|

हेटौंडा : आगामी मंसिर ४ गते प्रतिनीधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ। प्रदेश सभा सदस्यको लागि उम्मेदवारी दर्तासँगै बागमती प्रदेशमा भावी मुख्यमन्त्री को बन्ला भन्ने अड्कलबाजी सुरु भएको छ।

प्रदेश सरकारको नेतृत्वमा सत्तारुढ  गठबन्धनको तीन वटा दलसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरू पनि प्रदेश सरकारको आगामी मुख्यमन्त्री बन्ने दाउसहित चुनावी मैदानमा होमिएका छन्। बागमती प्रदेशको मुख्यमन्त्री बन्ने दौडमा ४ नेता देखिएका छन्। कांग्रेसबाट इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने दौडका मुख्य प्रतिष्पर्धीको रुपमा देखिएका छन्।

सत्तारुढ  गठबन्धनमा भएको सहमतिअनुसार बानियाँ हाल प्रदेशको मुख्यमन्त्री बन्नुपर्थ्यो। नेकपा एमालेको सरकार ढालेर समाजवादीका राजेन्द्र पाण्डे नेतृत्वमा प्रदेश सरकार गठन हुँदा आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमती भएको थियो। तर,पछि  मुख्यमन्त्री पाण्डेले बानियाँलाई पद छाड्न मानेनन्। पाण्डेलाई हटाएर बानियाँलाई मुख्यमन्त्री बनाउँदा अरु प्रदेशमा पनि समस्या हुने भएपछि गठबन्धनले पाण्डेलाई नै निरन्तरता दिएको थियो।

बानियाँ भने प्रदेशसभाको पहिलो कार्यकालमा नै मुख्यमन्त्री बन्ने अवसरबाट बञ्चित भए। नेपाली कांग्रेस बागमती प्रदेशको सभापति समेत रहेका बानियाँले डोरमणि पौडेल मुख्यमन्त्रीको भूमिकामा रहँदा प्रमुख प्रतिपक्षी दलको नेताको भूमिका निर्वाह गरेका थिए।

आगामी निर्वाचनमा प्रतिनिधिसभा तर्फ चुनाव लड्ने मनस्थिति बनाएका बानियाँलाई मुख्यमन्त्री बनाउनकै लागि कांग्रेसले प्रदेशसभातर्फ उम्मेदवार बनाएको चर्चा छ। बानियाँ यस अघि २०७४ मा चुनाव लडेको मकवानपुर–२ (ख) बाटै प्रदेशसभा सदस्य पदका लागि उम्मेदवार बनेका छन्। बानियाँ मकवानपुर–१ बाट २०७० मा भएको दोस्रो संविधानसभा सदस्य पदमा चुनाव जितेर सोही कार्यकालमा संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र गृह राज्यमन्त्रीसमेत बनिसकेका छन्।

हाल बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री रहेका माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल पनि बागमती प्रदेशको मुख्यमन्त्री बन्ने दौडमा छन्। प्रदेश सरकार गठन भएदेखि नै सत्तामा रहेका जम्कट्टेल आगामी निर्वाचनपछि पनि सत्तामै रहने होडमा छन्।

उनी एमाले–माओवादी केन्द्रको गठबन्धनमा बनेको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए। त्यस यता करिब ११ महिना प्रमुख प्रतिपक्षको भूमिकामा रहेका जम्कट्टेल गठबन्धनबाट एकीकृत समाजवादीका राजेन्द्र प्रसाद पाण्डे नेतृत्वको सरकारमा आर्थिक मामिला तथा कानुन मन्त्री बनेका हुन्। त्यसो त एमाले विभाजनपछि प्रदेशको मुख्यमन्त्रीमा उनको पनि दावी थियो। तर, केन्द्रबाट माओवादी केन्द्रले अन्य २ वटा प्रदेशमा सरकारको नेतृत्व लिएका कारण उनले मुख्यमन्त्री बन्ने अवसर पाएनन्।

