|

बागलुङ : बागलुङ बजारको चोक चोकमा अहिले आइटिएफ तेक्वान्दोका देशभरकै खेलाडी भेटिन्छन्। बागलुङ बजारका होटल तथा रेष्टुराँमा खेलाडीकै चहल पहल बढी छ। बागलुङ बजार क्षेत्रका धार्मिक पर्यटकीय क्षेत्रमा समेत अधिकांश आइटिएफ तेक्वान्दोका खेलाडी देखिन्छन्। बागलुङ बजारको बाङ्गेचौर खेलमैदानमा आइटिएफका खेलाडी र दर्शकको चाप छ।

बागलुङमा शनिबारदेखि जारी नवौं राष्ट्रिय खेलकुद अन्र्तगत आइटिएफ तेक्वान्दो प्रतियोगिताले बागलुङ बजारलाई गुल्जार बनाएको छ। अहिले बागलुङ बजारको चोक चोकमा आइटिएफका व्यानरहरू छन् भने बाङ्गेचौर खेलमैदान झकिझकाउ बनेको छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताले बागलुङ बजार आइटिएफमय बनेको छ। आइटिएफको उर्भरभूमी बागलुङमा नवौं राष्ट्रिय खेल आयोजना भइरहँदा खेलाडी तथा बागलुङवासीमा उत्साह छाएको आइटिएफ तेक्वान्दोका सचिव राजु खड्काले बताए।

‘बागलुङ बजार अहिले आइटिएफ मय भएको छ, अहिले बाङ्गेचौरमा कुम्भमेला नै लागेको छ, बागलुङ जिल्ला आइटिएफ तेक्वान्दोको उर्वर भुमि हो’, खड्काले भने, ‘बागलुङ जिल्लाले नवौं राष्ट्रिय खेल गण्डकी प्रदेश स्तरीय छनौट प्रतियोगितामा आइटिएफ तर्फ धेरै पदक जितेको समेत छ, अहिले बागलुङको पर्यटन पर्वद्धनसँगै व्यापार व्यवसाय समेत फस्टाएको छ।’

बागलुङ बजारको बाङ्गेचौर खेलमैदान स्थित तेक्वान्दो कभर्डहल र बाङ्गेचौर खेलमैदानमा आयोजना गरेको आइटिएफ तेक्वान्दो प्रतियोगितामा दर्शकको आकर्षण बढ्दो छ। दर्शकको माग पुरा गर्न प्रतियोगिताको स्थानीय आयोजक बागलुङ नगरपालिकाले कभर्डहलमा दर्शक राख्न समस्या भएपछि केही खेलहरू बागलुङको बाङ्गेचौर खेलमैदानमा समेत आयोजना गरेकाले दर्शकको आकर्षक बढेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगतको आइटिएफ तेक्वान्दोका मुख्य प्रशिक्षक अन्जु रावतले बताए।

शनिबार देखि दैनिक रुपमा आइटिएफ तेक्वान्दो खेल प्रतियोगिता हेर्नका लागि बाङ्गेचौर आउने गरेको खेलप्रेमी सन्तोष सिलवालले जानकारी दिए। ‘खेल प्रेमिहरूका लागि कुम्भमेला नै लागेको छ यहाँ, दैनिकरूपमा प्रतियोगिता हेर्न म सहित धेरै दर्शकहरू आउने गरेका छन्, अहिले यो प्रतियोगिता बागलुङमा हुनुले बागलुङको प्रतिष्ठा बढेको छ, अहिले बागलुङ आइटिएफ मय बनेको छ’, दर्शक सिलवालले भने, ‘बागलुङले ३५० बढी खेलाडी र पाहुनाहरूलाई व्यवस्थापन गरी यहाँ राख्न सफल भएको छ, यो बागलुङ आइटिएफको उर्वर भूमिमा राष्ट्रिय खेल हुँदा आटिएफका खेलाडीहरू उत्साहित भएका छन्।’

३५० भन्दा बढी खेलाडी र पाहुना कात्तिक ३ गते सम्म बागलुङमा रहने भएकाले बागलुङको व्यापार तथा पर्यटन व्यवसायमा सघाउ पुग्ने बागलुङ उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिए। मुख्यतया देशभरका आइटिएफ खेलाडीहरूले बागलुङ चिन्ने र बागलुङको विभिन्न पर्यटकीय स्थलको भ्रमण गर्ने गरेका छन्।

बागलुङमा आयोजना गरिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आइटिएफ तेक्वान्दो विधामा सात प्रदेश र तीन विभागीय समूहका २५० खेलाडीबीच प्रतिस्पर्धा भइरहेको छ।

नवौँ राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगितामा ७ प्रदेश, तीन विभागीय गरी १० टिमका २५० खेलाडी, ४५ रेफ्री तथा करिब ५० जना टिम कोच र अफिसियल तथा म्यानेजर सहभागी भएका छन्। बागलुङमा पहिलो पटक आयोजना हुन लागेको सो प्रतियोगितामा खेलाडीहरूले ४५ स्वर्ण  ४५ रजत र ३० कास्य गरी कूल १२० पदकका लागि प्रतिस्पर्धा भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.