|

इलाम : हरेक निर्वाचनमा इलामलाई विशेष महत्त्वका साथ हेरिँदै आएको छ। इलामबाटै सुवासचन्द्र नेम्वाङ २ पटक सभामुख र झलनाथ खनाल प्रधानमन्त्री हुने मौका पाए।

झलनाथ खनाल इलाम क्षेत्र नं. २ मा पर्ने इलाम नपा–१ साखेजुङका हुन् भने सोही नपा–७ सुन्तलाबारीका नेम्वाङ। खनाल २०४८ सालदेखि इलाम क्षेत्र नं १ बाट चुनाव लड्छन् ।

२०५६ सालदेखि संघीय निर्वाचनमा सहभागी नेम्वाङ अपराजित नेता हुन्। सूर्य चिह्नबाट विजयी हुँदै आएका २ हेभिवेटको नियति योपटक फेरिएको छ। नेम्वाङ सूर्य चिह्नबाटै चुनावी मैदानमा होमिदा खनाल भने कलम चिह्नका उम्मेदवार हुन्। एउटै मोर्चामा हिँडेका उनीहरू हाल प्रतिस्पर्धी दलबाट उम्मेदवार छन्।

गुरुकै आशीर्वाद नेम्वाङलाई भर

सदाझैँ निर्वाचन मनोनयनका लागि गृहजिल्लामा रहँदा सुवास नेम्वाङ योपटक पनि माङसेवुङ गापामा रहेको किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको आश्रममा पुगे। गुरुको आशीर्वाद थाप्दै उनी चुनाव केन्द्रित गतिविधिमा सक्रिय छन्।

किरात धर्मगुरुलाई भेट्न नेम्वाङ मात्र होइन स्व. गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्ददेखि तत्कालीन राजा ज्ञानेन्द्र शाहसम्म लारुम्बा पुगेका थिए।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, पुष्पकमल दाहालका साथै प्रथम राष्ट्रपति डा. रामवरण यादव, वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वउपराष्ट्रपति परमानन्द झा, कांग्रेस नेता गगन थापा, एमाले नेता ईश्वर पोखरेल लगायत अन्य नेता पनि लारुम्बा पुगेर गुरुलाई भेट्ने गरेका छन्।

इलामको निर्वाचन क्षेत्र नं २ को परिणाममा गुरुको आशीर्वादले अर्थ राख्ने विश्वास गरिन्छ। यो वर्ष मनोनयनको अघिल्लो दिन गुरु निजी आश्रम लारुम्बा पुगेर नेम्वाङले किरात धर्मगुरु गुरुआमा बसेको ठाउँ, पोक बसेको ठाउँ र किरातको पवित्र केन्द्र माङसेबुङ रहेको भन्दै फकाउन समेत भ्याए।

एमालेबाट प्रदेशसभाका लागि इलाम क्षेत्र नं २ को (क) का उम्मेदवार गणेश बराल र क्षेत्र २ (ख)  का उम्मेदवार प्रदेश १ का पूर्व भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री राम रानालाई साथ लिएर नेम्वाङ लारुम्बा पुगे। एमाले उम्मेदवारले माङगेन्ना शिर उठाए। माङगेन्ना गरे शिर उचो हुने र शिर नढल्ने धार्मिक विश्वास छ।

सधैँका झैँ नेम्वाङले गुरुसामु महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा र धर्म निरपेक्ष घोषणा गर्न एमालेको ठूलो भूमिका रहेको चर्चा गरे।

धर्म निरपेक्ष घोषणा गर्न आफ्नो अहम् भूमिका रहेको बताउँदै नेम्वाङले किरात मुन्दुम विश्वविद्यालय स्थापना गर्न पार्टीले खेल्ने भूमिकामा छलफल भइरहेको र यो विषयमा निर्वाचन घोषणापत्रमा समेत छापिएर आउने उनले दाबी गरे।

