|

हेटौंडा : बागमती प्रदेश सरकारको ९ जना मन्त्रीहरु आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार बनेका छन्।

प्रदेश सरकारको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेसहित ९ जना मन्त्रीहरु आगामी निर्वाचनको लागि चुनावी मैदानमा होमिएका हुन्। प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री पाण्डे प्रतिनीधिसभाको उम्मेदवार बनेका छन् भने अन्य ८ मन्त्री प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन्।

नेकपा एकीकृत समाजवादीको उपाध्यक्षसमेत रहेका मुख्यमन्त्री पाण्डे सत्ता गठबन्धनबाट प्रतिनीधिसभा सदस्यको लागि धादिङ क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनेका हुन्।

बागमती प्रदेशमा एकीकृत समाजवादीबाट मन्त्री बनेका ५ जनामध्ये ४ जना फेरि उम्मेदवार बनेका छन्। समाजवादीबाट प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका कृष्णप्रसाद शर्मा खनाल प्रदेशसभा सदस्यका लागि सत्ता गठबन्धनको समर्थनमा चितवन–१ (ख) बाट उम्मेदवार बनेका छन्।

त्यस्तै, प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री वसन्तप्रसाद मानन्धर पनि एकीकृत समाजवादीबाट सत्तारूढ गठबन्धनको सहयोगमा काठमाडौं–७(ख)बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका छन्। एकीकृत समाजवादीबाट प्रदेशको कृषि तथा पशुपंक्षी विकासमन्त्री बनेका वसुन्धरा हुमागाईले भने गठबन्धनविरुद्व गएर उम्मेदवारी दिएका छन्।

उनले गठबन्धनबाट अलग भएर प्रदेशसभा सदस्यका लागि एकीकृत समाजवादीका तर्फबाट काभ्रे–२ (ख)मा उम्मेदवारी दिएका छन्।

समाजवादीबाटै प्रदेशको कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री बनेकी इन्द्रमाया गुरुङ भने आगामी निर्वाचनमा उम्मेदवार बनेकी छैनन्। यस अघिको निर्वाचनमा पनि उनी एमालेको समानुपातिक सूचीबाट प्रदेशसभा सदस्य बनेकी थिइन्।

प्रदेश सरकारमा सबैभन्दा धेरै मन्त्री रहेको नेपाली कांग्रेसले भने आगामी निर्वाचनमा थोरैलाई मात्रै उम्मेदवार बनाएको छ। कांग्रेसले सरकारमा रहेका ८ जना मन्त्रीमध्ये एकजनालाई मात्रै उम्मेदवार बनाएको छ भने बाँकी ७ जना आगामी निर्वाचनबाट आउट भएका छन्।

कांग्रेसबाट मन्त्री बनेका प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ मात्रै आगामी निर्वाचनमा प्रदेशसभा सदस्यका लागि काठमाडौं–१ (क)मा उम्मेदवार बनेका छन्। श्रेष्ठबाहेक कांग्रेसबाट प्रदेश सरकारमा रहेका कुनै पनि मन्त्रीले आगामी निर्वाचनमा उम्मेदवार बन्ने मौका पाएनन्।

२०७४ को निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ (ख)बाट निर्वाचित भएका प्रदेशको स्वास्थ्यमन्त्री निमा लामा आसन्न निर्वाचनमा पार्टीले सो क्षेत्रमा अर्को व्यक्तिलाई अवसर दिँदा उम्मेदवार बन्न पाएनन्।

कांग्रेसबाटै प्रतिनिधित्व गरेका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेल पनि आगामी निर्वाचनबाट आउट भएका छन्। यसअघिको उपनिर्वाचनमा भक्तपुरबाट निर्वाचित भएका उनले आगामी चुनावमा उम्मेदवार बन्ने अवसर नपाएका हुन्। कांग्रेसको कोटाबाट मन्त्री बनेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलन बाबु श्रेष्ठले पनि आगामी निर्वाचनमा उम्मेदवार बन्न पाएनन्।

उनी २०७४ को निर्वाचनमा कांग्रेसको समानुपातिक सूचीबाट सांसद् भएका थिए। त्यस्तै, कांग्रेसको समानुपातिक सूचीबाट सांसद बनेका प्रदेशका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेलले पनि उम्मेदवार बन्ने अवसर पाएनन्।

कांग्रेसको कोटाबाट प्रदेशको राज्यमन्त्री बनेका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाका साथै उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य जोन्छे र स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले पनि आगामी निर्वाचनमा उम्मेदवार बन्ने अवसर पाएनन्। यस अघिको निर्वाचनमा उनीहरु समानुपातिक तर्फबाट प्रदेशसभा सदस्य बनेका थिए।

माओवादी केन्द्रबाट प्रदेशको मन्त्री बनेका ५ जना मध्ये ४ जना यस पटक पनि उम्मेदवार बनेका छन्। माओवादी केन्द्रका नेता तथा बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेल धादिङ–१ (ख) बाट प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका छन्। उनी निर्वाचनपछि प्रदेशको मुख्यमन्त्री बन्ने दाउसहित चुनावी मैदानमा होमिएका छन्।

प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल माओवादी केन्द्रबाट प्रदेशसभामा काभ्रे–१ (क)मा उम्मेदवार बनेका छन्। श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाल माओवादी केन्द्रबाट प्रदेशसभाका लागि चितवन–२ (क)मा उम्मेदवार बनेका छन्।

प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तान पनि प्रदेशसभा सदस्यका लागि मओवादी केन्द्रबाट मकवानपुर–२ (क) मा उम्मेदवार बनेकी छन्।

माओवादी केन्द्रबाट मन्त्री बनेका वन तथा वातावरण मन्त्री विशाल खड्काले भने आगामी निर्वाचनमा उम्मेदवार बन्ने अवसर पाएनन्।

२०७४ को निर्वाचनमा दोलखाबाट निर्वाचित भएका खड्काले सत्तारुढ गठबन्धनमा भागबण्डाका लागि सो क्षेत्र गुमाउनु परेको हो। उम्मेदवार बनेका सबै सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका हुन्।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.