कञ्चनपुर : बेलौरी नगरपालिका-३ दिनापुरका धनीराम चौधरी कुखुरापालनबाटै नगरपालिका क्षेत्रमै राम्रो आम्दानी गर्ने किसानका रुपमा परिचित छन्।
चौधरीले अण्डा दिने ८ हजार लेयर्स कुखुरा पालेका छन्। दैनिक ३५ पेटी अण्डा बजारमा बिक्री गर्ने गरेका छन्। प्रति पेटी २ हजार ५ सय रूपैयाँमा बिक्री हुने गरेको छ।
उनको फार्मबाट उत्पादित अण्डा स्थानीय बजारमै खपत हुने गरेको छ। प्रतिदिन साढे ८७ हजार रूपैयाँ बराबरको अण्डा बजारमा बिक्री हुने गरेको चौधरीले बताए।
‘गत वर्ष ५ हजार जति कुखुरा पालेको थिएँ‚’ उनले भने, ‘दैनिक २६ पेटी अण्डा उत्पादन हुन्थ्यो, जसबाट दैनिक १२ हजारदेखि १५ हजार रूपैयाँसम्म खर्च कटाएर बचत हुन्थ्यो। यस वर्ष फार्म विस्तार गरेपछि उत्पादन बढेको छ, आम्दानी त्यहीअनुसार भैरहेको छ।’
चौधरीले लेयर्स कुखुरा पाल्न २३ लाख रूपैयाँ खर्च गरेर फार्म स्थापना गरेका छन्। टेलिभिजन र इन्टरनेटमा कुखुरापालनसम्बन्धी समाचार हेर्दाहेर्दै कुखुरापालनमा लागेको उनले बताए।
‘कुखुरापालन गरेर प्रगति गरेका समाचार हेर्थें‚’ उनले भने, ‘त्यसबाटै प्रभावित भएर कुखुरापालनमा लागेँ, १२ वर्ष ब्रोइलर कुखुरा पालेँ, ६ वर्षदेखि लेयर्स कुखुरा पाल्दै आएको छु। ब्रोइलरभन्दा लेयर्सबाट बढी आम्दानी हुन थालेको छ।’
घरमै बसी बसी आम्दानी हुने व्यवसाय भएकाले चौधरीले फार्म अझै विस्तार गर्ने सोच बनाएका छन्। बजारमा दैनिक ६० पेटीभन्दा बढी अण्डाको माग आउने गरेको छ। मागभन्दा उत्पादन थोरै भएकाले पुगाउन नसकीरहेको उनले बताउए। फार्ममा उत्पादीत अण्डा बेच्न गाह्रो छैन।
‘अण्डा खरिदका लागि व्यापारी फार्ममै आइपुग्छन्, अर्डर गर्नेहरूको घर पसलसम्म पुर्याई दिन्छौं‚’ उनले भने, ‘फार्मबाटै खरिद गर्नेलाई तोकेकै मूल्यमा र अर्डर गर्नेलाई क्यारिइङ गर्न लाग्ने रकम थपेर अण्डा बिक्री गर्छौं।’ वर्षमा १४ देखि १५ लाख रूपैयाँ खर्च कटाएर बचत हुने गरेको उनको भनाई रहेको छ।
कुखुरापालनका लागि चल्ला खरिद, औषधी, भ्याक्सिन र चारोमा गरी वर्षमा ३० लाख रूपैयाँ जति खर्च लाग्ने गरेको छ। कुखुराबाट उत्पादन हुने मल उखुमा हाल्ने गरेका छन्।
कुखुराको मल हालेर आफ्नो स्वामित्वको डेढ बिघा जग्गा र लिजमा लिएको १२ कठ्ठा जग्गामा उखु खेतीसमेत गरेका छन्। कुखुरापालनको आम्दानीले छोराछोरीलाई धनगढीस्थित महँगो निजी आवासीय विद्यालयमा पढाउँदै आएका छन्।
‘दुवैजना श्रीमान श्रीमती मात्रै छौं घरमा‚’ उनले भने, ‘दुवै जनाको दिनचर्या बिहान झिसमिसेदेखि साँझ अबेरसम्म कुखुरालाई चारो, औषधी, पानी दिनुसँगै खोर सफा गर्ने, अण्डा टिप्ने, क्रेटमा राखेर पेटीमा प्याक गर्ने र अर्डर आएका ठाउँसम्म पुर्याएर बेच्नमा बित्ने गरेको छ।’ भावी योजनाका रुपमा अण्डाबाट चल्ला उत्पादन गर्ने मेसिन राख्ने रहेको उनले सुनाए।
बेलौरी नगरपालिकाका पशु विकास शाखाका प्रमुख तारादत्त अवस्थीले नगरपालिका क्षेत्रमै सबैभन्दा बढी लेयर्स कुखुरा पालेर अण्डा उत्पादन गर्ने किसानका रुपमा चौधरी रहेको बताए।
‘नगरपालिका क्षेत्रमै अण्डा उत्पादनमा लागेका चौधरी पहिलो किसान हुन्‚’ उनले भने, ‘चौधरीको सिको गर्दै लेयर्स कुखुरा पाल्नेको संख्या नगरपालिकामा बढ्दो छ, अण्डामा नगरपालिका आत्मनिर्भर हुन लागेको छ।’
व्यावसायिक कुखुरापालन गर्ने किसानलाई नगरपालिकाले अनुदानसँगै तालिम दिई दक्ष बनाउने योजना अघि सारेको अवस्थीले बताए।
उनका अनुसार गत वर्ष मात्रै व्यावसायिक कुखुरापालन फार्म सञ्चालन गर्ने ७ जनालाई नगरपालिकाले खोर सुधारका लागि अनुदान रकम उपलव्ध गराएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।