|

काठमाडौं :  करिब सात वर्षदेखि जीर्ण अवस्थामा रहेको काठमाडौं महानगरको पुरानो भवन अर्थात बागदरबारको प्रबलीकरण (रेट्रोफिटिङ) काठमाडौं महानगरपालिकाले गर्ने भएको छ।

०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको राणाकालीन दरबार महानगरपालिकाले संरक्षण गर्न लागेको हो।

२०७२ को विनाशकारी भूकम्पले देशभरका सयौँ ऐतिहासिक सम्पदा ध्वस्त भयो कतिपय क्षतिग्रस्त भए। त्यसबाट बागदरबार पनि अछुतो रहेन। बागदरबार भत्काएर नयाँ संरचना बनाउने या त्यसलाई नै प्रबलीकरण गर्ने भन्ने विषयमा लामो समय विवाद चर्कियो। लामो समयको अन्यौलतापछि बागदरबारको रेट्रोफिटिङको जिम्मेवारी काठमाडौं महानगरपालिकाले लिएको छ।

५ करोड लागतमा सो ऐतिहासिक भवन रेट्रोफिटिङ गर्ने तयारी गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिए।

यसअघि भूकम्पले भत्किएको ऐतिहासिक बागदरबार काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर विद्यासुन्दर शाक्यले भत्काएर पुनर्निर्माण गर्ने योजना अगाडि बढाए। राणाकालीन दरबार भत्काएर नयाँ भवन बनाउने योजना अघि बढेको थियो। सम्पदा भत्काएर नयाँ भवन बनाउने अभियान सुरु गरेसँगै  सम्पदा अभियन्ताले भत्काउन नहुने भन्दै विरोध जनाए।

महानगरले ऐतिहासिक महत्वको दरबार भत्काउन नहुने भन्दै अदालतसम्म पुगेका थिए।

सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र सपना मल्ल प्रधानको संयुक्त इजलासले २०७५ चैत ५ मा बागदरबार संरक्षण गर्न आदेश दिएको थियो। बागदरबार जोगाउन माग गर्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, अधिवक्ता सञ्जय अधिकारी र अभियानकर्मी  गणपतिलाल श्रेष्ठले सार्वजनिक सरोकारको रिट दर्ता गराए।

अदालतले बागदरबारलाई प्राकृतिक रूपमै नष्ट हुने वातावरण बनाएको भन्दै संरचनामा थप क्षति हुन नदिन पानी, हावाहुरी लगायतबाट तत्काल संरक्षण गर्ने व्यवस्था मिलाउन सरकार, अर्थ मन्त्रालय, राष्ट्रिय तत्कालीन पुनर्निर्माण प्राधिकरण, पुरातत्त्व विभाग र काठमाडौं महानगरपालिकालाई निर्देशन दिएको थियो।

तर, हालसम्म महानगरपालिकाले संरक्षणको काम अगाडि बढाएको थिएन। चार वर्षको वर्षात् वितिसक्दा पनि कुनै पनि निकायले संरक्षणको काम अगाडि बढाएका थिएनन्।

हाल आएर काठमाडौं महानगरपालिकाले सो पुरानै स्वरुपमा रहने गरी प्रबलीकरण गर्ने भएको छ। मेयर बालेन साहले सो भवन पुरानै स्वरूपमा रहने गरी  प्रबलीकरण गर्ने बताएका थिए।

सोही अनुसार भवन रेट्रोफिटिङका लागि डिपीआरको काम भइरहेको महानगरका प्रवक्ता मानन्धरले बताए।

दुईवर्ष भित्र सम्पन्न गर्नेगरी डिपीआरको काम भइरहेको उनले बताए।  उनले भने, ‘डिपीआरको काम अन्तिम चरणमा पुगेको छ। डिपीआर लगत्तै टेन्डर आह्वान  गरी प्रबलीकरणको काम अगाडि बढाउने तयारी भइरहेको छ।

अदालतको आदेश अनुसार मौलिकता कायम रहने गरी प्रबलीकरण गर्ने महानगरपालिकाले जनाएको छ। उनले भने, ‘अब कुनै विवाद नभई बागदरबार रेट्रोफिटिङ हुन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.