|

सुर्खेत : जाजरकोट विगत पाँच वर्षमा राष्ट्रिय सडक सञ्जाल, स्वास्थ्य संस्था र विद्युतीकरण लगायत विकासको मूलधारमा आएको छ।

जिल्लामा निर्माणाधीन संरचनाले पाँच वर्षमा जाजरकोटको मुहार फेरिने नागरिक समाजका अगुवा राजेन्द्रविक्रम शाहले बताए। जटिल भूगोलका साथै राज्यको ध्यान नपुग्दा यहाँका बासिन्दाले सास्ती भोग्दै आएका थिए।

नलगाड जलविद्युत् आयोजना ४१७ मेगावाट, ७ मेगावाटको ताक्सुगाड जलविद्युत् आयोजना, भेरी करिडोर, लुम्बिनी–रारा सडक, जाजरकोट–जुम्ला सुरुङ लगायतका आयोजनाले जाजरकोटमा विकासको सम्भावना बढाएको छ।

कर्णाली प्रदेशकै दोस्रो ठूलो ५० शय्याको जिल्ला अस्पताल जाजरकोटमै निर्माण हुँदै छ। कर्णालीको जडिबुटीलाई प्रशोधन गर्न जाजरकोटको कालेगाउँमा प्रशोधन केन्द्र निर्माण हुँदै छ।

जिल्लामै प्राविधिक शिक्षाका कार्यक्रम शुरु भएसँगै स्थानीय र छिमेकी जिल्लाका विद्यार्थी पनि लाभान्वित भएका छन्।

मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोट खण्डको ८२ किलोमिटर सडकको ३० किलोमिटर भन्दा कम मात्र पिच गर्न बाँकी रहेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यान्वयन एकाइले जानकारी दिएको छ। कस्तूरीको प्रजनन केन्द्र स्थापना गर्न बारेकोट गाउँपालिकाको सक्लामा काम भइरहेको छ।

शक्तिबहादुर बस्नेत वन तथा वातावरणमन्त्री हुँदा जिल्लामा शुरु गरिएका विकास निर्माणले नतिजा देखाएको समाजसेवी तथा कांग्रेसका केन्द्रीय सदस्य राजीवविक्रम शाहले बताए।

सुर्खेतको राकममा रहेको भेरी करिडोरको सडक जाजरकोट सदरमुकाममा जोडिएको थियो। हाल उक्त सडक पिच गरिँदै छ। भेरी नदीमा १३ वटा पुल बनाइँदै छ। अहिले जाजरकोट जिल्लामा आन्तरिक छोटा, लामा सडक पिच गर्न १४ अर्बभन्दा बढी बजेट विनियोजन भई काम शुरु भएको सडक डिभिजन चौरजहारीले जनाएको छ।

समयमै काम हुने हो भने जाजरकोट अबको पाँच वर्षमा सबै ठाउँमा पिच हुने डिभिजन चौरजहारीका इन्जिनियर सुरेश बस्यालले बताए। पछिल्लो समयमा राजनीतिक पहुँचका साथै कर्मचारीतन्त्रमा पनि राम्रो पकड भएकै कारण विकास निर्माणले फड्को मारेको इन्जिनियर निरज शाहले बताए। 

जाजरकोटमा यो वर्ष २७ वटा नयाँ टेलिफोन टावर निर्माण हुँदै गरेको नेपाल टेलिकम जाजरकोटका प्रमुख गोविन्द्र अधिकारीले बताए।

६ ठाउँमा केन्द्रीय प्रशारण लाइनका सबस्टेशन र ४०० केभी प्रशारण लाइनको सबस्टेशन समेत जाजरकोटमै निर्माण भइरहेकाले पाँच वर्षमा धेरै विकास हुने नेताहरूको दाबी छ। 


सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.