|

हेटौंडा : जग्गा बेचेर उद्योगमा नयाँ प्लान्ट जडान गर्ने हेटौंडा सिमेन्टको योजना स्थगित भएको छ। 

निरन्तरको घाटा रोक्न उद्योगले नयाँ प्लान्ट जडान गर्न आफ्नो स्वामित्वमा रहेको जग्गा बेच्ने योजना बनाएको थियो। तर, तत्कालका लागि उक्त योजना स्थगित भएको हो। पछिल्लो चार वर्ष लगातार घाटामा चलिरहेको सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगले हेटौंडा–९ स्थित  आफ्नो जग्गा  नेपाल बैंकलाई बेच्ने तयारी गरेको थियो।

नेपाल बैंकलाई आफ्नो जग्गा बेचेर पुराना भएका मेसिन मर्मत गर्ने तथा नयाँ मेसिन ल्याएर उद्योगलाई पुरानो लयमा फर्काउने योजना थियो। तर, उद्योग मन्त्रालयले जग्गा बिक्री गर्ने सम्बन्धमा रोक लगाएपछि हेटौैंडा सिमेन्टले उक्त योजनालाई तत्काल स्थगित गरेको छ। योजना हाललाई स्थगन भएको महाप्रबन्धक वसन्त पाण्डेले पुष्टि गरे।   

पाण्डे पुराना प्लान्टका कारण उत्पादन लागत महँगो परेपछि उद्योगले निजी क्षेत्रका उद्योगसँग बजार मूल्यमा प्रतिस्पर्धा गर्न नसकेको बताउँछन्। हेटौंडा सिमेन्टको ‘गुडबिल’ले मात्रै थोरै बजार धानेको छ। तर, विभिन्न अफर तथा आकर्षक योजनाको प्रचारले निजी क्षेत्रको सिमेन्ट बढी बिक्री भइरहेको छ। 

निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसकेर हेटौंडा सिमेन्टको गोदाममा तीन लाख बोरा सिमेन्ट स्टक रहेको थियो। विगतमा भन्दा बजार माग घटेको अवस्थामा हेटौंडा सिमेन्टले निजी क्षेत्रका उद्योगसँग प्रतिस्पर्धा गर्न जग्गा बेचेर भए पनि नयाँ प्लान्ट जडानको योजना बनाएको हो। यद्यपि, जग्गा बिक्री गरेर नयाँ प्लान्ट जडान गर्ने योजना नयाँ भने हैन। महाप्रबन्धक पाण्डेका अनुसार दुई वर्षअघि नै सञ्चालक समितिले निर्णय गरेर उद्योग तथा आपूर्ति मन्त्रालयमा जग्गा बिक्रीको सम्बन्धमा पत्राचार गरेको थियो। 

सिफारिस मन्त्रालयमै थन्किएको अवस्थामा महाप्रबन्धक भएर आएका पाण्डेले जग्गा बिक्रीबाट उद्योगमा नयाँ प्लान्ट जडान गर्ने योजनालाई टुंगोमा पुर्‍याउन खोजेका थिए। तर, उद्योगको योजना हाललाई स्थगित भएको छ। नयाँ मेसिन जडान गर्न उद्योगको केही खाली जग्गा सरकारी कार्यालयहरूलाई बेच्न सकिनेबारे मन्त्रिपरिषद्लाई जानकारी गराएको पाण्डेले यसअघि नै जानकारी दिएका थिए।

‘हामीसँग प्रयोग नभएको थुप्रै विगाह जमिन छ। प्रदेशको राजधानी हेटौंडा भएपछि यहाँ राष्ट्र बैंकले जग्गा खोजी गरिरहेको छ’, पाण्डेले यसअघि भनेका थिए, ‘हाम्रो प्रयोग नभएको करिब १२ विगाह जति जमिन अर्को सरकारी निकायलाई बेच्न सक्यौँ भने केही अर्ब रकम आउँछ र केही सरकारले सहयोग गर्दा नयाँ प्लान्ट जडान गर्न सकिन्छ।’ हाल उद्योग नियमित सञ्चालनका लागि ८० करोडदेखि एक अर्ब खर्च लाग्ने अनुमान पाण्डेको छ। उद्योगमा नयाँ प्लान्ट जडान गर्न पाँच देखि आठ अर्ब खर्च लाग्ने उनको भनाइ छ। 

