|

पर्वत : प्रतिनिधि सभाको निर्वाचनमा पर्वतको प्रतिस्पर्धा रोमाञ्चक अवस्थामा छ। अघिल्लो निर्वाचनमा आमनेसामने भएका नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशी र नेकपा एमालेका उम्मेदवार पदम गिरी यस पटक पनि भिड्न लागेका छन्।

जोशी नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य हुन भने गिरी नेकपा एमालेका वर्तमान केन्द्रीय सदस्य हुन्। २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा गिरीले जोशीलाई १२ हजार ४५६ मतको अन्तरमा पराजित गरेका थिए। तत्कालीन समयमा बाम गठबन्धनबाट साझा उम्मेदवार बनेका गिरीले ३९ हजार २७५ मत प्राप्त गर्दा जोशीले २६ हजार ८१९ मत प्राप्त गरेका थिए।

त्यो बेलामा बाम गठबन्धनबाट १२ हजार मतको अन्तरमा गिरीले जोशीलाई पराजित गरे जस्तै यस पटक गठबन्धनकै बलमा प्रतिस्पर्धी एमालेका गिरीलाई त्यस्तै मतान्तरले पराजित गर्ने दाउमा कांग्रेसका सत्तारुढ गठबन्धनका उम्मेदवार जोशी छन्। एमालेका प्रतिस्पर्धी गिरी पनि अघिल्लो पटक जितेको आफ्नो साखलाई बचाउँदै फेरि पनि बाजी मार्ने दाउमा छन्।

२०१३ सालमा पर्वत सदरमुकाम कुश्मामा जन्मिएका जोशी बाबु अमृत प्रसाद जोशीकै सिको गर्दै राजनीतिमा आएका हुन्। जोशीले २०४८ सालदेखि २०६४ सालसम्म १६ वर्षे अवधि नेपाली कांग्रेस पर्वतको सभापतिको रूपमा बिताए। पहिलो पटक २०५६ सालको संसदीय निर्वाचनमा पर्वत क्षेत्र नं. १ बाट विजयी बनेका जोशी संविधानसभा निर्वाचन २०६४ मा तत्कालीन नेकपा माओवादीकी उम्मेदवार मनरुपा सुवेदी र २०७० मा पनि माओवादीकै उम्मेदवार नेत्र अधिकारीलाई पराजित गर्दै लगातार तीन पटकसम्मको संसदीय निर्वाचनमा ’ह्याट्रिक’ गर्न सफल भएका थिए।

पर्वतका बासिन्दाले जोशीलाई कुशल राजनीतिक खेलाडीका रूपमा लिन्छन्। उनले जस्तै प्रतिकुल परिस्थितिमा पनि चुनाव हाँकेर आफ्नो पक्षमा जित ल्याउन सक्छन् भन्ने धेरैको बुझाई छ। राजनीति शास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका जोशी काठमाडौँको रत्न राज्य क्याम्पसमा उप प्राध्यापकको रूपमा समेत केही समय काम गरेर सक्रिय राजनीतिमा आएका हुन्।

२०७४ मा भएको निर्वाचनमा बाम गठबन्धनका कारण पराजित भएको भए पनि यस पटक निर्वाचनमा आफ्नो जित हुनेमा उनी विश्वस्त छन्।

‘मैले अहिलेसम्म मेरो स्वार्थको लागि केही गरेको छैन। जति गरेँ त्यसको बारेमा जनतालाई बुझाउन सकिन होला। तर पुरै जीवन राजनीतिमा बित्यो, जनताका काममा बित्यो, जिल्लाको विकासमा बित्यो। जनताको हितमा काम गरेकै भएर त तीन पटकसम्म जिताइदिनुभएको थियो’, उनले भने, ‘अघिल्लो पटक बाम गठबन्धन रहेका कारण मलाई कठिन भयो। यस पटक म गठबन्धनमा छु। गठबन्धनका नेता तथा कार्यकर्ताहरू आफ्ना साझा उम्मेदवारलाई जिताउन एक हुनुहुन्छ।’

एमालेका उम्मेदवार गिरी अघिल्लो निर्वाचनमा जस्तै फराकिलो मतान्तरले प्रतिस्पर्धीलाई पराजित गर्नेमा विश्वस्त छन्। आफू युवा नेता भएको र विगतदेखि नै जनताको रोजाइमा परेका कारण यस पटक पनि जनताले आफूलाई एमालेको उम्मेदवारका रूपमा मात्र नभई पर्वतको साझा उम्मेदवारको रूपमा मतदान गर्ने दाबी गर्छन्।

२०३३ साल मङ्सिर ८ गते जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङमा जन्मिएका उनले पृथ्वीनारायण क्याम्पस पोखराबाट स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन्। २०४६ सालमा अखिल पाँचौँको सदस्य बन्दै राजनीतिमा होमिएका उनी २०६३ सालमा पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा निर्वाचित बनेका थिए। त्यसपछि जिल्ला फर्किएका उनी २०६६ सालबाट एमाले पर्वतको सचिवालय सदस्य एवं युवा फाँट प्रमुख बने।

  २०७१ सालमा नेकपा एमाले जिल्ला कमिटी पर्वतको आठौँ अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन्। उनलाई पार्टीभित्रका नेताहरूले ‘म्यान अफ दि इलेक्सन’ को नाम दिएका छन्। पार्टीभित्रको निर्वाचनमा उनले उम्मेदवारी दिएपछि अन्य पुराना नेताले नै ठुलो मतान्तरले पराजित बन्नु परेपछि उनले यो उपनाम पाएका हुन्।

उनलाई उनकै पार्टी र अन्य पार्टीका नेता र कार्यकर्ताहरूले पनि मिजासिलो, हँसिलो र छिट्टै जो सँग पनि घुलमिल हुन सक्ने व्यक्तिको रूपमा चिन्छन्। पार्टीको सङ्गठन विस्तारमा सिपालु मानिने गिरीले कांग्रेस उम्मेदवार जोशीको जस्तै बजेट विनियोजन र अन्य भौतिक निर्माणमा भने खासै हात हाल्न पाएका छैनन्। किनकि उनी २०७४ सालको निर्वाचनबाट पहिलो पटक सांसद बनेका हुन्।

गिरी पार्टीभित्रै पनि कुशल राजनीतिक खेलाडी मानिन्छन्। यही कारण उनले २०७४ सालको निर्वाचनमा हाल राष्ट्रिय सभाका अध्यक्ष रहेका गणेशप्रसाद तिमिल्सिनाले दाबी गरेको प्रतिनिधिसभाको टिकट हात पारेका थिए।

‘अघिल्लो निर्वाचनले नै हाम्रो अवस्था के छ भन्ने कुरा देखाएको छ। पाँच वर्षको अवधिमा जनताको माझमा प्रस्ट छन्। संसदमा जिल्लाका कुरा उठाउनेदेखि जनताका समस्या समाधानमा मेरो हर तरहको प्रयास रह्यो’, गिरी भन्छन्, ‘अघिल्लो पटक पनि युवा नेताबाट परिवर्तन सम्भव छ भनेर सबै राजनीतिक दलका व्यक्तिहरूलाई मलाई मतदान गर्नुभएको थियो। यस पटक पनि फेरि मैले नै उहाँहरूको सेवा गरूँ भन्ने चाहना छ। त्यो अवसर आम नागरिकबाट प्राप्त हुनेछ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.