|

सल्यान : केही वर्षअघिसम्म आर्थिक अवस्था कमजोर भएका अभिभावकले पनि ऋण काढेर छोराछोरीलाई निजी विद्यालयमा पढाउँथे।

कमजोर व्यवस्थापन, गुणस्तरीय अध्यापन नहुनु, परीक्षामा खराब नतिजाका कारण अभिभावक र विद्यार्थीको सरकारी विद्यालयप्रति आकर्षण न्यून थियो। कतिसम्म भने आफैँले पढाउने सरकारी विद्यालयको पढाइमा विश्वास नभएर शिक्षकले समेत निजी विद्यालयमा छोराछोरी पढाउँथे।

​तर केही वर्षयता सल्यानका केही सरकारी विद्यालयले गरेको गुणात्मक सुधारले पुरानो परिदृश्य बदलिएको छ। सरकारी विद्यालयले शिक्षामा गरेको सुधारका कारण विद्यार्थी र अभिभावक दुवैको आकर्षण अहिले सरकारीमा बढेको छ।

पछिल्ला केही वर्षयता गुणस्तर र सिकाई सुधार्न विद्यार्थीबीच प्रतिस्पर्धा शुरु भएको छ। विद्यार्थी आकर्षित गर्न र शिक्षकलाई कक्षामा टिकाउन अनेक प्रयत्न थालिएका छन्। नयाँ नयाँ योजना ल्याइएका छन्।

अभिभावकलाई तीन रङको चिठी

विद्यालयमा विद्यार्थीको उपस्थिति नियमित बनाउन जनज्योति माध्यमिक विद्यालय दार्मा गाउँपालिका-३ फारुलचौरले अभिभावकलाई तीन रङका चिठ्ठी पठाउने गरेको छ।

विद्यालयमा नियमित हुने विद्यार्थीको घरमा हरियो, आशिंक उपस्थित हुनेको घरमा पहेँलो र अनियमित हुने विद्यार्थीको घरमा ध्यानाकर्षण सहितको रातो गरी तीन रङको चिठी पठाउने गरेको प्रधानाध्यापक मीनराज वलीले बताए।

तीनै रङको चिठी पठाउन थालेदेखि विद्यालयमा उपस्थित नहुने विद्यार्थी नियमित हुन थालेको उनको भनाई छ। उनले भने‚ ‘अभिभावकलाई चिठी पठाउन थालेदेखि अभिभावकले विद्यालय र आफ्ना छोराछोरीको बारेमा चासो राख्ने, शिक्षक विद्यार्थी बाटोमा देखिए कता जान लागेको भनेर सोध्ने बानीको विकास भएको छ।’

गत आर्थिक वर्षमा १ हजार ९६ विद्यार्थी रहेकोमा चालू आवमा १ हजार २ सय ८६ विद्यार्थी रहेको विद्यालयको भनाई छ।

विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले आलोपालो गरी विद्यालयमा उपस्थित हुने, विद्यार्थीलाई सोध्ने तथा कुनै पनि तरिकाले विद्यालयमा दैनिक गतिविधिबारे जानकारी लिने, पाएको जानकारीबारे बैठकमा छलफल गर्ने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीका शर्मा वलीले बताए।

उनले भने‚ ‘विद्यालय सुधारका लागि सबैभन्दा ठूलो कुरा इच्छाशक्ति रहेछ। प्रअ सक्रिय भए विद्यालय उकास्न गाह्रो नहुने मेरो अनुभव छ।’

विद्यार्थी नियमित गर्न सबैभन्दा ठूलो कुरा बालमैत्री हुनु पर्छ। विद्यार्थीका लागि कक्षाकोठा, फर्निचर, पिउने पानीको व्यवस्था, खेलका सामाग्री, समय समयमा विद्यार्थीका रुचिअनुसारका क्रियाकलाप गर्ने व्यवस्था, विद्यार्थीको स्वास्थ्यको ख्याल, विद्यार्थीलाई स्नेहपूर्ण व्यवहार लगायत कुराले पनि विद्यार्थी नियमित गराउन सहयोग गर्ने उनको भनाई छ।

प्रत्येक मसान्तमा फिल्ड

विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी व्यावहारिक र जीवनोपयोगी शिक्षा दिन प्रत्येक महिना मसान्तमा विद्यार्थीलाई परियोजना लेख्न फिल्ड पठाउने गरिन्छ। विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका कार्यालय, कृषि फर्म, स्वास्थ्य संस्थामा पठाउने गरिएको प्रधानाध्यापक वलीको भनाई छ।

उनले भने‚ ‘विद्यार्थीलाई कक्षाकोठा र पाठ्यपुस्तकमा मात्र सीमित गरेर शैक्षिक गुणस्तर वृद्धि नहुने भएकाले व्यावहारिक र जीवनोपयोगी ज्ञानका लागि मसान्तका दिन विद्यालयमा नभई फिल्डमा पठाउने गर्छौं।’

फिल्डमा आफूहरूले गरेको कामको प्रतिवदेन तयार पारी कक्षामा प्रस्तुत गर्ने गरेको विद्यालयको भनाई छ। रचनात्मक क्रियाकलाप गराउँदा विद्यार्थीमा पढ्ने बानीको विकास हुने हुने वलीको भनाई छ।

सहकारीमा गएको विद्यार्थीले सहकारी सञ्चालनबारे बुझेर आउँछ, स्वास्थ्य संस्था गएको विद्यार्थीले उपचारसम्बन्धी सिकेर आउँछ, कृषि फर्ममा गएको विद्यार्थी खेतीपातीसम्बन्धी सिकेर आउने गर्छन्।

शारदा नगरपालिकाले पठायो ५८ स्कुलमा कार्ड

शारदा नगरपालिकाले नगरभित्रका सम्पूर्ण विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र विद्यालयमा विद्यार्थी नियमित बनाउन तीन रङको चिठी पठाउन थालेको छ।

आधारभूत तहका विद्यार्थीलाई नियमित रुपमा कक्षामा उपस्थित गराउन नगरपालिकाका ५८ विद्यालयमा कार्ड वितरण गरिएको शिक्षा शाखा प्रमुख संगीता बुढाले बताइन। कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई लक्षित गरी तीन रङका कार्डसँगै हाजिर रेकर्ड पठाइएको उनको भनाई छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.