पहिला जस्तै छैन सहज

अघिल्लो निर्वाचनमा सहजै विजयी नेम्वाङलाई योपटक केही सकस देखिन्छ। वाम लोकतान्त्रिक गठबन्धनको भन्दा कम मत भएका कारण नेम्वाङको जित्ने आधार भनेको गुरुको आशीर्वाद र लिम्बु जातिको मत नै हो। नेम्वाङ गुरु अनुयायीहरूको मतका कारण यसअघिका निर्वाचनमा सहजै विजयी भएका थिए।

योपटक पनि गुरुकृपा रहनेमा उनी ढुक्क छन् तर नेम्वाङका लागि यो चुनाव चुनौतीपूर्ण देखिन्छ। एकातिर गठबन्धनको भार र स्थानीय चुनावमा टिकट वितरणमा भेदभाव भएको भन्दै पार्टीभित्रै असन्तुष्टि बढेको छ। २३ वर्षसम्म इलाम–२ बाट जित्दै आए पनि विकास निर्माणको काम नगरेको भन्दै मतदातामा असन्तुष्टि छ।

विशेषगरी राँके–रवि सडक नबनेकामा स्थानीय बासिन्दा असन्तुष्ट छन्। यो सडक केही समयअघि एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गरेका थिए। यो सडक इलामका ठूला ‘प्रोजेक्ट’मध्येको यो एक हो। उक्त सडक खण्ड धनकुटा, इलाम र पाँचथरको सिमानामा पनि पर्छ तर काम पूरा भएको छैन। अहिले बाटोको स्थिति झन् खराब छ। यसलाई लिएर मतदातामा असन्तुष्टि बढेको हो।

गत असोज ११ गते इलाममा अगुवा कार्यकर्ता भेलामा नेम्वाङले गुनासो गरेका थिए। आफू २०५६ सालमा निर्वाचन लड्दा इलामको २ नम्बर क्षेत्रमा एउटा बिजुलीको बल्ब नभएको र अहिले साथीभाइले हिलोमा गाडी भासिएको फोटो छाप्ने गरेको उनको भनाइ थियो।

उनले भने, ‘२०५६ सालदेखि अहिलेसम्म १० वर्ष जनयुद्ध कटाइदिनुस्। त्यो १० वर्ष गाउँघरका दिदीबहिनी दाजुभाइले तपाईंहरू नआउनुस्, हामी दुःख सहन्छौँ भन्नुभयो र हामी १० वर्ष गाउँमा जान सकेनौँ। अहिले उहाँहरू समेत हिलाम्मे बाटोमा गाडी डुबेको फोटो शेयर गरिरहनुभएको छ।’

नेम्वाङको निर्वाचन क्षेत्रमा पर्ने राँके–रवि सडक खण्डमा असोज सकिनै लाग्दा पनि हिलाम्मे सडकबाट गाडी धकेल्दै दमकसम्म पुग्नुपर्ने बाध्यता छ। पुवाखोला तरेपछि छिटपुट क्षेत्रमा मात्र कालोपत्रे देखिन्छ।

चुलाचुली केन्द्रित नेम्वाङ

गुरुको आशीर्वाद पाउने विश्वासपछि नेम्वाङ चुलाचुली गापा केन्द्रित छ। मनोनयनलगत्तै उनी मत बटुल्न चुलाचुली पुगेका छन्। केपी ओलीको साउनको झापा भ्रमणका क्रममा नेम्वाङले केही दिनको फरकमा दुईवटा कार्यक्रम चुलाचुलीमा राखे। एमालेको पकड क्षेत्र मानिएको चुलाचुलीमा योपटक गुमेको विरासत फर्काउने नेम्वाङको कसरत जारी छ।

२०७४ को स्थानीय निर्वाचनमा गापा अध्यक्ष र उपाध्यक्ष सहित ४ वटा वडा जितेको एमाले योपटक उपाध्यक्ष मात्र जित्न सफल रह्यो।

