|

पर्वत : पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्समा त्रिभुवन आर्मी क्लबले आइतबार दुई नयाँ कीर्तिमान कायम गरेको छ।

पोखरा रङ्गशालाको ट्र्याकमा बिहान भएको चार सय मिटर महिला हडल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन्। जयरानीले निर्धारित दुरी एक मिनेट चार दशमलव १३ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन्। यसअघि उनले ४४ औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा एक मिनेट सात दशमलव दुई सेकेन्डको कीर्तिमान बनाएकी थिइन्।

महिला हडल्मा यस स्पर्धामा एपिएफकी भागीरथी थारुले एक मिनेट छ दशमलव छ सेकेन्डमा पूरा गर्दै रजत जितिन् भने  एपीएफकै कल्पना श्रेष्ठले एक मिनेट ६ दशमलव ५१ सेकेन्डमा उक्त दुरी पार गरिन्।

यस्तै एथलेटिक्स पुरुषतर्फ १० हजार मिटरमा आर्मीकै दीपक अधिकारीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जिते। दीपकले ३० मिनेट १० दशमलव ३० सेकेन्डमा निर्धारित दूरी पार गर्दै स्वर्ण जितेका हुन्। दीपकले एपीएफका गोपीचन्द्र पार्कीको कीर्तिमान तोड्दै आफ्नो नामका नयाँ कीर्तिमान खडा गरेका हुन्।

गोपीको नाममा ३० मिनेट ३० दशमलव ९९ सेकेन्डको कीर्तिमान थियो। गोपीले भने रजतमा चित्त बुझाए। उनले उक्त दुरी ३० मिनेट ३८ दशमलव ३० सेकेन्डमा पूरा गरे। आर्मीकै गजेन्द्र राईले कांस्य पदक जिते। उनले निर्धारित दुरी ३० मिनेट ४९ दशमलव ५० सेकेन्डमा पूरा गरेका थिए । 

महिला बास्केटबलमा बागमतीको जित

तनहुँमा जारी महिला बास्केटबल प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ।

आइतबार भएको खेलमा बागमतीले गण्डकीलाई ६७–४३ अङ्कको अन्तरमा पराजित गरेको हो। लिग चरणमा खेलाइएको प्रतियोगिताको पहिलो चरणमा बागमतीले २५–५ को फराकिलो अन्तर बनाएको थियो। यस्तै, बागमतीले दोस्रो चरणमा १३–८, तेस्रो चरणमा २०–१४ को अन्तर कायम गर्‍यो। चौथो चरणमा गण्डकीले १६–९ को अन्तर बनायो।

खेलमा गण्डकीकी सीमा गर्वुजाले सर्वाधिक १६ अङ्क जोडेकी थिइन्। यसअघिको खेलमा बागमतीले प्रदेश–१ लाई ७५–२४ को अन्तरमा जित हासिल गरेको थियो।

खोखोमा आर्मीको फ्लोअनजित

खोखो प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले विजय सुरुवात गरेको छ। पोखरा रङ्गशालास्थित ह्यान्डबल एकेडेमीमा आइतबारको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश १२–११ ले अङ्कले हराएको हो।

चार इनिङ्समा खेलाइएको खेलमा आर्मीले लगातार तीन इनिङ्समा जित निकालेपछि फलोअन जित सुनिश्चित गरेको हो। प्रत्येक इनिङ नौ मिनेट खेलिने भए पनि अन्तिम इनिङ नखेलेर आर्मी विजेता घोषित भएको रेफ्री यमबहादुर थापाले जानकारी दिए।.

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.