पर्वत : दशैँमा घरमा पुगेर बाबुआमासहितका मान्यजनको हातबाट टीका र जमराका साथ आशीर्वाद लिन मन सबैको हुन्छ। कतिपय बाध्यता यस्ता हुन्छन् जुन सम्भव भएर पनि आफूले चाहे अनुसार पूरा हुँदैनन्।
घरमा आउन नपाए पनि आफू जहाँ रहेको छ त्यहीँ परिवेशलाई बाबुआमा सरहको परिवेश मान्नुपर्ने अवस्था आउँछ।
पर्वतको मोदी गाउँपालिका स्थित पातीचौर घर भएका डा. अनमोल पौडेल हाल पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा एम.डी. पहिलो वर्षमा इन्टरनल मेडिसिनको अध्ययन गरिरहेका विद्यार्थी हुन्।
दशैँको दिनमा घर जाने चाहना भए पनि सोही दिनमा उनले अस्पतालमा २४ सै घण्टा सेवा दिनुपर्ने बाध्यता आयो। विगतका वर्षहरूमा जसोतसो घर आएर मान्यजनबाट टीका ग्रहण गर्न भ्याएका उनी यस पटक भने बिरामीको सेवामा लाग्नुपर्ने भयो।
दशैँको बेला भएका कारण अस्पतालको ओपिडी सेवा बन्द रहेको थियो। डा. अनमोल जस्तै अन्य विद्यार्थी र चिकित्सकसहितका स्वास्थ्यकर्मीहरू अस्पतालका विभिन्न विभागमा कार्यरत थिए। टीकाको साइत हुन लागेको बेला इमर्जेन्सीमा पोखराकै करिब ६० वर्ष माथिका एक पुरुष शय्यामा थिए।
मिर्गौला सम्बन्धी समस्या बोकेर आएका उनको उपचारमा जुटिरहेको बेलामा टीकाको साइत परेपछि डा. पौडेलले ती बिरामीकै हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरे।
‘म एक विद्यार्थी हुँ। म मेरो ड्युटीमा प्रतिबद्ध हुनुपर्छ। घरमा पुगेर मान्यजनको हातबाट लगाएको टीका र एउटा प्यासेन्टको हातबाट लगाएको टीकामा कुनै अन्तर छैन। बिरामीहरू मेरा गुरु हुनुहुन्छ, बिरामीहरू मेरा दोस्रो अभिभावक हुनुहुन्छ। हरेक डाक्टरका लागि बिरामी वेस्ट टिचर हुनुहुन्छ,’ उनले भने, ‘मेरा गुरु, मेरा अभिभावकको हातबाट टीका लगाउन पाउनु मेरै अभिभावकको हातबाट लगाए बराबर नै हो।
बिरामीको उपचार गरेर उहाँको मुहारमा आएको खुशी देख्न पाउँदा हामीहरूका लागि दशैँ तिहार त्यही हुन्छ।’
दसैँ तिहार जस्ता नेपालीका ठूला चाडबाडको बेलामा चिकित्सक जस्तै सुरक्षाकर्मी र अन्य पेशामा रहेकाहरू पनि कर्तव्य पालनामा रहेका हुन्छन्। कोही चाडबाडमा पालो मिलाएर घरमा जान पाउने भए पनि कतिपयको भने नमिल्ने अवस्था आउँछ।
आफ्नो पेशालाई जै जीवनको कर्तव्य बनाएकाहरू आफूहरू जहाँ जुन अवस्थामा रहेका हुन्छन्, त्यही अवस्थामा आफ्नो धर्म र संस्कृतिलाई मानिरहेका हुन्छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।