|

काठमाडौँ : दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘दुई नम्बरी’ यतिवेला प्रदर्शनरत छ। रोमान्स, कमेडी ड्रामा जनरामा बनेको फिल्ममा छिरिङ र हिमाल दुई केन्द्रीय पात्र हुन्। जसको पेशा माने पनि खाने मेसो भने पनि वन्यपक्षीको शिकार हो। एउटा गाउँको सामान्य परिवारका पात्रको आफ्नो कामप्रतिको मोह र मोहभंगले फिल्मको कथामा उतारचढाव ल्याउँछ। फिल्मको शीर्ष विषयवस्तु यही भए पनि प्रेम कथा र पारिवारिक सम्बन्धका कथा पनि सँगसँगै आएका छन्।

नेपाली फिल्म उद्योगका लागि कोसेढुङ्गो मानिने ‘लुट’ होस् या व्यावसायिक रूपमा धेरै कीर्तिमान बनाउन सफल ‘कबड्डी ४’ दयाहाङ राई र सौगात मल्लको जोडी दर्शकले सर्वाधिक मन पराएको जोडीमा पर्छ। ‘दुई नम्बरी’ले राम्रो शुरुवात पाउनुको एउटा कारण छिरिङ र हिमालको भूमिकामा दयाहाङ र सौगात हुनु पनि हो।

फिल्ममा उपासनासिंह ठकुरी बालिकाको भूमिकामा छिन् भने भुटानी अभिनेत्री उगेन छोदेनले सोही नामको पात्रको भूमिका निर्वाह गरेकी छन्। बालिका र हिमाल प्रेमी प्रेमिका हुन् भने छिरिङ र उगेनलाई पनि जोडीका रूपमा देखाइएको छ। यी बाहेक बुद्धि तामाङ, सुष्मा निरौला, पुष्कर गुरुङ, शारदा गिरी, कविता आले, श्रेयश पौडेल लगायतका कलाकारको पनि अभिनय रहेको छ।

प्रेम कथा, पारिवारिक सम्बन्ध, पात्रको पेशा र इतिहासका प्रसंगले फिल्ममा धेरै पत्र देखिन्छ। पात्रमा पनि विविधता देखाउने प्रयास गरिएको छ तर मुख्य पात्रहरूको निर्माण नै स्पष्ट देखिएको छैन। यसले गर्दा देखाउन खोजिएका पत्र पनि अस्पष्ट बनेका छन्।

स्पोइलर अलर्ट
जस्तो, कथाको भार हिमाल र छिरिङको काँधमा बराबर छ। हिमाल टुहुरो छ, उसका बाबु शिकारी थिए भन्ने कुरा बारम्बार स्थापित गर्न खोजिएको छ। हिमालले पनि आफ्ना बाबु शिकारी थिए र आफू पनि पक्का शिकारी रहेको, बन्दुकविना आफ्नो अस्तित्व नरहेको, सधैँ यही गरिराख्ने कुराको जिकिर बारम्बार गर्छ तर लेखकले हिमाललाई बन्दुक चलाउन भने फिल्म सुरु भएपछि मात्रै सिकाएका छन्। 

हुनत हिमालले बन्दुक चलाउन सिकेको प्रसंग बाँकी कथाभन्दा दुई वर्ष अगाडिको भनेर देखाइएको छ तर फिल्ममा हिमाललाई जसरी देखाइएको छ त्यसका लागि दुई वर्ष कम लाग्छ। न त त्यसभन्दा अगाडि उसले के काम गर्थ्यो? शिकार नै गर्थ्यो भने पनि कसरी गर्थ्यो? भनेर उल्लेख छैन। 

