सरकार भन्छ, आधिकारिक जानकारी छैन, पठाउन सकिँदैन

|

काठमाडौं : वैदेशिक रोजगारीमा गएका महिला कामदार असुरक्षित भएको भन्दै सरकारले २०७३ देखि घरेलु कामदारलाई प्रतिबन्ध लगायो। करिब ६ वर्ष पुग्नै लाग्दा पनि सरकारले महिला घरेलु कामदारका लागि लगाएको प्रतिबन्ध फुकुवा गर्न सकेको छैन।

२०७२ सालमा ‘वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका’ जारी भएको थियो। सरकारले २०७३ चैतबाट लगाएको प्रतिबन्ध लगाएको थियो। सो प्रतिबन्ध फुकुवा नहुँदै यता कतारले घरेलु कामदारका लागि आवेदन आव्हान गरेको छ। कतारको आन्तरिक मन्त्रालयले एक सूचना जारी गर्दै नेपाली घरेलु कामदार माग गरेको छ।

काठमाडौंमा रहेको कतार भिसा सेन्टरमार्फत आवेदन दिन सकिने सो सूचनामा उल्लेख गरेको छ। महिला तथा पुरुष दुवै कामदारका लागि खुल्ला गरिएको छ। 

असुरक्षित भएको भन्दै प्रतिबन्ध लगाएको मुलुकमा नयाँ सम्झौता नगरी नेपाली कामदार पठाउन नसकिने जानकारहरु बताउँछन्। केही समय अगाडि नेपाल र कतारबीच घरेलु कामदार पठाउने विषयमा छलफल भएको थियो। सो बैठकमा कतार प्रतिनिधिले कतारमा घरेलु कामदारका लागि लगाएको प्रतिबन्ध फुकुवा गर्न अनुरोध गरेका थिए।

कतार लैजाने कामदारलाई ट्रेनिङ दिने कामदारको सुरक्षालगायतका विषयमा कतार आफैँले  सहयोग गर्ने बताएको थियो। संसदीय समितिले रोक लगाउन भनेपछि सरकारले घरेलु कामदार रोकेको थियो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार बैठकमा सरकारलाई पठाएर कार्यान्वयनमा जाने तयारी भएको थियो।

तर, सरकारले फुकुवा नगर्दै कतारबाट कुनै प्रक्रिया पुरा नगरी कामदार माग गरेको सूचना आएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह प्रवक्ता थानेश्वर भुसालले जानकारी दिए।

कतारको कुनै आधिकारिक जानकारी आएको छैन। सह प्रवक्ता भुसालले भने, ‘कतारबाट हालसम्म केही जानकारी आएको छैन। तर, एक्कासी कामदार माग गरेको सूचना आयो।  के हो भन्ने विषय हामी आफैँ चकित परेका छौँ।’​

तत्काल कामदार पठाउँदैनौँ : मन्त्रालय

कतार सरकारले घरेलु कामदार माग गरे पनि तत्काल पठाउने योजना नरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। बैठकमा कतार नेपालबीच छलफल मात्र भएको थियो। कुनै सहमति नभएकाले तत्काल कामदार पठाउन नसकिने मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए।

कतारले कामदार माग गरे पनि सरकारले सहमति नदिई कोही पनि कामदार जान पाउने छैनन्। कतार नेपालबीच सहमति नभइ नेपाली श्रमिकलाई नपठाउने उनको भनाइ थियो। उनले भने, ‘नेपाली कामदारलाई समस्या परेकाले प्रतिबन्ध लगाएको हो यतिका वर्ष प्रतिबन्ध लगाएर पनि समस्या समाधान नगरी कसरी श्रमिक पठाउन सकिन्छ?’ यस विषयमा सरकारसँग छलफल गरी निष्कर्षमा पुग्ने मन्त्रालयको भनाइ छ।​

सम्झौता नगरी जोर्डनमा कामदार

सरकाले महिलालाई प्रतिबन्ध लगाई विभेद गरेको भन्ने आवाज पनि आउने गरेको छ। सरकारले विश्वका विभिन्न मुलुकमा महिला घरेलु कामदारलाई प्रतिबन्ध लगाइरहेका वेला जोर्डनमा भने कामदार पठाइरहेको छ। १ कात्तिक २०७४ मा जोर्डनसँग श्रम सम्झौता गरेको थियो। १५ वटा म्यानपावर कम्पनीले जाेर्डनमा नेपाली महिला घरेलु कामदार पठाइरहेका छन्।

अन्य देशभन्दा जोखिम कम भएकाले जोर्डनमा पठाइरहेको मन्त्रालयले जनाएको छ। वार्षिक १ हजारको हाराहारीमा नेपाली महिला घरेलु कामदार जोर्डन जाने गरेको वैदेशिक रोजगार कार्यालयको तथ्यांकले देखाएको छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.