|

दाङ : प्रहरीले आर्थिक वर्ष २०७६ देखि चालु आर्थिक वर्षको हालसम्म करिब ३०० जनालाई लाुऔषध मुद्दामा पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०७६\७७ मा ३४ वटा मुद्दा दर्ता भएकोमा ६५ पुरुष र ८ महिला गरी ७३ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजनकुमार गौतमले जानकारी दिए।  

उनका अनुसार ९५ ग्राम ९८० मिलिग्राम ब्राउन सुगर, ५ किलो २५२ ग्राम अफिम, ११ किलो ३०० ग्राम चरेस, २ किलो ५८० ग्राम गाँजा र चार हजार ९५७ वटा ट्याब्लेट बरामद भएको थियो।  

यस्तै आर्थिक वर्ष २०७७\७८ मा ३९ वटा मुद्दा दर्ता भएकोमा ६८ पुरुष र सात महिला गरी ७५ जना पक्राउ परेका थिए। जसमा ५२५ ग्राम १६७ मिलिग्राम ब्राउन सुगर, १८ किलो, ६७ ग्राम अफिम, १५ किलो चरेस, २ किलो ५१० ग्राम गाँजा र ३ हजार ३० वटा ट्याब्लेट बरामद गरेको  प्रवक्ता गौतमले बताए। 

यस्तै आर्थिक वर्ष २०७८\७९ मा ५९ वटा मुद्दामा १०६ पुरुष र १० महिला पक्राउ परेका थिए। प्रवक्ता गौतमका अनुसारयो वर्ष मात्र ३९१ ग्राम ४१८ मिलिग्राम ब्राउन सुगर, ८ ग्राम ७६० मिलिग्राम अफिम, १७ किलो ५१ ग्राम चरेस, ७ किलो ३८५ ग्राम गाँजा र एक हजार १६ ट्याब्लेट बरामद भएको छ।

यस्तै चालु आर्थिक वर्षको हालसम्म १७ वटा मुद्दामा २८ पुरुष र चार महिला पक्राउ परेका छन्। १२४ ग्राम ७५० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित २७ पुरुष र दुई महिला, ६ किलो ३६० ग्राम चरेससहित दुई महिला र नाइट्राजेपाम  ४५ ट्याब्लेटसहित एकजना पक्राउ परेको प्रवक्ता गौतमले जानकारी दिए। 

नेपालमा लागूऔषध प्रयोगकर्ता बढ्दै
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी गौतमका अनुसार २०७६ साल गरिएको सर्वेक्षणमा देशमा लागुऔषध प्रयोगकर्ताको संख्या एक लाख ३० हजार ४२४ जना थियो। यो प्रहरीले पक्राउ गरेको संख्या मात्र भएकाले अझ धेरै हुनसक्ने उनको भनाइ छ। २०७९ सालमा गरिएको सर्वेक्षणमा ९१ हजार ५३४ जना प्रयोगकर्ता रहेका थिए। 

२०७६ को सर्वेक्षण प्रतिवेदन अनुसार देशमा  लागुऔषध प्रयोगकर्ताको वार्षिक वृद्धिदर ५.०६ प्रतिशत रहेको छ। यस्तै २०७६ को सर्वेक्षण अनुसार प्रदेश १ मा २७ हजार १३ पुरुष र ५९२ महिला गरी २७ हजार ६०५ जना प्रयोगकर्ता थिए। यस्तै प्रदेश २ मा १५ हजार ६१४ पुरुष र पाँच हजार ६२५ महिला गरी १५ हजार ८४३, बागमती प्रदेशमा ४० हजार ८६६ पुरुष र ५ हजार ६२५ महिला गरी ४६ हजार ४८० छन्।

गण्डकीमा ७ हजार ९६८ पुरुष र ९८८ महिला गरी ८ हजार ९५६, लुम्बिनीमा २४ हजार ९१२ पुरुष र १ हजार १८ महिला गरी २५ हजार ९३० छन्। यस्तै कर्णालीमा १ हजार ७६८ पुरुष र ४३ जना महिला गरी १ हजार ८११ र सुदूरपश्चिममा ३ हजार ५६२ पुरुष र २४६ जना महिला गरी ३ हजार ८०८ प्रयोगकर्ता रहेको प्रहरी तथ्यांकमा उल्लेख छ। 

लागुऔषधको स्रोत सबैभन्दा बढी साथीसंगी
प्रहरीका अनुसार  लागू औषधको मुख्य स्रोत साथीसंगी रहेका छन्। लागुऔषध प्रयोगकर्ताले सबै भन्दा बढी  साथीसंगीबाट लागुऔषध प्राप्त गर्ने  गरेको प्रहरीको भनाइ छ। जसमा ६७. ७ प्रतिशत लागुऔषधको स्रोत साथीसंगी, डुलुवा बिक्रेता १४. १ प्रतिशत, औषधि पसल ८.४ प्रतिशत, अन्य पसल ७.२ प्रतिशत, इन्टरनेटको माध्यम २.४ प्रतिशत र अन्य ०.४ प्रतिशत लागू औषधका स्रोत रहेको प्रहरीको भनाइ छ। 

