|

दाङ : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्लामा चुनावी सरगर्मी बढेको छ। उम्मेदवारहरू मतदातालाई भेटेर आश्वासन दिन व्यस्त छन्।

जिल्लामा प्रतिनिधिसभातर्फ तीन र प्रदेशसभातर्फ ६ निर्वाचन क्षेत्र छन्। दाङमा योपटक सत्तारुढ दलहरूको गठबन्धन र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने भएको छ। निर्वाचनमा बहालवाला मन्त्री, पूर्वमन्त्री, पूर्व मुख्यमन्त्रीदेखि विगतमा एउटै दलमा रहेका सहकर्मीबीच प्रतिस्पर्धा हुन लागेको छ। यस्तै अर्को रोचक ३ निर्वाचन क्षेत्रमा ‘हेभीवेट’ पुरुष उम्मेदवारसँग महिला नेतृ चुनावी मैदानमा  छन्।

क्षेत्र नं. १ मा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा शहरी विकासमन्त्री मेटमणि चौधरी उम्मेदवार छन्। क्षेत्र नं. २ मा  एमालेका महासचिव एवं लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेल उठेका छन्। क्षेत्र नं. ३ मा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दीपक गिरी चुनावी मैदानमा उत्रिएका छन्।

निर्वाचन क्षेत्र नं. २ मा गठबन्धनले नेकपा माओवादी केन्द्रकी नेतृ तथा पूर्वमन्त्री रेखा शर्मालाई उम्मेदवार बनाएको छ। यता नेकपा एमालेले क्षेत्र नं. १ मा नेतृ शान्ता चौधरी र क्षेत्र  नं. ३ मा पूर्व राष्ट्रियसभा सदस्य कोमल वलीलाई उम्मेदवार बनाएको छ। यस्तै निर्वाचन क्षेत्र नं. १ मा पूर्वसांसद गंगा चौधरी (सत्गैया) पनि उम्मेदवार बनेकी छिन्। उनी हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बनेकी हुन्।

मेटमणिविरुद्ध शान्ता

निर्वाचन क्षेत्र नं. १ थारू बाहुल्य भएको क्षेत्र हो, जहाँ ठूला र अन्य पार्टीबाट गरी पाँचजना चौधरी उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। कुनै समय एउटै दलमा रहेर काम गरेका मेटमणि, शान्ता र गंगा एक अर्काबीच प्रतिस्पर्धामा उत्रिएको सन्दर्भ रोचक देखिएको छ।

संघीय सरकारमा मन्त्री रहेका मेटमणि २०७४ सालको निर्वाचनमा नेकपा एमालेका तर्फबाट यही क्षेत्रबाट विजयी भएका थिए। २०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा कांग्रेसकी सुशीला चौधरीलाई मन्त्री चौधरीले पराजित गरेका थिए। तत्कालीन एमालेका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य चौधरी पछिल्लो समय पार्टी विभाजन भएसँगै माधवकुमार नेपाल नेतृत्वको नेकपा ( एकीकृत समाजवादी) मा गएका हुन्।

यसैगरी कम्लहरी आन्दोलनबाट आएकी नेतृ शान्तालाई यसअघि एमालेले समानुपातिकबाट सांसद बनाएको थियो। अहिले उनी पूर्वसहकर्मी मेटमणि चौधरी र गंगासँग चुनावी प्रतिस्पर्धामा छिन्। पार्टीले टिकट नदिएपछि विद्रोह गरेर गंगाले शान्ताविरुद्ध बागी उम्मेदवारी दिएकी हुन्।

क्षेत्र नं. १ लुम्बिनी प्रदेशको स्थायी राजधानी पनि हो, जसमा लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिका पर्छन्। गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा माओवादी र कांग्रेसले दुई\दुई पालिका जितेका छन्। यस्तै निर्वाचन क्षेत्रमा भने घोराही उपमहानगरका १, २, ३ ५ वडा पनि पर्छन्। यो क्षेत्रमा एक लाख ३४ हजार ७३३ जना मतदाता छन्। यो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार सहित १२ जना छन्।

एमाले महासचिव पोख्रेलविरुद्ध माओवादी नेतृ शर्मा

क्षेत्र नं. २ मा गठबन्धन दलबाट नेकपा माओवादी केन्द्रले पूर्वमन्त्री रेखा शर्मालाई प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनाएको छ। पूर्वसभामुख कृष्णबहादुर महरा पछि हटेपछि रेखालाई पार्टीले उम्मेदवार बनाएको हो। उनी घोराही उपमहानगरपालिका १८ की हुन्।

यो निर्वाचन क्षेत्रमा बंगलाचुली गाउँपालिका र घोराही उपमहानगरपालिका पर्छन्, जसमा स्थानीय तह निर्वाचनमा घोराहीमा एमालेले जितेको थियो भने बंगलाचुलीमा माओवादी केन्द्र र नेपाली कांग्रेसले जितेका छन्। यहाँ सत्तारुढ गठबन्धन भएको थियो।

रेखा मन्त्री हुँदा वा राजनीतिक रूपमा पनि कुनै पनि विवादमा नमुछिएकी नेतृ हुन्। त्यसैले अहिले गठबन्धनकी उम्मेदवार भएकाले उनले त्यसको लाभ उठाउन सक्छिन्। यो नेपाली कांग्रेसको बलियो पकड भएको क्षेत्र समेत हो। त्यसैले उनलाई थप फाइदा हुन सक्छ। २०७० सालमा संविधानसभामा समानुपातिकबाट सांसद बनेकी थिइन्।

