|

पर्वत : गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबारदेखि  महिला क्रिकेट प्रतियोगिताको सुरुवात गर्न लागिएको छ।
प्रतियोगिताको औपचारिक उद्घाटन असोज २८ गते गर्ने तयारी रहेको भए पनि खेलका लागि समय अभाव हुन सक्ने भएकाले उद्घाटन पूर्व नै खेल सञ्चालन गर्न लागिएको हो। राष्ट्रिय खेलकुद प्रतियोगिता नवौँ भए पनि महिला क्रिकेटको राष्ट्रिय प्रतियोगिता भने ११ औँ हो। पोखरा रंगशालामा हुने आइतबारको उद्घाटन खेलमा गण्डकी प्रदेश र मधेस प्रदेशबीच खेल हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले बताए। आइतबारकै दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशबीच खेल हुने छ।

खेलको समूह ‘ए’ मा एपीएफ क्लब, मधेस प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश र समूह ‘बी’ मा पुलिस क्लब, कर्णाली प्रदेश, एक नम्बर प्रदेश र लुम्बिनी प्रदेश रहेका छन्। सार्वजनिक गरिएको खेल तालिका अनुसार असोज २४ गते हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र कर्णाली प्रदेश तथा दोस्रो खेलमा एक नम्बर प्रदेश र लुम्बिनी प्रदेशबीच खेल हुने

छ। असोज २५ गतेको पहिलो खेलमा नेपाल एपीएफ क्लब र बागमती प्रदेश तथा दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश भिड्ने समय तालिका छ।

यस्तै, असोज २६ गतेको पहिलो खेलमा एक नम्बर प्रदेश र नेपाल पुलिस क्लब तथा दोस्रो खेलमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश, असोज २७ गतेको पहिलो खेलमा नेपाल एपीएफ क्लब र गण्डकी प्रदेश तथा दोस्रो खेलमा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेश खेल्ने छन्।

असोज २८ गतेको पहिलो खेलमा नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश तथा दोस्रो खेलमा कर्णाली प्रदेश र एक नम्बर प्रदेश, असोज २९ गतेको पहिलो खेलमा नेपाल एपीएफ क्लब र लुम्बिनी प्रदेश तथा दोस्रो खेलमा कर्णाली प्रदेश र एक नम्बर प्रदेश, असोज ३० गतेको पहिलो खेलमा सुदूरपश्चिम प्रदेश र नेपाल एपीएफ क्लब तथा दोस्रो खेलमा बागमती प्रदेश र मधेस प्रदेश आमनेसामने हुने छन्।
असोज ३१ गते सेमिफाइनलका दुई खेल खेलाउने तयारी छ। पहिलो सेमिफाइनल खेलमा समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उप–विजेताबीच तथा दोस्रो सेमिफाइनलमा समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उप–विजेताबीच खेल हुने छ। कार्तिक एक गते फाइनल खेल हुने छ। पहिलो खेलमा चौथो र तेस्रो स्थानका लागि पहिलो र दोस्रो सेमिफाइनलमा पराजित भएका समूहबीच तथा दोस्रो खेल अर्थात् ‘गोल्ड मेडल म्याच’ मा दोस्रो र पहिलो स्थानका लागि पहिलो र दोस्रो सेमिफाइनलमा विजेता बनेका समूहबीच प्रतिस्पर्धा हुने छ। हरेक दिनको पहिलो खेल बिहान सवा नौ बजे र दोस्रो खेल दिउसो सवा एक बजे खेलाउने गरी तालिका तयार पारिएको छ।  

नवौँ राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा हुँदै छ। प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात सय ९० खेलाडीले विभिन्न ३६ खेल विधामा प्रतिस्पर्धा गर्दै छन्। सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गैर आवासीय नेपाली सङ्घ (एनआरएन) का खेलाडीबीच प्रतिस्पर्धा हुँदै छ। प्रत्येक टोलीबाट कम्तीमा तीन सय ३५ महिला र तीन सय ७४ पुरुष खेलाडीको सहभागिता रहने छ।

४० वर्षपछि राष्ट्रिय खेल गण्डकी प्रदेशमा आयोजना हुन लागेको छ। घरेलु मैदानमा उत्साहका साथ खेलेर अरू भन्दा अब्बल बन्न गण्डकी प्रदेश उत्साहित देखिन्छ। यसअघि २०४० चैत १२ देखि २० गतेसम्म पोखरामा ‘दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता’ आयोजना भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.