|

बैतडी : नेपालीको महान चाड बडा दशैँको चहलपहल जताततै छाएको छ। कामको सिलसिला, पढाईका लागि, पहाडबाट तराई बसाई सरेकासमेत पहाड उक्लिएका छन्। दशैँ मान्न तथा विभिन्न शक्तिपीठमा दर्शनका लागि पनि यो बेला धेरैजसो पहाड आउने गरेका छन्। त्यसैले यहाँ दशैँको रौनक छाएको छ।

तर सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका महिलाहरूलाई भने दशैँको रमझमले छुन सकेको छैन। यहाँका महिलाका लागि यो समय भनेको खर भित्र्याउने समय भएकाले उनीहरू खर काट्नमै व्यस्त हुन्छन्‚ दशैँको रमझममा रमाउन पाउँदैनन्।

खर काट्न एकाबिहान उज्यालो नहुँदै घरबाट निस्किने र राति मात्रै घर फर्किने यहाँका महिलाहरूको यतिवेलाको दैनिकी हो। हिउँदको समयमा वस्तुभाउका लागि खर काट्नमा नै महिलाहरू व्यस्त हुने गरेका सिगासकी हरिना बोहराले बताईन्।

उनले भनिन्, ‘घरमा ३/४ वटा भैंसी पालेका छौं, भैंसीलाई हिउँदको आहाराका लागि अहिले खर काट्ने गरिएको छ। महिलाका लागि दशैँभन्दा नि खर नै महत्वपूर्ण छ।’

खरसँगै केही दिनमा गहुँ छर्न खेत तयार पार्ने समय आउने भएकाले दशैँभन्दा पनि उनीहरूले घाँस भित्र्याउने कामलाई बढी ध्यान दिनुपरेको दोगडाकेदारकी स्थानीय फुनडी विष्टले बताईन्।

हिउँदको समयमा गाई भैंसीलाई खुवाउन घाँस अभाव हुने भएकाले मकै भित्र्याएर खर काट्न चटारो परेको हो। उनले भनिन्, ‘यो सिजनमा धेरै कामको चटारो हुन्छ, दशैँभन्दा नि हाम्रो लागि घरको काम नै ठूलो हो।’ महिलाहरुले छिमेकीसँग पालोपैँचो गरी  खर  काट्ने गर्छन्।

दशैँ तिहार सबैतिर लागेको छ तर आफ्ना लागि खर काट्ने चटारो मात्रै रहेको दार्चुलाको लेकमकी कमला कार्कीले बताईन्। ‘खर खास गरेर महिलाले नै काट्ने भएकाले हामीहरुको उज्यालो पनि खरफागलामै हुन्छ, रात परेपछि मात्र घर पुगिन्छ‚’ उनले भनिन्‚ ‘अहिले खर नकाट्यो भने हिउँदमा गाईभैंसीको आहारा हुँदैन। त्यसैले हामीले अहिले दशैँ मान्नुभन्दा पनि घर काट्नुपर्ने प्राथमिकतामा हो।’

खर काट्ने सिलसिला मंसिर आधासम्म रहने स्थानीय महिलाहरूको भनाई छ। बैतडीमा मंसीर पहिलो सातातिर वनको हरियो घाँस काटेर खर बनाउने काम गरिन्छ।

खर काट्ने बेलामा कतिपय ठाउँमा भीर भएकाले महिलाले जोखिम मोलेर खर काट्ने गरेका छन्। घाँस काट्ने लोभमा उनीहरु भीरमा चढेर खर काट्ने भएकाले प्रत्येक वर्ष अप्रिय घटनासमेत हुने गरेको छ।

यसका साथै सुदूरपश्चिममा दशैँका बेला खानपिनभन्दा भक्तिभावमै बढी केन्द्रित हुने गरेको पाइन्छ। सुदूरपश्चिममा पुस्तौंदेखि सात्विक हिसाबले दशैँ मनाईने गरिएको छ।

दशैँको घटनास्थापनाको दिनदेखि नै धेरैजसोले नवरात्र उपासना तथा जाग्राम बसेर विजयादशमीको टीका ग्रहण गरेर मात्रै भोजन गर्ने चलन रहेको संस्कृतिका जानकार जयानन्द भट्टले बताए।

परापूर्वकालदेखि नै यो क्षेत्रमा दशैँको बेला घटस्थापनादेखि चोखो भोको रहने र नवरात्र उपासना गर्ने चलन रहेको छ। यो समयमा नवरात्र उपासना गर्नेहरुले शुद्ध शाकाहारी भोजन मात्रै गर्ने गर्छन्।

दशैँको समयमा खानपिन गरेर रमाइलो गर्ने चलन रहेको भए पनि यो क्षेत्रमा सात्विक हिसाबले दशैँ मनाउने चलन रहेको संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए। दशैँका बेला देवीदेवताका मन्दिरमा पूजापाठ हुने भएकाले सादगी हिसाबले दशैँ मनाउने गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.