमानस्थल निर्माणको काम सुरु भएर २०३५ सालदेखि हवाई सेवा सुरु भएको थियो।

पछि २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो। त्यतिबेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो। २०५८ सालमा तत्कालीन विद्रोही माओवादीले विमानस्थलको टावरमा आगो लगाएर ध्वस्त बनाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.