उनले सिमेन्ट उद्योग सञ्चालक समितिको निर्णय आगामी साधारणसभामा लैजाने भएर स्थगित हुन पुगेको दाबी गरे। स्रोतका अनुसार उद्योग मन्त्रालय नै जग्गा बिक्री गर्न इच्छुक नदेखिएकोले योजनामा ‘ब्रेक’ लागेको हो। हेटौंडा सिमेन्ट उद्योगमा ४० वर्ष पुराना प्रविधि र थोत्रा मेसिनका कारण नियमित सिमेन्ट उत्पादन हुन सकेको छैन। पुरानो प्रविधि परिवर्तन गरी उद्योगलाई नियमित सञ्चालन गर्ने योजनामा रहेका पाण्डेले रातोमाटेको जग्गा बिक्री गर्ने तयारी गरिरहेको थिए। उद्योगको जग्गा खरिद गर्न राष्ट्र बैंक इच्छुक थियो। 

पाण्डेले आफू आएदेखि नै उद्योग पटक–पटक बन्द भइरहेको बताउँदै प्रविधि नयाँ जडान गर्नुपर्ने बताउँदै आएका छन्। हेटौंडा सिमेन्टलाई सिमेन्ट उत्पादन गर्ने देशभरका उद्योगमध्ये सबैभन्दा बढी गुणस्तरीय र विश्वासिलो मानिन्छ। ‘गुडबिल’ले मात्रै टिकेको हेटौंडा सिमेन्ट बन्द हुने अवस्थामा पुगिसकेको छ। उद्योग निरन्तर चल्ने र बन्द भइरहने अवस्थाबाट गुज्रिएको उनी बताउँछन्। ‘उद्योगमा नयाँ मेसिन नल्याएसम्म समस्या हट्दैन। एउटा बनाएर चलायो अर्को बिग्रिहाल्छ। जति बनाए पनि नियमित चल्न सकेन। नयाँ उपकरण ल्याएर उत्पादन थाल्नुपर्ने भएकाले सरकारसँग पहल गरिरहेको छु’, पाण्डेले भने। 

उद्योगले विगत चार वर्षमा करिब ८० करोड घाटा व्यहोरेको छ। घाटासँगै उद्योग करिब २० करोड ऋणमा डुबेको छ। गत आव २०७८\०७९ मा मात्रै उद्योगले करिब साढे २३ करोड घाटा व्यहोर्नु परेको महाप्रबन्धक पाण्डेले जानकारी दिए। गत आवमा एक अर्ब २२ करोड आम्दानी गरेको उद्योगले एक अर्ब ३९ करोड खर्च गरेको छ। उद्योगले आव २०७४्७५ मा १६ करोड ३६ लाख नाफा कमाएको थियो। त्यसयता उद्योग निरन्तर घाटामा छ। आव २०७५\०७६ मा उद्योगले १ करोड ५ लाख, आव ०७६\०७७ मा २३ करोड ८२ लाख, आव ०७७\७८ मा थप १७ करोड चार लाख नोक्सान व्यहोर्नु परेको उद्योगले जनाएको छ।  

कोइला अभावका कारण हाल उद्योगको उत्पादन ठप्प  छ। कोइला अभावका कारण करिब डेढ महिनादेखि हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द छ। विभिन्न समस्या भोग्दै आएको उद्योगले पछिल्लो समय कोइला अभावका कारण गत साउनदेखि उत्पादन बन्द गरेको हो। लगातारको वर्षाका कारण उद्योग सञ्चालनका लागि आवश्यक कोइला आपूर्ति हुन नसक्दा उद्योग नै ठप्प हुन पुगेको जनाइएको छ। हेटौंडा सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता ५२ लाख बोरा हो। तर, विविध समस्याका कारण उद्योगको उत्पादन क्षमतामा ह्रास आएको छ। 

उद्योगले आर्थिक वर्षमा २०७७\७८ मा वार्षिक ३१ लाख २० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको थियो। सो वर्षमा उद्योगले निर्धारित लक्ष्य पूरा गर्न सकेन। आर्थिक वर्ष २०७७\७८ मा १८ लाख ५३ हजार ७६४ बोरा मात्र सिमेन्ट उत्पादन गरेको थियो। लक्ष्यअनुसार सिमेन्ट उत्पादन गर्न नसकेपछि उद्योगले उत्पादन लक्ष्य घटाएको छ। उद्योग व्यवस्थापनले गत आर्थिक वर्ष २०७८\७९ बाट ३० लाख २० हजार बोराबाट वार्षिक उत्पादन लक्ष्य घटाएर २५ लाख बोरामा झारेको थियो।

गत आर्थिक वर्षमा घटाएर निर्धारण गरिएको उत्पादन लक्ष्यसमेत उद्योगले पूरा गर्न सकेन। गत आर्थिक वर्षमा उद्योगले १६ लाख १३ हजार ९६४ बोरामात्र उत्पादन गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.