 उनी प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारको आकांक्षी रहे पनि मुख्यमन्त्री बन्ने अपेक्षा लिएर धादिङ–१ (ख)बाट पुनः प्रदेशसभामा उम्मेदवार बनेका छन्।

नेकपा एकीकृत समाजवादी पार्टीबाट प्रदेशका बहालवाला आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनाल मुख्यमन्त्री बन्ने दौडमा छन्। समाजवादीबाट हाल प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री राजेन्द्र पाण्डे प्रतिनिधिसभाको उम्मेदवार बनेपछि उनी आगामी मुख्यमन्त्रीको दौडबाट आउट भएका छन्।

पाण्डे आउट भएपछि खनाल प्रदेश सरकारको नेतृत्व गर्ने दाउसहित  चितवन–१ (ख)बाट प्रदेशसभा सदस्य पदका लागि चुनावी मैदानमा उत्रिएका छन्। उनी पनि चितवन–१ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने तयारीमा रहे पनि सत्ता गठबन्धनमा सो क्षेत्र कांग्रेसको भागमा परेपछि  प्रदेशसभामा नै दोहोरिन लागेका हुन्। गत निर्वाचनमा एमालेबाट निर्वाचित भएका खनाल डोरमणि पौडेल नेतृत्वको सरकारका पालमा ओझेलमा परेका थिए। आफ्नालाई मात्र सरकार र मन्त्री बनाएको तथा बजेटमा पनि विभेद गरिएको भन्दै उनी पौडेल नेतृत्वको सरकारको कडा आलोचक थिए।

करिब साढे ३ वर्ष ओझेलमा परेका उनी डोरमणि पौडेलले सरकार छाडेका दिन समाजिक विकास मन्त्री बने। उनी अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारमा मन्त्री बनेका थिए। १५ दिन मन्त्री पद सम्हाले पनि उनले सो सरकारबाट राजीनामा दिएर एमालेबाट विभाजित भएर बनेको पार्टी एकीकृत समाजवादी पार्टीमा आवद्ध भए।

एकीकृत समाजवादीमा आवद्ध भएको २ महिना नबित्दै उनी फेरि मन्त्री बने। एकै कार्यकालमा उनले २ पटक मन्त्री बन्ने अवसर पाएका थिए। उनी सत्ता गठबन्धनको तर्फबाट राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री बने। उनी सरकारका प्रवक्ता समेत हुन्।

बहुमतको सरकार गुमाएर एकाएक ४३ सांसद लिएर १ वर्ष प्रमुख प्रतिपक्षको भूमिकामा रहेको एमालेबाट दुईजना आकांक्षी रहेका छन्। बागमती प्रदेशसभाको सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सरकारको नेतृत्व गर्ने आकांक्षा राखेका छन्। श्रेष्ठले सार्वजनिक रुपमा नै आफू प्रदेशको मुख्यमन्त्री बन्ने दौडमा रहेको बताएका छन्। श्रेष्ठ एमालेबाट काठमाडौं–२ (क)बाट प्रदेश सभातर्फ उम्मेदवार बनेका छन्।

एमालेबाट मुख्यमन्त्रीको अर्को प्रमुख दावेदारको रुपमा देवी ज्ञवाली रहेका छन्। २०७४ सालमा भरतपुर महानगरपालिकामा मेयर पदका प्रत्यासी रहेका ज्ञवालीलाई यो पटक चितवनबाट प्रदेशसभा उम्मेदवार बनाएर एमालेले मुख्यमन्त्रीको दावा पेश गरेको चर्चा छ। ज्ञवालीलाई एमालेको राम्रो मानिएको चितवनको क्षेत्र नंबर २ ‘ख’बाट उम्मेदवार बनाएसँगै एमालेले बहुमत ल्याएको अवस्थामा उनलाई मुख्यमन्त्रीको रुपमा प्रस्तुत गर्न खोजिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.