त्यस्तै हिमाल र छिरिङको मित्रता, हिमाल र भाइ सागरको, हिमाल र बाइकको सम्बन्ध जति प्रगाढ संवादबाट बुझाउन खोजिएको छ त्यति दृश्यबाट महशुश गराउन फिल्म असफल छ। बाल्यकाल र दोस्तीका कुरा हुँदा दर्शकलाई हिमाल र छिरिङको बाल्यकाल, किशोरावस्थाको कुनै घटना दृश्यमा पनि देख्न पाएको भए भन्ने लाग्छ। अथवा ठूला भइसकेपछिको मात्रै देखाउँदा पनि कुनै दृश्यको कमीले दुईको सम्बन्धको डोरी देखाउन खोजिएको जस्तो बलियो देखिएन कि जस्तो लाग्छ। 

कतिपय ठाउँमा लेखकले एउटा दृश्य देखाउनका लागि जबरजस्ती घटना घटाएको जस्तो लाग्छ। जस्तो सागर र हिमालको सम्बन्ध देखाउनका लागि बाँसुरीलाई प्रप्सको रूपमा प्रयोग गरिएको छ। दुवै दाजुभाइले बाँसुरीका दुई प्वालका औँला मात्रै चलाई त्यति धेरै नोट खेलाएर, सुरिलो मिठो धुन निकाल्नु, बाँसुरीमा सास नै नपुगेको देखिँदा देखिँदै पनि आवाज आइरहनुलाई नजरअन्दाज गर्दा पनि सागरलाई हिमालको अँगालोमा राखेर दाजुभाइलाई रुवाउनकै पिँढीमा बसेर बाँसुरी बजाउन लगाए जस्तो लाग्छ।

दाइलाई झर्को लाग्नु, नबजा भनेर चिच्याउनु, भाइले नसुन्नु, दाइ आएर बाँसुरी भाँचिदिनु, भाइले बाआमाको फोटो हेरेर मर्न मन लागेको कुरा गर्नु, दाइ द्रवित भाइलाई छातीमा टाँस्नुमा लय भेटिँदैन। जसले गर्दा नयाँ बाँसुरी आएको र दाजुभाइले सँगै बजाएको दृश्य पनि त्यति प्रभावकारी देखिँदैन। फिल्मलाई  त्याे क्लाइमेक्स दिनुमा महत्त्वपूर्ण भूमिका रहेको सागर पात्रको निर्माण खँदिलो नहुँदा दर्शक कनेक्ट हुन सक्दैनन्। जसकारण फिल्मको अन्त्य फितलो हुन गएको छ।

फिल्ममा कलाकारमध्येमा दर्शकलाई बाँधिराख्ने पात्र हिमाल हो। जसलाई साैगातले सक्दाे राेचक बनाउने प्रयास गरेका छन् तर एउटा कथाभित्र पात्रकाे भूमिका हेर्दा भने तालमेल नमिले जस्ताे लाग्छ।  हसाउने दृश्यमा हसाउन सफल छन् तर भावुक बनाउनुपर्ने दृश्यमा बगाएका आँसु, बाेलेका संवाद निसाना चुकेका तिर जस्ताे लाग्छन्। यस्तै समस्या अन्य पात्रमा पनि देखिन्छ जसकाे स्राेत एउटै हाे।

दयाहाङ छिरिङको भूमिकामा स्वभाविक देखिएका छन्। कबड्डी सिरिजबाट दर्शकको दिमागमा काजीको रूपमा स्थान पाएका दयाहाङ यसमा पनि काजी नै देखिएको प्रतिक्रिया धेरैले दिएका छन्। दश वर्षदेखि दयाहाङ काजीकै भूमिकामा देखिएकाले दर्शकलाई त्यस्तो लाग्नु स्वभाविक हो अथवा दयाहाङले केही अंश काजीको बोकिराखेको पनि हुन सक्छ। जुन सोच्ने, मनन गर्ने र यदि हो र आवश्यक लाग्छ भने अरू काममा सुधार्ने काम पनि उनकै हो तर कबड्डी नहेरेका दर्शकले भने दयाहाङलाई छिरिङ नै देख्छन्। 

