|

सुर्खेत : देशका १०० उत्कृष्ट पर्यटकीय गन्तव्यमध्ये जाजरकोटको कुशे पनि समेटिएसँगै पूर्वाधारका निर्माण हुन थालेको छ।

कुशेपाटनबाट पश्चिम नेपालका अधिकांश हिमचुचुरा अवलोकनका साथै रारा र शे-फोक्सुण्डोसम्मको रुट कायम हुने भएपछि यहाँका स्थानीय खुशी भएका छन्। कुशे पाटन तथा हिमालमा जान ४ ठाउँबाट पदमार्ग निर्माणको काम शुरु गर्न लागिएको छ।

उत्तर पूर्वको कुशे र बारेकोटबाट, पश्चिमको जुनिचाँदे, टिकाचौरबाट पदमार्ग निर्माणको पहल भएको छ। पाटन तथा हिमालको माथिल्लो भागमा यात्रा गर्नका लागि अर्को पदमार्ग निर्माणको गुरुयोजना रहेको छ।

हाइअल्टिच्युडमा विभिन्न गतिविधि गर्न त्यहाँ पदमार्ग निर्माण गर्न लागिएको छ। जैविक विविधताको अवलोकनदेखि दृश्य अवलोकन, विभिन्न खेल खेल्न हाइअल्टिच्युडमै सडक निर्माणलाई पनि बढी प्राथमिकता दिएर काम गरिने पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले बताए।

विभिन्न विषयमा अध्ययन गर्ने अध्ययनका लागि वातावरण अनुकूलको व्यवस्थापन गर्न होटल व्यवस्थापनदेखि विभिन्न कामसमेत एकैसाथ शुरु हुने उनले बताए।

कुशे चाखुरेबाट फोक्सुण्डो जाने पदमार्गका साथै चौधारीबाट रारा जोड्ने अर्को पदमार्गका लागि आवश्यक बजेटका साथै कार्ययोजना तयार भएको छ। कुशेमुसे पाटनमा तथा हिमालमा ३४ वटा चर्चित पाटन तथा ताल तलैया रहेको कुशे गाउँपालिकाले आफ्नो वेबसाइटमा समेत जानकारी राखेको छ।

यही पाटनको बीचबाट जुम्ला जोड्ने सुरुङ मार्गको सम्भाव्यता अध्ययनसमेत भइरहेको छ। शे-फोक्सुण्डोदेखि रारासम्म जोडिएको यो उच्च भूभाग पश्चिम नेपालको सबै ठाउँ देख्न सकिने भएकाले उत्कृष्ट गन्तव्य बनाउन सकिनेमा सरोकारवाला निकाय सहमत छन्।

यही हिमालको हिउँ पग्लिएर नलगाड बग्ने गर्छ। नलगाडमा निर्माण हुन लागेको जलाशययुक्त नलगाड जलविद्युत आयोजनाको बाँधसमेत यहाँको पर्यटन प्रवर्द्धनका लागि सहयोगी बन्नेछ। भेरीमा हुने जलयात्रा समेत चर्चित रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.