झापामा माओवादी र एमालेबीच नै लडाइँ हुनुपर्थ्यो : तामाङ
झापामा माओवादी र एमालेबीच नै लडाइँ हुनुपर्थ्यो : तामाङ
काठमाडौं : माओवादी निकट अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङ मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्यका आकांक्षी थिए। नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यसमेत रहेका तामाङ झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रतिस्पर्धी बन्न चाहन्थे।
उनले सार्वजनिक रूपमै पार्टीले आफूलाई उम्मेदवार बनाउने सहमति दिएको दाबी गर्दै भनेका थिए, ‘हाम्रो क्षेत्रले नयाँ नेतृत्व खोजेको छ। ओली राजनीतिक यात्रामा अनुभवी नेता भए पनि सधैं एउटै व्यक्तिको उपस्थितिले नयाँपनको आभास दिएको छैन। यो क्षेत्रमा युवाले नेतृत्व पाउनुपर्छ भन्ने छ।’
युवाहरूको भावना सम्बोधन गर्ने मुद्दाहरू उठाएको भन्दै उनले आफू विजयी हुने आँकलन समेत गरेका थिए तर अन्तिममा उनले टिकट पाएनन्।
उक्त क्षेत्रमा गठबन्धन कांग्रेसका नेता खगेन्द्र अधिकारीले टिकट पाए। विद्यार्थी राजनीतिबाट चर्चा कमाएका तामाङले ओलीसँग प्रतिस्पर्धा गर्ने भनेपछि थप चर्चित भए।
यसैगरी अर्का विद्यार्थी नेता सुदेश पराजुली पनि संघीय सांसदका आकांक्षी थिए। पराजुली एकीकृत समाजवादीको भ्रातृ संगठन अनेरास्ववियूका अध्यक्ष समेत हुन्।
एकीकृत समाजवादीले काठमाडौं क्षेत्र नम्बर ५ बाट संघीय सांसदको उम्मेदवारमा सुदेश पराजुलीको नाम सिफारिस गरेको थियो। उनी सोही क्षेत्रका एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग प्रतिस्पर्धा गर्ने तयारीमा थिए। पार्टीले सिफारिस गरे पनि अन्तिममा पराजुलीलाई टिकट दिइएन। बरु कांग्रेसका नेता प्रदीप पौडेललाई दिइयो।
झापामा माओवादी र एमालेकै लडाइँ थियो : तामाङ
तामाङ झापाको ५ नम्बर क्षेत्रमा टिकट कांग्रेसलाई दिने निर्णय वस्तुवादी र राजनीतिक हिसाबले तर्कसंगत नभएको बताउँछन्। उनका अनुसार यसअघि कांग्रेसले झापामा उम्मेदवारी दिन चाहेको थिएन। माओवादी केन्द्रले लेओस् भन्ने थियो।
‘त्यही भएर पार्टीकै सल्लाह सुझावअनुसार मलाई उम्मेदवारी बनाउने भएपछि चुनावी प्रचारप्रसारमा लागेको थिएँ,भोट पनि मागेँ। गठबन्धनका नेताहरूसँग पनि कुरा भएको थियो, समर्थन थियो तर अन्तिममा आउँदा कांग्रेसको हातमा टिकट पर्याे’‚ उनले भने। यो निर्णयले राजनीतिमा युवा पुस्ता आउनुपर्छ भन्ने बहस बढे पनि पार्टीले ल्याउन नचाहेको देखिएको उनको भनाइ छ।
‘पटक पटकको संसद् विघटनको प्रतिगामी कदमविरुद्ध यो गठबन्धन तयार भएको हो’‚ उनले भने, ‘त्यस आधारमा केपी ओली प्रतिगमनका नाइके हुन्, उनी संसद्मा छिर्नु भनेको फेरि पनि संसद् विघटन लगायतका प्रतिगमनका कदम चाल्छन् भन्ने व्याख्या पार्टीले गरेको थियो तर अप्रत्यक्ष रूपमा तालमेल भयो। यसरी उनलाई संसद्मा छिर्न सहज बनाइदिएको जस्तो लाग्छ।’
उनले ओलीविरुद्ध को लड्ने? भन्नेमा पार्टीका नेताहरूले गलत योजना र निर्णय तयार गरेको बताए। कांग्रेसलाई टिकट दिइएकोमा असन्तुष्टि जनाउँदै उनले थपे, ‘झापा क्षेत्र नम्बर ५ मा माओवादीले नै लिनुपर्ने थियो किनभने अहिलेको गठबन्धनमा को कम्युनिष्ट ? को समाजवादी ?, को अग्रगामी? पश्चगामी? भन्ने विवाद भए पनि खासगरी एमाले र माओवादीकै लडाइँ हो। यसमा एमालेविरुद्ध उभिनुपर्ने थियो तर भएन।’
उनले उक्त क्षेत्रमा अब युवाको आवश्यक रहेको भनी सबैले साथ सहयोग दिएको पनि बताए। ‘अब त नेतृत्व गर्न सक्छु, आकांक्षी बन्दा झापाका युवा साथीहरूले एकपटक युवा आउनुपर्छ भन्नुभएको थियो। झापाकै स्थानीय बासिन्दा भएकाले यहाँ केही गर्छु भन्ने सोच थियो तर उम्मेदवारी नै दिन पाइनँ’‚ उनले गुनासो गरे।
‘पार्टीले युवा चाहेन’
एकीकृत समाजवादी निकट संगठन अनेरास्ववियूका अध्यक्ष पराजुली पार्टीले युवा पुस्ता नचाहेको बताए। अबको राजनीति यात्रामा युवाहरूलाई अघि सार्ने भन्ने बहस भए पनि पार्टीको इच्छा त्यस्तो नरहेको उनको भनाइ छ।
‘मलाई पहिला सिफारिस गरियो। पछि उक्त क्षेत्रमा कांग्रेसका प्रदीप पौडेललाई टिकट दिइयो। पार्टीले युवा ल्याउन चाहेन, ठिकै छ’‚ उनले भने।
तपाईंको ईमेल गोप्य राखिनेछ ।