हेटौंडा : लामो समयदेखि हिन्दु राष्ट्र र राजतन्त्रको सिद्धान्त बोकेर राजनीति गर्दै आएका राप्रपा नेपालका अध्यक्ष कमल थापाको पछिल्लो गतिविधिले मकवानपुरको राजनीतिलाई तरंगित बनाएको छ।
कुनै पनि हालतमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने दाउमा रहेका उनले चुनाव जित्न अनेक तिगडम लगाउन थालेका छन्। नेकपा एमालेको चुनाव चिह्न सूर्यबाट मकवानपुर–१ को उम्मेदवार बनेका थापा एमालेको कार्यक्रममा पनि सक्रिय रुपमा देखा पर्न थालेका छन्।
पटक–पटक हारको स्वाद चाखेका थापाले मंसिर ४ को चुनाव आफ्नो राजनीतिक जीवनको अन्तिम चुनाव हुने बताउँदै आएका छन्। निरन्तर रूपमा हार बेहोर्दै आएका थापाले आगामी निर्वाचनमा जीत हात पार्न एमालेलाई फकाउन कुनै कसर बाँकी राखेका छैनन्।
केही दिनअघि एमालेको चियापान तथा शुभकामना आदनप्रदान कार्यक्रममा सहभागी भएका उनी सोमबार पार्टी प्रवेश कार्यक्रमको अतिथि समेत बने। दशैँअघि एमालेको समर्थन पाउन सार्वजनिक रुपमा अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गर्नेदेखि पार्टीको चियापानमा समेत पुगेका उनलाई एमालेको समर्थन पाउन सहज भने थिएन।
मुस्किलका साथ केन्द्रबाट एमालेको समर्थन ल्याएका थापालाई जिल्लामा भने स्विकारिसकेको अवस्था छैन। एमालेको चुनाव चिह्नबाट उम्मेदवारी दर्ता गराउँदा एमाले मकवानपुर पार्टी कार्यालयमा तालाबन्दी भएको थियो। मकवानपुरे राजनीतिमा प्रभाव गुमाएका थापासँग मत नभएको भन्दै जिताउन नसक्ने एमालेका नेता कार्यकर्ताले बताउने गरेका छन्।
थापालाई समर्थन दिनबाट रोक्न एमाले मकवानपुर जिल्लाको अध्यक्ष एकालाल श्रेष्ठ, बागमती प्रदेशको पूर्वमुख्यमन्त्री समेत रहेका एमाले नेता डोरमणि पौडेललगायतको नेता मध्यरातमा अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए। एमाले मकवानपुरले क्षेत्र नं. १ बाट उम्मेदवार बनाउन केन्द्रीय सदस्य रामेश्वर रानालाई सिफारिस गरेको थियो। यसै अनुसार पार्टीको आधिकारिक उम्मेदवारलाई टिकट दिन माग गर्दै जिल्लाका शीर्ष नेता बालकोट पुगेका थिए। तर, उनीहरुले ओलीलाई भेटेको केही दिनमा नै थापाले एमालेको समर्थन लिन भ्याए।
मत नै नभएको फरक पार्टीको उम्मेदवारलाई समर्थन गरेर आफ्ना नेतालाई शहीद बनाएको भन्दै कार्यकर्ताले विरोध गर्दै आएका छन्। एमालेको चुनाव चिह्नबाट उम्मेदवार बने पनि आइतबार उम्मेदवारी दिन जाँदा थापाको साथमा एमालेको कोही पनि सहभागी थिएनन्। एमालेको प्रदेश र प्रतिनिधिसभाको अन्य उम्मेदवार एकैपटक उम्मेदवारी दिन गए पनि थापा भने एक्लै गएका थिए। सत्ता गठबन्धनबाट सबै उम्मेदवारहरु सँगै उम्मेदवारी दिन जाँदा एमालेसँगको गठबन्धनबाट उम्मेदवार बनेका थापा भने एक्लिएका थिए।
