|

पर्वत : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखाको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा लड्दै छन्। आइतबार दिउँसो प्रचण्डले मनोनयन पत्र दर्ता गराएपछि उनलाई पराजित गर्न भन्दै सोही क्षेत्रको सिरानचोक गाउँपालिकाको लाङ्दीमा जन्मिएकी डा. माधवी भट्टले अन्तिम समयमा मनोनयन दर्ता गराएकी छिन्। 

हाल काठमाडौं रहेर नेपाली काँग्रेसमा सक्रिय रहँदै आएकी भट्टले लोकतन्त्रमा एक राजनीतिक दलका कार्यकर्ताले अर्को राजनीतिक दलको चुनाव चिह्नमा मतदान गर्नैपर्ने बाध्यता हुन नहुने भन्दै आफूले उम्मेदवारी दिएको बताएकी छिन्। 

उम्मेदवारीको उद्देश्यको बारेमा थाहाकर्मी सञ्जय रेग्मीले डा. माधवी भट्टसँग कुराकानी गरेका छन्। प्रस्तुत छ‚ कुराकानीको सम्पादित अंश।

पहिले तपाईँको उम्मेदवारीबारे चर्चा थिएन। तर अन्तिममा एकाएक किन उम्मेदवार बन्नुभएको ?

जति वेलासम्म माओवादीका अध्यक्ष प्रचण्ड चितवनबाट निर्वाचनमा लड्ने कुरा थियो त्यो वेलासम्म म उम्मेदवार बन्छु भन्ने नै थिएन। जब उहाँ गोरखाबाट लड्ने र त्यो पनि क्षेत्र नं. २ बाट भन्ने खबर आयो तब मात्रै मैले उम्मेदवारी दिन्छु भनेर सामाजिक सञ्जालमा राखेँ। प्रचण्ड गोरखाबाट लड्नु हुँदैनथ्यो भन्ने मेरो कुरा हो। 

‘हेभीवेट’ नेता विजयी भए त्यहाँको विकासका लागि फाइदा हुन्छ भने गोरखामा प्रचण्ड जाँदा किन आपत्ति?

आपत्ति नहुने त कुरै भएन नि! २०७४ मा चितवनका काँग्रेसलाई माओवादीमा भोट हाल्न लगाएर पाँच वर्षमा चितवन काँग्रेसलाई बिगार्ने, अब भएन भनेर गोरखाका काँग्रेस पनि सक्न आउने? चितवन, गोरखा भनेका काँग्रेसका राम्रा ठाउँ हुन्।

अघिल्लो चुनावमा गोरखाली काँग्रेसलाई बाबुराम भट्टराईलाई मतदान गर्न लगाइयो, अहिले फेरि प्रचण्डलाई हाल्न लगाउने रे। १० वर्षसम्म आफ्नो चुनाव चिन्ह रूखमा भोट हाल्न नपाउँदा त्यहाँको कांग्रेसीको मनमा के भावना आएको होला? १० वर्षसम्म रूखमा मत नदिएकाहरूलाई १५ औँ वर्षमा पुगेर रूखमा भोट हाल्न मन कसरी लाग्छ? अरू नै चुनाव चिह्नमा भोट हाल्ने बानी पारिदिने अनि फेरि रूखमा भोट माग्न मिल्छ?

तपाईँलाई काँग्रेस जोगाउने चिन्ता हो कि प्रचण्डलाई परास्त गर्ने चिन्ता हो?

यी दुवै चिन्ताका कारण नै मैले उम्मेदवारी दिएकी हुँ। प्रचण्डलाई गोरखाबाट जुनसुकै हालतमा पराजित गर्नुपर्छ भनेर म लागेकी छु। उहाँ पराजित नभएसम्म माओवादी द्वन्द्वको बढी प्रभाव परेको त्यही क्षेत्र हो। माओवादीले उठाएका हतियारबाट त्यहाँका कतिका सिन्दूर पुछिए, कति बालबालिका टुहुरा भए। कति गाउँलेहरूले माओवादीबाट पिटाइ खाए, कतिले भएको पैसा बुझाए। 

तपाईँ एक्लै लागेर काँग्रेसलाई जोगाउन सम्भव कसरी होला?