साैगात र दयाहाङ बाहेक बुद्धि तामाङ, उगेन छोदेन, उपासनासिंह ठकुरी, पुष्कर गुरुङ, कविता आले, सुष्मा निरौला लगायतका कलाकारको अभिनय पनि  अस्वभाविक देखिएको छैन। वाह! भनेर ताली पिट्नकाा लागि पनि केही छैन। सबै कलाकारले अगाडि गरेका कामको प्रभाव, कलाकारको काम गर्ने शैली आदि कलाकारले नै केलाउने काम हो। 

यी बाहेक पनि फिल्ममा दर्शकलाई साेचमा पार्ने ठाउँ छन्। जस्तो हिमाललाई के जाँगर चलेर बालिकालाई सेल पकाएर पठायो होला, त्यतिका दिन छिरिङकै घरमा बसेकी आमासँग, छिरिङसँगै नजिक भएकी उगेनलाई खासमा किन आको भनेर त्यति वेलासम्म किन नसोधेको होला, अन्तिमतिर हिमाल र छिरिङको बाटो छेकेर, गोली हानेर मार्नै खोजेका हुन् त? अनि हिमालको नाकमा बुजो लगाएको तितेपाती... ।

पत्ता लागेका सबै कमी कमजोरी छोडेर तारिफ भइरहेका पक्ष पनि छन्। जस्तो फिल्मको छायांकन, रंग सम्पादन, संवाद, कलाकारको अभिनय, फिल्मको सन्देश, जुन वन्यजन्तु र पशुपक्षीको पनि आफ्नो बाँच्ने अधिकार छ, वातावरण संरक्षणमा आफ्नो भूमिका छ, उनीहरूलाई मार्नु हुँदैन भन्नेमा केन्द्रित छ। फिल्ममा वन्य पक्षी कालिजका सुन्दर दृश्य समेटिएकाे छ तर कुनै पनि वन्य जनावर तथा पक्षीलाई हानि भने पुर्‍याइएकाे छैन (वन्यलाई मात्र)। 

समग्रमा फिल्मलाई एउटा गाडी मान्ने हो भने यो एउटा यस्तो बाटोमा छ जहाँ घुम्ती छन्, उकाली ओराली छ, भञ्ज्याङ चाैतारी छ,  परबाट हेर्दा सुन्दर, मनमोहक देखिन्छ तर नजिक पुग्दा बाटो ठाउँ ठाउँमा बिग्रेको छ, भत्किएको छ। गाडी ठोक्किदै, रोक्किदै आफ्नो गन्तव्यतिर जाँदै छ। भित्र पात्रहरू उफ्रिएका छन्, घाइते छन्। उकाली ओरालीहरू देख्न देखाउन छुटेका छन्। 

बाटो राम्राेसँग बनाएकाे भए ‘दुई नम्बरी’को गाडी सुन्दर र मनमाेहक बाटाेमा छिचोल्दै घुम्तीहरूमा घुम्दै रमाउँदै गन्तव्यमा पुग्ने थियाे। पात्रहरू सकुशल हुने थिए दर्शकले पनि पर्याप्त मनोरञ्जन गर्ने थिए र यात्रा अझ प्रभावकारी र अर्थपूर्ण हुने थियो तर यसपालिलाई यस्तै भयाे।

यति हुँदाहुँदै पनि बन्दै आएका अधिकांश नेपाली फिल्मकाे सूचीमा औसतकाे माथितिरै राख्न सकिन्छ। पहिलो हप्तामा प्रदर्शन भइरहेकाे फिल्ममा दर्शकको उपस्थिति उत्साहजनक छ। जुन उद्याेगकै लागि सकारात्मक पक्ष हाे। आशा गरौँ अरूकाे फिल्मका कमी कमजाेरी केलाउँदै, सुझाउँदै आएका लामाले आफ्नै फिल्मकाे समीक्षा गर्दै कमी कमजोरी केलाउँदै, सच्याउँदै आगामी फिल्म ‘दुई नम्बरी’ भन्दा माथिल्लो स्तरको बनाउनेछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.