केन्द्रबाट समर्थन पाए पनि जिल्लामा कार्यकर्ताले नरुचाएपछि उनले एमालेसँगको सामीप्य थप बढाउन खोजेका छन्। यसै क्रममा सोमबार नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रममा थापा अतिथि बने
माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका कार्यकर्तालाई थापाले स्वागत गरेपछि जिल्लाको राजनीतिमा हलचल मच्चिएको छ। हेटौंडा–४ स्थित सानोपोखरामा रहेको एमाले पार्टी कार्यालयमा पुगेर थापाले कार्यक्रममा सम्बोधन समेत गरे। उनले एमाले मकवानपुरको बलियो शक्ति रहेको र जितेको अनुभव धेरै भएको भन्दै यही रणनीति अनुसार अगाडि बढ्ने बताए।
‘चुनावको अनुभव हामीसँग पनि छ। हामीसँग हारेको अनुभव छ। यो काम लाग्दैन। त्यसैले तपाईँहरुको अनुभव प्रयोग गर्न चाहन्छु’, उनले भने। थापाले देशको राजनीतिक घटनाक्रम र परिस्थितिले अहिलेको अवस्था सिर्जना भएको बताए। थापाले आफू एमाले जस्तो ठूलो पार्टीको परिवारिक सदस्य भएको बताए। उनले एमाले परिवारको सदस्य हुन पाउँदा गर्व महशुस गरेको बताए। उनले एमालेको सूर्य चिह्नबाट चुनाव लड्न पाउनु आफ्नाा लागि सौभाग्य भएको प्रतिक्रिया दिए। थापाले एमाले मूल राष्ट्रवादी पार्टी भएको भन्दै निर्वाचनमा एमाले रोज्नुको पछाडि राप्रपा नेपाल पनि राष्ट्रवादी पार्टी भएको दाबी गरे।
करिब आधा घण्टा बोलेका थापाले अधिकांश समय एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरे। मकवानपुर १ बाट आफ्नो उम्मेदवारी रहँदा एमालेका पुराना नेता रामेश्वर राना पछाडि हट्नु परेको विषय कोट्याउँदै थापाले आफ्नो अन्तिम उम्मेदवारीमा सहयोग गर्न अपिल गरे।
थापाले पछिल्लो समय देखाएको लगावले उनी एमाले प्रवेश गर्न सक्ने खालको अनुमान गर्न थालिएको छ। आइतबार उम्मेदवारी दर्तापछि ‘तपाईँ एमाले प्रवेश गर्न लाग्नु भएको हो?’ भन्ने पत्रकारको प्रश्नमा उनले निर्वाचनको मुखमा आफूले केही बोल्न नमिल्ने बताएका थिए। ‘चुनावको मुखमा आएर मलाई यस्तो प्रश्न किन गर्नुहुन्छ?’, उनले भने, ‘त्यसको बारेमा हामी उपयुक्त समयमा सवालजवाफ गरौँला नि!’उनले भने।
‘त्यसो भए प्रवेश गर्न पनि सक्नुहुन्छ?’ भन्ने थाहाखबरको प्रश्नमा उनले अहिलेको आवश्यकता एमाले र राप्रपा नेपालबीचको सहकार्यलाई सफल बनाउनु नै मुख्य कुरा भएको बताए। ‘यो एउटा चुनाव जित्नको निमित्त होइन’, उनले भने, ‘मुलुकसामु राष्ट्रियता र लोकतन्त्रमाथि संकटको अवस्थामा राष्ट्रवादीहरू एक ठाउँमा रहनुपर्छ भन्ने मान्यताअनुरूप एमालेसँग सहकार्य गरेको हुँ।’ एमालेसँगकोे सहकार्य चुनावको लागि मात्रै होइन निरन्तर रूपमा पछि पनि जाने र राष्ट्रिय हितको सवालमा एकै ठाउँमा उभिने उनको भनाइ थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।