|

जुम्ला : जुम्लामा अविरल  वर्षाका कारण  बाढीपहिरोबाट   ठूलो क्षति पुगेको छ।  बाढीपहिरोबाट विस्थापित भएका घरपरिवारलाई  उद्धार तथा राहत दिनका लागि जिल्ला विपत व्यवस्थापन समितिको वैठक बसेको छ।

विपत व्यवस्थापन समितिको बैठकले असोज १९ देखिको वर्षा र बाढीले जिल्लाको पुगेको धनजनको क्षतिको सारांश पतिवेदन प्रस्तुतसमेत गरेको छ।

 जुम्लाका  प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले जुम्लाको बाढी र पहिरोमा परी १० जनाको मृत्यु भएको बताए। उनका अनुसार  कनकासुन्दरी ५ मा गणेश शाहीका ५ जना परिवार, दुई छिमेकीसहित सातजनाको मृत्यु भएको र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सकको टोली सिंजा पुगेर पोष्ट मार्टम गरि दाहासंस्कार गरिएको छ।

कनकासुन्दरी गाउँपालिका वडा नम्बर ३ निवासी खड्क न्यौपानेको बाढीले बगाएर मृत्यु भएको छ। यसैगरी हिमागाउँपालिका ३ जोगिवाडामा बाढीले आमा छोरा बगाएको माआमाको शव भेटिएको प्रजिअ केशरीले जानकारी दिए।

जिल्लाको गुठीचौर गाउँपालिकाको मणिसाँघुमा घर भत्किँदा डोल्पा घर भई जुम्ला सदरमुकाम आउनका लागिवास बसेकी एक महिलाको  समेत मृत्यु भएको छ।

प्रजिअ केसरीका अनुसार हालसम्मको प्रहरीको तथ्यांकअनुसार जिल्लामा ८५ घर पूर्ण क्षति, दुईसय घर आंशिक क्षति र १०० घर उच्च जोखिममा रहेका छन्। यसैगरी, कर्णाली राजमार्ग, नाग्म गमगडि राजमार्ग पहिरोले यातायात आगमन ६ दिनदेखि बन्द भएका छन्।

२० गते बेलुकीबाट टेलिफोन र इन्टरनेट सेवासमेत बन्द भएको छ। खानेपानी अभाव तथा विधुत्‍समेत बन्द भएकाले समस्या भएको हो। कृषिबालीमा अत्यधिक क्षति भएको छ। पाकेर भित्र्याउन लागेको मार्सीधानमा धेरै क्षति पुगेको छ भने सिमी, कोदो, मकै, सहितका बालीमा नष्ट भएका छन्।

राहतमा जुट्यो जुम्ला

बाढीपहिरोले धनजनको क्षति भएपछि जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला विपत व्यवस्थापन समितिको बैठकले तत्काल गर्नुपर्ने कामहरु र राहतका लागि निर्णय गरेको छ।

जिल्ला समन्वय समिति, स्थानीय सरकार, राजनीतिक दल, स्थानीय प्रशासन, सुरक्षा निकायका प्रमुखहरु, पत्रकार तथा नागरिक समाजको उपस्थितमा सम्पन्न बैठकमा तत्काल सड्क सुचारु गर्न तथा आकस्मिक रेस्क्यु तथा राहतका लागि जिल्लाको सबै शक्ति प्रयोग गर्ने निर्णय गरेको छ।

 बैठकले २०७९ असोज १९ गते देखिको अविरल वर्षाका कारण राजमार्गमा पहिरो आएर बन्द भएकाले सुचारु गर्न सड्क विभागमा सुचारु गर्न अनुरोध गर्ने, जिल्लाका आठ वटा स्थानीय तह मध्यचन्दननाथ नगरपालिकाले रु चार लाख र गाउँपालिकाले रु दुई लाखका दरले जिल्ला विपत व्यवस्थापन समितिको कोषमा जम्मा गर्ने निर्णयसमेत गरेको छ

जिल्ला व्यवस्थापन समितिको कोष वृद्धिका लागि सर्वसाधारणलाई समेत अनुरोध गर्ने र कर्णाली राजमार्ग तथा सहायक बाटोहरु खुलाउन जिल्लाका सबै डोजर प्रयोग गर्ने निर्णय गरिएको छ।

स्थानीय सरकारले विपतमा पूर्ण रुपमा लागेर काम गर्ने प्रतिबद्धता जनाएको छ। जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्यले सबै तहले एकसाथ दुःखको घडीमा काम गनुपर्ने बताए।

चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायत, सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल र हिमा गाउँपालिकाकाअध्यक्ष लक्ष्मणबहादुर शाहीले स्थानीयतहको क्षतिको अवस्थाका विषयमा जानकारी गराएका थिए।

३ जनालाई हवाई उद्धार  

विपतमा परेर घाइते भएका दुईजना र बिजुली बनाउँदा लडेर घाइते भएका दुई जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। कनकासुन्दरी गाउँपालिकामा घाईते भएका सरस्वती हमाल र रामबहादुर हमाललाई सुर्खेतमा लगी उपचार गरिएको स्थानीय प्रशासनले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.