|

दैलेख : आगामी मंसिर ४ मा हुने आम निर्वाचनको मिति नजिकिएसँगै दैलेखका चोक चौतारामा चुनावी चर्चा चुलिन थालेको छ। एमाले र पाँचदलीय गठबन्धन दलबीच मुख्य प्रतिस्पर्धा देखिएको दैलेखमा जनमत आफ्नो पक्षमा पार्न राजनीतिक दलका नेताहरू गाउँ अभियानमा केन्द्रित छन्।

निर्वाचनको माहौल बढेसँगै चुनावी मैदानमा आएका उम्मेदवारमध्ये केही आफैँलाई मतदान गर्न नपाउने पनि रहेका छन्। दैलेख–१ प्रदेशसभा (ख) मा गठबन्धन दल काँग्रेसबाट प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा होमिएका कृष्णकुमार बिसी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभाका उम्मेदवार इन्द्र शर्माले आफूलाई नै मतदान गर्न नपाउने भएका हुन्।

काँग्रेसका बिसीको दैलेख क्षेत्र १ प्रदेशसभा (क) मा मतदाता नामावली रहेको छ भने स्वतन्त्र पार्टीका शर्माको कोहलपुर नगरपालिका–३ बाँकेमा मतदाता नामावली छ। बिसीले फरक भूगोलबाट प्रदेशसभा (ख) मा गठबन्धनबाट टिकट पाएपछि काँग्रेसभित्र हलचल मच्चिएको छ।

यहीँका काँग्रेसका जिल्ला पार्टी सभापति मणिराम रेग्मी लगायतका अब्बल नेतालाई पाखा लगाउँदै प्रदेशसभाका लागि टिकट ल्याएका बिसी काँग्रेसभित्र शेखर कोइराला खेमाका मानिन्छन्। बिसी दैलेख काँग्रेसका पूर्व पार्टी सभापति भएर लामो समय काम गरेका व्यक्ति हुन्।

०७४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा बिसी एमाले/माओवादी गठबन्धन दलका उम्मेदवार धर्मराज रेग्मीसँग आफ्नै क्षेत्र दैलेख–१ प्रदेशसभा (क) मा पराजित भएका थिए। अहिले पनि रेग्मीसँगै प्रतिस्पर्धा गर्नुपर्ने भएकाले बिसीले चुनाव क्षेत्र परिवर्तन गर्नुपरेको विश्लेषण गरिन्छ।

उनले फरक चुनाव क्षेत्रबाट टिकट पाएसँगै एमालेका उम्मेदवारले आफूलाई निर्वाचन जित्न सहज हुने दाबी गरेका छन्। उनीसँग एमालेका प्रेमबहादुर थापाले प्रतिस्पर्धा गर्नेछन्।

समन्वय समिति दैलेखका निवर्तमान प्रमुख थापा फरक चुनाव क्षेत्रबाट गठबन्धन दलका उम्मेदवारले टिकट पाउँदा आफूलाई सहज भएको दाबी गर्छन्।

एमालेभित्र राम्रो प्रभाव जनाउँदै आएका थापाले आफू ०३६ देखि जनताको पक्षमा काम गर्दै आएको बताए। उनले युवाहरूलाई स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न, दैलेखको समृद्धिका लागि निर्वाचनमा होमिएको बताए।

दैलेख क्षेत्र १ प्रदेशसभा (क) गुराँस गाउँपालिका–६ (साबिक) पिलाडी गाउँ विकास समिति–३ जोरेवाजमा मतदाता नामावली रहेका बिसीले फरक चुनाव क्षेत्रमा भए पनि आफू निर्वाचन जित्नेमा ढुक्क रहेको बताए। उनले २३ वर्ष यहीँ भूगोलमा काम गरेकाले मंसिर ४ को निर्वाचन सहज हुने दाबी गरे।

बिसीले चुनाव क्षेत्रभन्दा पनि जनताको हितमा काम गरेको नेता भएका कारण निर्वाचन जित्नेमा ढुक्क रहेको बताए। ‘म काँग्रेसबाट गठबन्धन दलको साझा उम्मेदवार हुँ, भूगोलभन्दा पनि जनताको हितमा काम गरेका नेताले चुनाव जित्ने हो’, बिसीले थाहाखबरसँग भने।

उनले आफूले क्षेत्र परिवर्तन गरेर टिकट पाएपछि दैलेख काँग्रेसमा कुनै असन्तुष्टि नरहेको दाबी गरे। ‘काँग्रेस जस्तो विशाल पार्टीमा केही मतभेद हुने नराम्रो हैन, हामी एक जुट छौं, भ्रम फैलाउने प्रतिपक्षको काम हो’, उनले भने।

बिसीले चुनाव क्षेत्र सबैको साझा भएकाले जनताको पक्षमा गरेको कामले मतदातामा प्रभाव पर्ने बताए। उनले स्वतन्त्र उम्मेदवारी दिएका टेकबहादुर खाँण एकीकृत समाजवादी पार्टीका आधिकारिक उम्मेदवार नभएको बताए।

समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा दैलेख इन्चार्ज खाँणले दैलेख–१ अन्तर्गत प्रदेशसभा (ख) मा गठबन्धन दल काँग्रेसका कृष्णकुमार बिसीविरुद्ध ‘बागी’ उम्मेदवारी दिएका छन्।

‘पार्टीले घोर अपमान गर्‍यो’ 

नेपाली काँग्रेस दैलेखका सभापति मणिराम रेग्मीले फरक चुनाव क्षेत्रका नेतालाई टिकट दिनु प्रदेश (ख) का नेताको पार्टी नेतृत्वले ‘घोर’ अपमान गरेको बताए। उनले क्षेत्र १ प्रदेशसभा (ख) बाट प्रदेशसभा सदस्यका लागि ६ जना नेताको नाम सिफारिश हुँदासमेत पार्टीले अर्को क्षेत्रका नेतालाई टिकट दिएको बताए।

नेपाली काँग्रेसबाट दैलेख–१ अन्तर्गत प्रदेशसभा (ख) का लागि खेमराज केसी, झलक भण्डारी, टेकबहादुर कटुवाल, मनोज थापा, वासना थापा र याम मल्ल गरी ६ जनाको नाम पार्टीबाट सर्वसम्मतिले टिकटका लागि सिफारिश गरेको सभापति रेग्मीको भनाई छ।

रेग्मीले प्रतिनिधिसभा सदस्यका लागि आफ्नो नाम सिफारिश भए पनि प्रदेशमा निर्वाचन लड्ने इच्छा रहेको बताए। ‘गठबन्धनको निर्णयअनुसार दैलेख–१ समाजवादीको भागमा पर्‍यो, काँग्रेसबाट सङ्घमा सिफारिश भएका म जस्ता नेताको प्रदेशमा लड्ने इच्छा थियो। पार्टीले फरक क्षेत्रबाट नेता ल्याएर टिकट दियो, यो अपमान हो’, उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.