|

हेटौंडा : विरोध खतिवडाले बिनाअवरोध ४ वटा निर्वाचन जिते। पाँचौँ जितका लागि उनी मंसिर ४ गते हुने चुनावी मैदानमा होमिएका छन्।

नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य खतिवडाले मकवानपुर–१ बाट पाँचौँ पटक प्रतिनिधिसभा सदस्यका लागि आइतवार उम्मेदवारी दर्ता गराएका छन्। कम्युनिष्ट पार्टीबाट राजनीति शुरु गरेदेखि हालसम्म खतिवडाले लडेका चारवटै निर्वाचनमा विजयी भए।

२०४८, २०५१ र २०५६ को संसदीय निर्वाचनमा विजयी उनी २०७४ को निर्वाचनमा पनि मकवानपुर–२ बाट निर्वाचित भए। मंसिर ४ गते हुने निर्वाचनमा उनी पाँचौँ पटक उम्मेदवार बनेका हुन्। एमालेबाट ४ पटक चुनाव जितेर पनि मन्त्री बन्न नपाएका उनले एमाले त्याग्नेबित्तिकै मन्त्री बन्ने मौका पाएका थिए। मन्त्री बन्नकै लागि उनले एमाले त्यागेर समाजवादी रोजेको भन्दै गृहजिल्ला मकवानपुरमा विरोध पनि भएको थियो।

फरक पार्टीलाई लिएर गठबन्धनबाट पुनः चुनाव जित्ने उनको दाउ छ तर एमाले छाडेर नयाँ दलबाट चुनावी मैदानमा उत्रिएका उनका लागि आगामी निर्वाचन अवसर र चुनौती दुवै छ।

खतिवडाले आफ्नो कडा प्रतिस्पर्धीको रूपमा आफ्नै चेलालाई पाएका छन्। गत निर्वाचनमा उनलाई जिताउन चुनावी मैदानमा खटिएका उनकै चेला आगामी निर्वाचनमा उनलाई हराउन मैदानमा उत्रिएका छन्। एमाले युवा नेता महेश बर्तौला कुनै समय राजनीतिमा खतिवडाका चेला थिए। कुनै समय गुरुचेलाका रूपमा रहेका उनीहरू मंसिर ४ को चुनावमा एकअर्काविरुद्ध उभिएका छन्।

बर्तौला २०७४ को प्रतिनिधिसभा चुनावमा खतिवडालाई जिताउन खटिएका थिए। खतिवडाकै स्कुलिङबाट विद्यार्थी राजनीति गर्दै अनेरास्ववियुको केन्द्रीय उपाध्यक्षसम्म भएका बर्तौला विद्यार्थी राजनीतिबाट अलग्गिएको एक वर्षमै संसदीय चुनावको टिकट पाउने भाग्यमानी व्यक्ति समेत हुन्। २ असोज २०७८ मा बर्तौला ऐन महरसँगै विद्यार्थी राजनीतिबाट अलग्गिएका थिए।

बर्तौलाले विद्यार्थी राजनीतिको आधार मकवानपुरमै बनाए। मकवानपुरको भीमफेदी गाउँपालिका भीमफेदी–९ नामटार घर भएका बर्तौलाले अनेरास्ववियुको इलाका कमिटीबाट विद्यार्थी राजनीति थालेका थिए। उनी मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुका तर्फबाट २ कार्यकाल स्ववियु सभापति निर्वाचित भएका थिए। उनीसँगै विद्यार्थी राजनीति गरेका एक एमाले नेताका अनुसार खतिवडा २०७४ मा चुनावमा होमिँदा बर्तौला प्रचारकको भूमिकामा थिए।

बर्तौला २ कार्यकाल अनेरास्ववियु मकवानपुरको जिल्ला अध्यक्ष समेत भएका थिए। त्यतिवेला पनि खतिवडा र उनकी पत्नी तथा एमाले नेता मुनु सिग्देलले बर्तौलासहितका तत्कालीन जिल्ला तहका विद्यार्थी नेताहरूलाई पटक–पटक प्रशिक्षण दिने गरेका थिए। बर्तौलाको घर नामटार विरोध खतिवडाकै निर्वाचन क्षेत्र मकवानपुर–२ मा पर्ने भएकाले उनीहरूबीच संगठनात्मक रूपमा पनि सहकार्य हुने गरेको थियो।