कानुनी प्रावधान
लागू औषध नियन्त्रण ऐन, २०३३ मा उल्लेखित सजाय सम्बन्धी कानुन प्रावधान अनुसार गाँजा सेवन गर्नेलाई एक महिनासम्म कैद सजाय र २ हजार जरिवाना रहेको छ। यस्तै २५ बोटसम्म गाँजाको खेती गर्नेलाई ३ महिनासम्म कैद सजाय र ३ हजार जरिवाना, २५ देखि माथि खेती गर्नेलाई ३ वर्षसम्म कैद र ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना लाग्ने कानुनी प्रावधान छ। 

यस्तै अफिम, कोकालगायतबाट उत्पादन भएको लागूऔषध प्रयोग गर्दा एक वर्षसम्म कैद र १० हजारसम्म जरिवाना लाग्ने कानुनी प्रावधान रहेको प्रवक्ता गौतमले जानकारी दिए। यस्तै, अफिम, कोकाको खेती गर्नेलाई २५ बोटसम्मलाई एक देखि तीन वर्षसम्म कैद र ५ हजार जरिवाना, २५ देखि माथि गर्नेलाई ३ देखि १० वर्षसम्म कैद र २५ हजारदेखि २ लाखसम्म जरिवाना लाग्ने प्रावधान छ। 

यसैगरी उत्पादन, तयारी, खरिद बिक्री वितरण, निकासी वा पैठारी, ओसारपसार तथा सञ्चय गर्नेलाई २५ ग्रामसम्मलाई पाँच देखि १० वर्षसम्म कैद र पाँच हजारदेखि २५ हजारसम्म जरिवाना, २५ देखि एक सय ग्रामसम्म फेला पारेमा १० देखि १५ वर्षसम्म कैद र ७५ हजारदेखि २ लाखसम्म जरिवाना, एक सय ग्रामदेखि माथि भएमा १५ वर्षदेखि जन्म कैदसम्म र पाँच देखि २५ लाखसम्म जरिवाना हुन कानुनी प्रावधान छ। 

कारागारमा सबैभन्दा बढी लागुऔषधमा संलग्न व्यक्ति
प्रवक्ता गौतमका अनुसार अहिले प्रहरी हिरासत र जिल्लाका कारागारहरूमा सबैभन्दा बढी लागू औषधमा संलग्न व्यक्त रहेका छन्। उनले जिल्लामा रहेका कारागारमा अहिले लागू औषध मुद्दामा सजाय भोगिरहेका धेरै व्यक्ति रहेको जानकारी दिए। उनले त्यसपछि जबरजस्ती करणी तथा यौनजन्य अपराध गरेकाहरू कारागारमा रहेको पनि बताए। उनले शुरुमा कुनै पनि युवायुवती लागू औषधको प्रयोग गर्ने र त्यसपछि पैसाको लालचमा लागेर नेपाल भारत सीमाबाट भारत गएर लागुऔषध ल्याएर आउने र केही आफूले खाने र बाँकी बेचेर दैनिक चलाउने गरेको अवस्था रहेको पनि उनले जानकारी दिए।

उनले पछिल्लो सयम युवा लागुऔषधको कुलतमा फस्दै जानुमा सबै भन्दा पहिला घरको अभिभावक जिम्मेवार हुने पनि जानकारी दिए। ‘हामीले लागुऔषधसहित पक्राउ गरेर ल्याएपछि अभिभावक आउनु हुन्छ। अनि छोराको बारेमा हामीलाई केही थाहा थिएन भन्नु हुन्छ’, उनले भने, ‘त्यसैले सबै भन्दा पहिले यो कुलतबाट बनाउनको लागि अभिभावकले छोराछोरीको अवस्थाको बारेमा ध्यान दिन जरुरी छ।’
 

दुर्व्यसनीमा यसरी फस्छन्?
लागू औषध दुर्व्यसनमा फस्ने उमेर  भनेको १९ वर्षभन्दा तलको हुने भएकाले यो उम्मेरका किशोरकिशोरी सुरुमा यसको बारेमा धेरै जिज्ञासा हुँदा शुरुमा कस्तो हुन्छ, भनेर खाने गर्दा फस्ने गरेको पाइन्छ। त्यस्तै साथीभाइको संगतमा परेर पनि लागुऔषध सेवन गर्ने गरेको प्रहरीको भनाइ छ।

यसैगरी आनन्दप्राप्ति, देखासिखी, दुव्यर्सनी समुदाय, बेरोजगारी, घरमा झै झगडाको वातावरण हुँदा, समाज, घर, स्कुल, कलेजबाट पर्ने सक्ने नकारात्मक प्रभाव, विभिन्न जटिल प्रकारका रोगका कारण र सम्पन्नता तथा गरिबीका कारणले दुर्व्यसनमा फस्ने गरेको पाइन्छ।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.