|

डडेल्धुरा : नेपालीको महान पर्व दशैंले डडेल्धुराका मुख्य बजारहरू प्रायः सुनसान छन्। बजार क्षेत्रका बासिन्दा दशैं मनाउन आ–आफ्नो गाउँ गएपछि जिल्लाका प्रमुख बजार सुनसान भएका हुन्।

जिल्ला सदरमुकामको मुख्य बागबजारसहित तुफानडाँडा, कीर्तिपुर, स्याउले, भात्काँडा, पोखरालगायत बजार सुनसान बनेका हुन्। दशैंअघि निकै चहलपहल हुने यी बजारका धेरैजसो पसलहरू बन्द हुँदा बजार क्षेत्र सुनसान देखिएका छन्।

विद्यार्थी, कर्मचारी, व्यापारी, राजनीतिक दलका नेता कार्यकर्ता लगायतका कारण भीडभाड भैरहने यी बजार सबै दशैं मनाउन गाउँघरतर्फ लागेकाले शून्यप्रायः छन्। स्कुल/कलेजका साथै पसलसँगै बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय पनि बन्द हुँदा सदरमुकाम क्षेत्र सुनसान बनेको हो।

शहर बजार र देश विदेशबाट घर फर्किएका कारण गाउँघरमा चहलपहल निकै बढेको छ। गाउँमा दशैंको रमझम बढिरहेका बेला बजार क्षेत्र भने भएकाहरूले पनि छाडेपछि सुनसान बनेको छ। डेरा गरी बस्ने र घर भएकाहरू समेत धेरैजसो दशैं मनाउन गाउँ गएका छन्।

यसअघिका दशैंको तुलनामा यो दशैंमा गाउँ जानेको संख्या बढी छ। दुई वर्ष कोरोनाले गर्दा हर्षोल्लासका साथ दशैं मनाउन नपाएकाले पनि यो वर्ष धेरैजसो मानिस आफ्नो घरमा मान्यजनबाट टीका थाप्न गाउँघर आइपुगेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.