त्यो होइन नि, प्रयास भनेको व्यक्तिबाटै शुरु हुन्छ। एक/एक गर्दै गएपछि मात्रै त भीड बन्ने हो। प्रचण्डजीको छलाङले नेपाली राजनीतिलाई अस्थिरतामा धकेलेको छ। नेपाली राजनीतिलाई प्रदूषित गर्ने काम भएको छ। प्रजातन्त्रलाई धराशायी बनाउने काम प्रचण्डबाट भएको हो भन्ने मेरो ठम्याइ छ।

लोकतान्त्रिक पार्टी व्यवस्थामा १० वर्षसम्म आफ्नो चुनाव चिह्नमा भोट दिन नपाउने, आफ्नो पार्टीको झण्डा बोकेर हिँड्न नपाउने भनेको लोकतन्त्रको मूल मर्ममाथिको प्रहार हो। अब म आफैंले प्रयास नगरे कसले शुरुवात गर्ने त?

‘बार्गेनिङ’ का लागि उम्मेदवारी दिने र कुनै शर्तमा फिर्ता लिने प्रचलन छ नि अहिले?

मैले कसैसँग ‘बार्गेनिङ’ गरेर कुनै कुरा पाउँला, लिउँला भन्ने आशा गरेर यो उम्मेदवारी दिएकी होइन। यो काँग्रेस र लोकतन्त्र बचाउने उम्मेदवारी हो। मैले कुनै पनि अवस्थामा यो उम्मेदवारी फिर्ता लिने छैन। बरु के चाहिँ हुन सक्छ भने प्रचण्डलाई पराजित गर्नका लागि अरू स्वतन्त्र उम्मेदवार वा एमाले लगायतका अन्य दलका उम्मेदवारहरूसँग सहकार्य भने हुन सक्छ। तर लोकतान्त्रिक मुलुकमा आफ्नो चुनाव चिह्नमा भोट नदिएर अर्कैको चुनाव चिह्नमा मतदान गर्न बाध्य पार्ने अवस्थाको अन्त्य गर्नु छ।

तपाईँले भनेको कुरा गोरखाका काँग्रेसीले कसरी विश्वास गर्न सक्लान्?

म असल राजनीतिक संस्कारबाट आएकी हुँ। मेरा स्वर्गीय पिताजी रोहिणीदेव भट्टको जोश, श्रम र पसिना काँग्रेसको सङ्गठन निर्माणमा नै बितेको छ। २००७, २०१५, २०१७ लगायतमा गोरखा काँग्रेसको सङ्गठन निर्माण गर्न मेरा बुबा लाग्नुभयो।

उहाँको योगदानलाई म चटक्कै कसरी बिर्सनु? पञ्चायतकालमा बुबालाई खोज्दै घरमा प्रहरी आउँथे। उहाँ प्रतिबन्धित हुनुहुन्थ्यो, १० वर्षसम्म भारतमा निर्वासित हुनुपरेको थियो। उहाँ सत्याग्रहमा हुँदा म पनि जेलमा भेट्न गए। राजनीति गर्दा जेल जानुपर्ने रहेछ भन्ने मेरो बाल मस्तिष्कमा परेको थियो।

त्यो वेला कृष्णप्रसाद भट्टराईले काँग्रेसका मुखपत्र घरमा पठाउनुहुन्थ्यो। तिनैको अध्ययनले मलाई राजनीतिक चेत भरिदियो। म घरबाटै प्रशिक्षित भएँ, भाषण गर्न बुबाले सिकाउनुभयो। पछि नेपाल विद्यार्थी सङ्घ हुँदै क्याम्पससम्म पुगेँ। अमेरिकामा अध्ययन गरेर नेपाल फर्किएपछि त्रिविमा भिजिटिङ प्रोफेसरको रूपमा र साढे चार वर्ष सत्य निरूपण तथा मेलमिलाप आयोगमा काम गर्दा राजनीति गरिनँ।

कान्तिपुर दैनिकमा काम गर्दा पत्रकारले राजनीति गर्न हुँदैन भनेर सक्रिय रहिनँ। पेशागत भूमिका सकिएपछि फेरि राजनीतिमा सक्रिय रहेँ। काठमाडौँ क्षेत्र नं. २ लाई केन्द्रित गरेर म राजनीतिमा लागेँ। त्यसैले मलाई विश्वास छ- पार्टीलाई आफ्नो ठान्नेहरूले मलाई विश्वास गर्नुहुन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.