गापा अध्यक्षमा २ हजार ८९५ मतान्तरले कांग्रेसका राजेन्द्र केरुङ निर्वाचित भए।  गापा अध्यक्षसहित ६ मध्ये ५ वडा नेपाली कांग्रेसले जितेका कारण नेम्वाङलाई चुलाचुलीको मत जित्न सकस देखिन्छ। त्यसकारण उनी अहिले चुलाचुली केन्द्रित छन्। उनी मदन भण्डारी राजमार्ग देखाएर चुलाचुलीका मतदाता फकाउँदै छन्। ‘चुलाचुलीमा ५ वटा पुल मदन भण्डारी राजमार्गअन्तर्गत शुरु भइसकेको छ। ५० प्रतिशत पूरा भइसकेको छ। दिएको समय भन्दा २÷३ महिनाअघि सक्छु भनेका छन्।’

उनले इलाममा आयोजित कार्यक्रममा चुलाचुली लक्षित गरेर भने, ‘हाम्रा विपक्षी साथीहरू कति तगडा छन्, अचम्म छ। अर्बौं रकम एउटै पालिकामा खर्च आइरहेको छ। ५ वटा पुल बनेको मदन भण्डारी राजमार्ग सर्ने भएछ भनेर उहाँहरूले हल्ला चलाउन थाल्नुभएछ।’

खड्का गठबन्धनबाट ढुक्क

नेम्वाङविरुद्ध योपटक नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्का मुख्य प्रतिस्पर्धी छन्। प्रधानमन्त्री निकट मानिएका खड्का गठबन्धनको बलमा योपटक नेम्वाङको २३ वर्षे एकात्मक शासन अन्त्य गर्दै युवा नेतृत्व स्थापित गर्ने ध्येयमा छन्।

अघिल्लो पटक प्रदेशसभामा राम रानासँग हारेका खड्का योपटक एमालेका हेभिवेट नेतालाई हराउँदै आफूलाई प्रमाणित गर्ने अवसरमा छन्। नेम्वाङको क्षेत्रमा योपटक एमाले फुटेका कारण आफूले जित्ने खड्काको दाबी छ।

गत स्थानीय निर्वाचनको मत हेर्दा एमालेको पकड मानिएको यो क्षेत्रमा गठबन्धन बलियो देखिन्छ। स्थानीय निर्वाचनमा सीमित वडा बाहेक दलहरू एक्लाएक्लै निर्वाचनमा होमिएका थिए।

वडागत तर्फ कांग्रेसले ३२ हजार ९७८, एमाले ३२ हजार ५२७, माओवादीले २ हजार १०७, जसपाले ५५४, नेकपा (एकीकृत समाजवादी)ले २७७ र राप्रपाको १३० मत ल्याएको देखिन्छ। त्यस क्षेत्रमा ४२ वडामध्ये कांग्रेसले २२ र नेकपा एमालेले १७ वटा वडा जितेका छन्। त्यसैगरी माओवादी केन्द्र, राष्ट्रिय जनमुक्ति र लिम्बुवानले समान १÷१ वडा जितेका थिए।

माईखोलाले छुट्याएको इलाम क्षेत्र नं २ मा इलाम र देउमाई नपा छन्। त्यसैगरी माङ्सेबुङ, चुलाचुली र फाकफोकथुम गापाका साथै माई नपाका ३ वटा वडा (साविक महमाई गाविस) समेत यसै क्षेत्रमा छ। नेपालटार–मंगलबारे सडकमा गुणस्तरीय काम नगरेको भन्दै खड्काको आलोचना समेत हुँदै आएको छ। प्रतिनिधिसभा उम्मेदवार खड्का उक्त क्षेत्रमा यसअघि प्रदेशसभाको उम्मेदवारको रूपमा वाम गठबन्धनका राम रानासँग पराजित भएका थिए।

गत स्थानीय चुनावमा कांग्रेसले इलाम नपाका नगर प्रमुख र उपप्रमुख नै जितेको थियो। एमालेले देउमाई नपामा प्रमुख र उपप्रमुख जितेको थियो। यसैगरी चुलाचुली गापामा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष एमालेले जितेको थियो। फाकफोकथुम गापा अध्यक्ष, उपाध्यक्ष एमालेले जितेको थियो भने माङसेबुङ गापामा एमालेले अध्यक्ष र उपाध्यक्ष गठबन्धन भित्रको जसपाले जितेको थियो। जसपा अहिले गठबन्धनबाट बाहिर रहेको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.