खतिवडा योपटक पनि निर्वाचित भए पाँचौँ पटक सांसद बन्ने भाग्यमानी सावित हुनेछन्।

२०७४ सालको निर्वाचनमा खतिवडाले कांग्रेस नेत्री महालक्ष्मी उपाध्याय (डिना)लाई ११ हजार ९६३ मतान्तरले हराउँदै विजयी भएका थिए। खतिवडाले ४४ हजार ७४४ मत ल्याएका थिए भने डिनाले ३२ हजार ६८१ मत ल्याएकी थिइन्। योसँगै उनी चौथोपटक सांसद बनेका थिए। उनी १८ वर्षपछि फेरि संसद्‌मा फर्किएर स्वास्थ्य तथा जनसंख्यामन्त्रीसम्म बने।

खतिवडा २०४३ सालमा राष्ट्रिय पञ्चायतमा एमालेका तर्फबाट जनपक्षीय उम्मेदवार बनेका थिए तर पराजित भए। त्यसपछि खतिवडा २०४८ सालमा रूपचन्द्र विष्टलाई हराउँदै सांसद बने। २०५१ को मध्यावधि निर्वाचनमा खतिवडाले कमल थापालाई हराए। २०५१ सालको मध्यावधि चुनावमा पनि खतिवडाले डिनासँग प्रतिस्पर्धा गरेका थिए। उक्त चुनावमा कांग्रेस तेस्रो भएको थियो।

२०५६ सालको चुनावमा पनि खतिवडाले तत्कालीन माले नेता हिरण्यलाल श्रेष्ठलाई हराएका थिए। अहिले उनका सामु उनै चेला बर्तौला प्रतिद्वन्द्वीका रूपमा छन्। सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका खतिवडा र एमाले–राप्रपा गठबन्धनका बर्तौलाबीचको चुनावी भिडन्त रोचक हुने देखिएको छ। 

पछिल्लो समय विरोधलाई चुनाव जित्न त्यति सहज भने देखिँदैन। जिल्लामा एकीकृत समाजवादीको अवस्था सन्तोषजनक नदेखिँदा उनलाई आगामी चुनाव चुनौतीपूर्ण हुने देखिन्छ। एकीकृत समाजवादी मकवानपुरका अनुसार हाल उक्त पार्टीमा करिब ५–६ हजार जनाको हाराहारीमा मात्र संगठित सदस्य छन्।

मकवानपुर–२ मा थाहा नगरपालिका, मनहरी, कैलास, राक्सिराङ, भीमफेदी र इन्द्रसरोवर गाउँपालिका सहित हेटौंडा उपमहानगरपालिका पश्चिमतर्फका वडाहरू १, ११, ३, १९ र मकवानपुरगढी गाउँपालिकाको उत्तरतर्फका ५, ६, ७ र ८ नम्बर वडा पर्दछन्।

गत स्थानीय तहको निर्वाचनमा पनि एकीकृत समाजवादीले त्यस क्षेत्रको कुनै पनि पालिकामा आफ्नो नेतृत्वलाई जिताउन सकेन। जसका कारण एकीकृत समाजवादीलाई आगामी निर्वाचनमा थप समस्या हुने देखिन्छ। ४ पटक निर्वाचन जितेर पनि खतिवडाले मकवानपुरका लागि उपलब्धिमूलक कुनै काम नगरेको भन्दै जिल्लामा चर्को स्वर गुन्जिन थालेको छ भने उनका प्रतिस्पर्धी बर्तौला नयाँ अनुहार भएकाले अवसर दिनुपर्ने तर्क हुन थालेको छ।

त्यसैले लगातारका विजेता विरोधलाई पाँचौँ पटक जित हात पार्न महेशले खडा गरेको अवरोध चिर्नुपर्ने बाध्यता छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.