|

पर्वत : रोटरी क्लब अफ पर्वतले खाद्यान्न अभावका कारण दशैं मनाउन नसक्ने अवस्थामा रहेका जिल्लाका ३१ परिवारलाई खाद्यान्न सहयोग गरेको छ।

क्लब पर्वतमा स्थापना भएदेखि नै हरेक वर्ष विजयादशमीको अवसर पारेर विपन्नताको कारण चुह्लो बाल्नै समस्यामा रहेका परिवारलाई चामल, दाल, तेल लगायत खाद्य सामाग्री वितरण गर्दै आइरहेको छ। यस वर्ष पनि सोही कार्यक्रमलाई निरन्तरता दिँदै कुश्मा नगरपालिका र मोदी गाउँपालिकाका विभिन्न वडाका विपन्न परिवारलाई सहयोग गरेको हो।

रोटरी क्लब अफ पर्वतका संस्थापक अध्यक्ष विश्वप्रकाश प्रसाईँका अनुसार उनीहरूलाई बढीमा ३० किलोसम्म चामल, आधा लिटर तेल, एक किलो दाल, एक प्याकेट मसला, एक किलो नुन सहित सरसफाइका सामानहरू वितरण गरिएको हो। रोटरी मानवीय सेवामा समर्पित संस्था भएकोले हरेक दुःखमा समाजमा रहेका दिन दुःखीलाई सहयोग र साथ दिँदै आएको प्रसाईँले बताए।

‘हुने खानेले हुँदा खानेलाई ठूलो मन बनाएर सानो सहयोग गरिदिने हो भने समाजमा कोही पनि भोको नरहने अवस्था आउँछ। नेपालीको ठूलो चाड दशैं भन्ने अनि त्यही दशैंमा भात नै खान नपाउने अवस्था रहने कति दुःखद छ,’ उनले भने, ‘दशैं कसैका लागि दशा नबनोस् भन्ने  हाम्रो उद्देश्य हो। निभेको चुल्होमा रोटरी कार्यक्रम विगत एक दशक देखि सञ्चालन गर्दै आएका छौँ। सधैँ नसके पनि यो चाडमा त खुसी दिऔँ भनेर हाम्रो अभियान चलेको हो।’

राहत खाद्यान्न पाएपछि प्रतिक्रिया दिँदै कुश्मा नगरपालिका–१० पिपलटारीका कृष्ण पुरीले रोटरीको सहयोगले रोटरीको सहयोगकै कारण आफूले यस वर्षको दशैं बनाउन लागेको बताए। आफ्नो आर्थिक अवस्था कमजोर रहेका कारण दशैंमा पनि पेट भरेर खान पाउने अवस्था नरहेको बेलामा आफूलाई चामलसहित खाद्यान्न सहयोग गर्दा दशैं रमाइलो बन्ने बताए।

मोदी गाउँपालिका–२ की भद्रीकला श्रेष्ठको पनि आर्थिक अवस्था उस्तै छ। एक मात्र अपाङ्गता भएका छोराको साथमा रहँदै आएकी उनको अवस्था पनि कारुणिक छ। हरेक दिन कठिन अवस्था पार गर्दै आइरहेकी उनले पनि रोटरीले गरेको सहयोगका कारण परिवारमा खुशी मिलेको बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.