|

धनकुटा :  मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा पूर्वमन्त्री, निवर्तमान सांसद र संविधानसभा सदस्यबीच चुनावी भिडन्त हुने देखिएको छ। निर्वाचनको चर्चा यतिबेला जिल्लाका चिया पसलदेखि शहर, गल्ली र ग्रामीण बस्तीसम्म पुगेको छ।

जसमा सबैभन्दा बढी ३ जनाको चर्चा हुने गरेको छ। प्रतिनिधीसभामा गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सम्पादन समिति सदस्य तथा पूर्व मन्त्री सुनिलबहादुर थापा, नेकपा एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान संसद राजेन्द्र राई, स्वतन्त्रबाट माओवादी केन्द्रबाट विद्रोह गरेका हेमराज भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष कुमार बहादुर थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका आराम कुमार लिम्बू, मंगोल नेशनल अर्गनाइजेशनका विश्वमित्र लावती र एकीकृत शक्ति नेपालका रमेश राई चुनावी मैदानमा छन्।

प्रतिनिधिसभाका लागि एउटा मुख्य प्रतिस्पर्धी तीन जना रहेको धेरैको आँकलन छ। सत्ता गठबन्धनबाट थापा, एमालेका राई र स्वतन्त्रका भण्डारीको चर्चा अलि बढी रहेको छ।

थापालाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको समर्थन छ भने राई एमालेका तर्फबाट मात्रै उमेदवार बनेका छन्। भण्डारी भने हालसम्म विवादमा नआएका र क्षमतावान भएका कारणले उनका समर्थक पनि धेरै रहेको बताइन्छ।

गएको प्रतिनिधीसभाको निर्वाचनमा पनि थापा र राई प्रतिस्पर्धामा थिए। त्यतिबेला माओवादी रहेका भण्डारी राई सघाउँदै गाउँगाउँसम्म मत माग्दै पुगेका थिए। १० हजार बढी मतले पराजित भएका थापा यसपटक बदला लिने दाउमा छन्। राईलाई भने एमालेको साख जोगाउन पनि जीत दोहोर्‍याउनुपर्ने दवाव छ। गत स्थानीय तहको निर्वाचनमा धनकुटा जिल्लाका ७ वटा स्थानीय तहका प्रमुखमा गठबन्धनले ४ र एमालेले ३ मा जीत हासिल गरेको थियो। त्यसकारण पनि एमालेलाई सहज नहुन सक्ने अनुमान धेरैको छ। २०७४ को स्थानीय तह निर्वाचनमा एमाले सबै स्थानीय तहका प्रमुख उपप्रमुख जितेको थियो।

एमालेपछि जिल्लामा बलियो शक्ति कांग्रेससँग अन्य दलको सहकार्यका कारण पनि राई केही कमजोर हुन सक्ने आँकलन गर्न थालिएको छ। अझ एमाले विभाजनले पनि केही समस्या हुनसक्ने बताइएको छ।

गएको स्थानीय निर्वाचनमा गठबन्धनले ३७ हजार ६ सय ८२ र गठबन्धनले ३६ हजार ३५ मत ल्याउँदा गठबन्धनको पल्ला भारि देखिएपनि अहिले गठबन्धनमा जनता समाजवादी पार्टी नहुँदा गठबन्धनको मत घट्न सक्ने देखिन्छ भने एमालेको टिकट वितरण असन्तुष्ट रहेका कारण मत यकिन गर्न समस्या रहेको छ। अझ स्वतन्त्र उम्मेदवार भण्डारीले सबैको सहानुभूतिम त पाउने चर्चा चलिरहँदा नतिजा पूर्वानुमान गर्न कठिन छ।

थापा र राई र भण्डारी धनकुटाका चर्चित अनुहार हुन्। असोज २३ मा गते उम्मेदवारी दर्ता गरेपछि अहिले आ आफ्नो पक्षमा मत बटुल्न घरदैलो कार्यक्रममा व्यस्त छन्। उमेदवारहरूले आफू विजयी भए धनकुटालाई विकासका कामलाई प्राथमिकता दिने घोषणा गर्दै हिँडिरहेका छन्। उनीहरुले आफूलाई भोट दिए सडक, खानेपानी, बिजुली, रोजगारमूलक कामको आश्वासन दिइरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.