|

बागलुङ : बागलुङको माथिल्लो क्षेत्रमा अहिले पनि स्थानीयवासीले हापदुला, काम्लो, बख्खु, घुम (भेडाको ऊनबाट बनेको कपडा) लगाउँछन्। उच्च पहाडी क्षेत्रमा बाह्रै महिना चिसो हुने हुँदा यहाँका बासिन्दाले यस्ता कपडा लगाउने गरेका हुन्।

घामपानी छेक्ने, वर्षौँ टिक्ने र न्यानो हुने हुँदा उनीहरूले ऊनको कपडा बढी प्रयोग गर्छन्। यहाँका अधिकांश स्थानीय बासिन्दाले सयौँको सङ्ख्यामा भेडापालन गर्ने हुँदा उनीहरूले ऊनबाट कपडा बनाउने पनि गर्दै आएका छन्।

निसी, भुजी र तमान क्षेत्रमा बढी प्रख्यात भेडाका कपडा विदेशसम्म पनि पुग्ने गर्छ। कपडा र मासु दुवैका लागि भेडा उपयुक्त हुनेहुँदा भेडापालकले राम्रो आम्दानी गर्दै आएका छन्। मासु स्थानीयस्तरमै बिक्री भए पनि त्यसबाट बन्ने कपडा देशविदेशमा निर्यात हुन्छ। ऊनबाट बन्ने कपडाको माग नेपाली बजारमाभन्दा विदेशमा बढी हुने गरेको उनीहरू बताउँछन्। युवापुस्तामा ऊनबाट कपडा बुन्ने सीप नभए पनि बुढापाकाले भने निरन्तरता दिँदै आएका छन्।

तमानखोला गाउँपालिका– ३ तमान गाउँकी छलीमाया बुढाथोकी ६६ वर्षकी भइन्। उनी अहिले पनि चर्खामा ऊन घुमाउने र काम्लो, हापदुलालगायत भेडाको रौँबाट कपडा बनाउने गर्छिन्। छलीमायाले यो सीप आमाबाट सिकेकी हुन्। अहिलेका पुस्ताले यसप्रति चासो नराखेको उनको गुनासो छ। 

‘मैले सानैदेखि बुन्दै आएको हुँ, सानोमा आमाले बुनेको देखेँ, गाउँमा छरछिमेकीले पनि बुन्ने गर्थे, त्यसपछि मैले पनि बुन्न थाले, अहिलेसम्म बुन्दै छु, हात चल्दासम्म बुन्छु नै’, छलीमाया भन्छिन्, ‘अहिलेका पुस्ताले यस्ता काम गर्नै जान्दैनन्। चासो पनि दिँदैनन्, भेडाबाख्रा पाल्नै छोडे, हाम्रो सासपछि यो सबै हराएर जान्छ होला। मैले नातिनातिनीलाई सिकाउन धेरै खोजेँ तर चासो दिएनन्।’ आफूहरू सानो हुँदा सिरक, डसना र कपडा नहुने भन्दै भेडाको रौँबाटै डसना र सिरक बनाएर प्रयोग गरेको सम्झिन्छिन् छलीमाया।

‘हामी सानोसानो हुँदा गाउँमा कपडा पाइँदैनथ्यो। अहिलेको जस्तो सिरक, डस्ना भन्ने बजारबाट आउँदैनथे। गाउँमै बाउआमाले भेडाको रौँबाटै बनेका घुम, काम्लो प्रयोग गर्नुपर्थ्यो। कपासको कपडा त धेरैपछि आएको हो हाम्रो ठाउँमा’, उनले भनिन्, ‘अहिले सबै कपासबाट बनेका सिरक डस्ना, ओड्ने, ओछ्याउने गर्छन्, त्यसले गर्दा पनि नयाँपुस्ताले ऊनबाट बन्ने कपडा बनाउन छोडे। यतातिर बिक्री पनि हुन छाड्यो। बरु विदेशतिर बढी जान्छ।’

ढोरपाटन–९ की फूलकुमारी पुनमगर अहिलेका पुस्ताले परम्परागत सीप नसिकेकामा  चिन्तित छिन्। ‘जमाना फेरियो, चाल चलन फेरियो, मान्छेको आनीबानी फेरियो, त्यसले गर्दा पुराना कला र सीप पनि फेरिए। हाम्लेजस्तो काम अहिलेकाले गर्नै छोडे’, उनले भनिन्, ‘मैले पहिले महिनामा दुईदेखि चार वटासम्म बख्खु बुन्ने गर्थे। अहिले प्रयोग कम हुँदै गएपछि मैले बुन्न पनि छोडेँ।’

रौँबाट बन्ने कपडा नेपालमाभन्दा विदेशमा बढी माग हुने गरेको उनको भनाइ छ। ‘पछिल्लो समयमा भेडापालन गर्नेको सङ्ख्यासमेत घट्दै गएपछि ऊनको आपूर्ति नहुने हुँदा कम मात्रै उत्पादन हुने गरेको छ’ उनी भन्छन्, ‘काम्लो, हापदुलाको माग अहिले नेपालमा निकै कम छ तर विदेशमा निकै बढी छ, मूल्य पनि राम्रो मिल्ने गर्छ, अहिले गाउँमा भेडा पाल्ने पनि घटे त्यही भएर ऊनको व्यवस्थापन गर्न पनि गाह्रो हुँदै आएको छ।’

पहिले एक जनाले कम्तीमा २०० देखि ४०० सम्म भेडा पाल्ने गरेकामा अहिले गाउँका केही व्यक्तिले पाल्ने गरेको फूलकुमारीले बताइन्। ‘उतिबेला गाउँका धेरै मान्छेले भेडाबाख्रा पाल्थे‘, उनले भनिन्, ‘एउटा व्यक्तिले कम्तीमा दुई सयदेखि चार सय भेडा पाल्थ्यो। कपडा पनि बनाउने, मासुका लागि पनि बेच्ने गर्थे, अहिले त मासु खानका लागि मात्रै थोरै पाल्ने गर्छन्। पछिपछि त भेडापालन गर्ने मान्छे भेट्टाउनै मुस्किल पर्ने छ।’

ऊनबाट बुनेको कपडाको मूल्य न्यूनतम सात हजारदेखि ५० हजारसम्म पर्ने स्थानीयवासी बताउँछन्। न्यानो र पानीसमेत छेक्ने हुँदा यसको माग बढ्ने गरेको निसीखोला गाउँपालिका– ५ की पुतली विक बताउँछिन्। पछिल्लो समय ऊनका कपडाको उत्पादन कम हुँदै गएकाले माग घटेको र आधुनिक प्रविधिका बजारमा आउने आयातीत कपडाले गर्दा ऊनका कपडा ओझेलमा परेको उनले बताए।

स्थानीयस्तरमा भएका सीप पहिचान गरी गाउँपालिकाले नयाँ पुस्तालाई सिकाउन सके वर्षौंसम्म ऊनका कपडा उत्पादन हुने र स्थानीयवासीले पनि  राम्रो आम्दानी गर्न सक्ने उनी बताउँँछिन्। स्वदेशमा बढीमा ३० हजार रुपैयाँसम्म पर्ने ऊनको कपडालाई विदेशमा रु ५० हजारदेखि एक लाखसम्मपर्ने उनको भनाइ छ। ‘ऊनको कपडाको मूल्य निकै बढेको छ। स्वदेशमा भन्दा विदेशमा यसको माग पनि बढी भएकाले न्यून आय भएकालाई गाउँपालिकाले यो सिप सिकाएर आयआर्जनको बाटोमा लगाउनु पर्छ’, उनले भनिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.