उनले २०७२ सालमा सामान्य प्रशासनमन्त्री भएका शर्मा संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य समेत भएर काम गरिन्। त्यसपछि उनी २०७४ सालमा पुनः समानुपातिकबाट सांसद बनेकी थिइन्। पोखरेलले २०५१ सालमा दाङ २ बाट निर्वाचन जितेर पहिलोपटक सांसद भएका थिए। त्यसपछि उनी २०५६ सालमा उनी क्षेत्र २ बाट कांग्रेसका कृष्णकिशोर घिमिरेसँग पराजित हुँदा २०६४ सालमा संविधानसभा निर्वाचनमा उनी समानुपातिकबाट सांसद बने।

२०७० सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा क्षेत्र नम्बर ४ बाट कांग्रेसका नेता बुद्धिराम भण्डारीसँग पराजित भएका थिए। २०७४ सालको निर्वाचनमा शंकर वाम गठबन्धनको तर्फबाट निर्वाचन क्षेत्र २ को (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। त्यसपछि उनी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बने।  पोखरेलले कांग्रेसका कमलकिशोर घिमिरेलाई ९ हजार मत अन्तरले हराउँदै निर्वाचित भएका थिए।

त्यो वेला क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनकै कृष्णबहादुर महरा निर्वाचित भएका थिए। पोखरेलको गृहनगर तुलसीपुर उपमहानगरपालिका हो तर उनको त्यो ठाउँ पनि निर्वाचन क्षेत्र २ पर्छ। उनकै पहलमा र उनी मुख्यमन्त्री हुँदा लुम्बिनी प्रदेशको स्थायी राजधानी रूपन्देहीबाट दाङ सार्न भूमिका खेलेको जस उनैलाई छ। त्यसैलाई उनले भोट तान्ने प्रमुख अस्त्रको रूपमा प्रयोग गर्ने देखिन्छ।

गत वैशाख १० मा भएको स्थानीय निर्वाचनको परिणामका कारण पनि उत्साहित छन्। गठबन्धन दलका उम्मेदवारलाई हराउँदै घोराही उपमहानगरपालिकासहित बहुमत वडाध्यक्षमा एमालेले जित निकालेको थियो। रेखा र एमाले महासचिव पोखरेलबीच रोचक प्रतिस्पर्धा हुनेछ।

यो निर्वाचन क्षेत्रमा बंगलाचुली गाउँपालिका, घोराही उपमहानगरका १५ वटा वडा र तुलसीपुर उपमहानगरका १६, १७, १८ र १९ वडा पर्छन्। जहाँ १ लाख ३३ हजार ७४८ मतदाता छन्। यो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको लागि ३ जना स्वतन्त्र उम्मेदवार सहित १५ जना चुनावी मैदानमा रहेका छन्।

दीपक भर्सेस कोमल

निर्वाचन क्षेत्र नं. ३ जहाँ तुलसीपुर उपमहानगरका १५ वटा वडासहित दंगीशरण गाउँपालिका, शान्तिनगर र बबई गाउँपालिका पर्छन्। यो निर्वाचन क्षेत्रमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसिँचाइमन्त्री दीपक गिरी र नेकपा एमालेबाट पूर्व राष्ट्रियसभा सदस्य नेतृ कोमल वली प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेर चुनावी मैदानमा छन्। वली २०७४ सालको निर्वाचनताका राप्रपा छोडेर एमाले प्रवेश गरेकी हुन्।

पार्टीले समानुपातिक सांसद बनाएपछि कोमल यो बीचमा राष्ट्रियसभा सदस्यसमेत बनेकी थिइन्। तुलसीपुर-८ टिकरीकी वली कला क्षेत्रबाट उदाएकी नेतृ हुन्। गायिका हुँदै रेडियो नेपालमा लामो समय समाचारवाचिकाको रूपमा काम गरेकी उनले राप्रपाबाट राजनीतिक यात्रा शुरु गरेकी थिइन्।

उनका प्रमुख प्रतिस्पर्धी कांग्रेसका केन्द्रीय सदस्य गिरी हुन्। गिरी चौथोपटक संसद् यात्राका लागि प्रतिस्पर्धा गर्दैछन्। उनी यसअघि २०७४ मा तत्कालीन एमालेका हीराचन्द्र केसीसँग पराजित भएका थिए। २०७० मा निर्वाचित हुँदै सिँचाइमन्त्री बनेका गिरी २०६४ मा क्षेत्र नं. ५ बाट पराजित भएका थिए।

यो क्षेत्रमा स्थानीय तहको निर्वाचनमा तुलसीपुर उपमहानगरपालिका मात्र एमालेले जितेको छ भने शान्तिनगर, बबई र दंगीशरण गाउँपालिकामा कांग्रेसले जितेको छ। तीनवटा पालिकामा कांग्रेसले जितेका कारण र गठबन्धनका साझा उम्मेदवार भएका कारण पनि गिरी चुनाव जित्नेमा ढुक्क देखिन्छन्।

यसैगरी वली तुलसीपुर उपमहानगरपालिकामा गठबन्धन हुँदा पनि स्थानीय तहको निर्वाचनमा एमालेले जितेकोमा अझ चुनाव जित्नेमा ढुक्क जस्तो देखिन्छिन् तर वलीलाई यहाँ सोचे जस्तै सहज भने छैन। यो निर्वाचन क्षेत्रमा एक लाख ४६ हजार ४७५ मतदाता रहेका छन्।

यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि ६ जना स्वतन्त्र सहित १६ उम्मेदवार चुनावी मैदानमा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.