|

डडेल्धुरा : अमरगढी नगरपालिका–३ डोटीखेलाको पुछारमा रहेको सुदूरपश्चिमको प्रमुख धार्मिक शक्तिपीठ घटाल थान नजिकैको अशिग्राम मन्दिरमा लाग्ने दशैं जाँत मेलाको तयारी पूरा भएको छ। हरेक वर्ष बडा दशैंमा अशिग्राम मन्दिरमा दशैं जाँत धुमधामसँग विशेष आस्थाका साथ मनाइने गरिन्छ। ​

डोटीखेला आसपासका गाउँ बस्तीसँगै सदरमुकाम खलंगा र छिमेकी जिल्लाबाट पनि ठूलो संख्यामा भक्तजन दशैं जाँतका बेला घटाल बाबाको पूजाआजासँगै यो विशेष अवसरमा काम्ने घटालका धामीबाट आशिषसहित अक्षता र प्रसाद ग्रहण गरेर घर फर्कने गर्छन्।

मेला भर्न सुदूरपश्चिमका विभिन्न जिल्लालगायत छिमेकी देश भारतबाट पनि भक्तजन आउने गर्छन्। घटाल बाबासँग कसैले केही मागेमा मनोकामना पूरा हुने जनविश्वास छ। यहाँ मनोकामना पूरा भएपछि बोकाको बलि दिने चलन छ। पश्चिमी क्षेत्रमा घटालबाबाले मनोकामना पूरा गरिदिने जनविश्वास रहँदै आएको छ।

किंवदन्तीअनुसार डोट्याली पुत्रविहीनराजा नागी मल्लकी रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकेपछि त्यहीँ नै घटालबाबा स्थापना गरिएको बताइन्छ।

घटस्थापनाका दिन चम्सालमा रहेको देवघरबाट देउताको देउरो घटालस्थान नजिकै अशिग्राम मन्दिरमा पुर्‍याइन्छ। बडा दशैंको दिन मेला सकिएपछि बेलुकी देउरो फेरि चम्सालस्थित देवघरमा ल्याइने गरिएको घटाल क्षेत्र विकास समाजका अध्यक्ष कृष्णप्रसाद बोहराले जानकारी दिए।

दशैं जाँतका बेला आफ्नो थातथलो छोडेर टाढा पुगेकाहरू पनि एकै दिनका लागि भए पनि घर फर्कने गरेका अध्यक्ष बोहरा बताउँछन्।

द्वापरयुगमा कुरुक्षेत्रमा भएको कौरव र पाण्डवबीचको धर्मयुद्धमा भीमपुत्र घटोत्कचले ठूलो पराक्रम देखाएका थिए। उनले कौरव सेनामाथि धावा बोलेर ठूलो क्षति पुर्‍याएको महाभारतमा उल्लेख छ।

लडाइँको मैदानमै वीरगति प्राप्त गरेका घटोत्कचको पराक्रम देखेका श्रीकृष्णले उनलाई कलीयुगमा ख्यातिप्राप्त भगवानका रुपमा मान्यता पाउने वरदान दिएको विश्वास छ।

सदियौंदेखि त्यही मान्यताअनुरुप घटाल बाबालाई यस क्षेत्रका बासिन्दाले ठूलो धार्मिक आस्था र सम्मानका साथ पुज्ने गरेका स्थानीय बताउँछन्। दसैं जाँतको अर्को आकर्षण आफन्तहरूसँगको भेटघाट केही समयका लागि भए पनि एकै थलोमा बसेर सुखदुःख साटासाट गर्न पाउनु पनि हो।

घटाल थानमा हरेक वर्ष २ वैसाखमा मेला लाग्ने गर्छ। धामी काँपेर बालुवा खानु मेलाको विशेषता हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.