शिक्षक नेता भन्छन् : सामान्य राजनीतिक कुरालाई ठूलो मुद्दा बनाउनु हुँदैन

|

काठमाडौँ : जिल्ला निर्वाचन कार्यालय पर्वतले असोज ३० गते जिल्लाको श्री बाल प्राथमिक विद्यालयका प्रधानाध्यापक छविलाल तिवारीले निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसार गरेपछि २४ घण्टे स्पष्टीकरण माग्यो। 

जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जारी गरेको विज्ञप्तिमा फलेवास नगरपालिका वडा नं ४ मा रहेको विद्यालयका शिक्षक तिवारीले मंसिर ४ गते हुने प्रदेशसभा सदस्य तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आचारसंहिता विपरीत आफ्नो फेसबुक पेजमा राजनीतिक दल तथा उम्मेदवारको पक्ष विपक्षमा प्रचार प्रसार सामग्री पोष्ट गरेका थिए।

उनले शेयर गरी भोट मागी चुनावी प्रचारप्रसार गरेको विज्ञप्तिमा उल्लेख छ। ‘निर्वाचन आचारसंहिता, २०७९ को दफा ४६ तथा निर्वाचन आयोग ऐनको दफा २३ अनुसार कारबाही किन गर्न नपर्ने हो, २४ घण्टाभित्र जिल्ला निर्वाचन कार्यालय पर्वतमार्फत जिल्ला आचारसंहिता अनुगमन समितिसमक्ष आफैँ उपस्थित भई लिखित स्पष्टीकरण पेश गर्न स्पष्टीकरण माग गरी कारबाही प्रक्रिया अगाडि बढाइएको व्यहोरा जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ। 

त्यसैगरी निर्वाचन आयोगले आचारसंहिता प्रतिकूल हुने गरी त्रिभुवन विश्वविद्यालय (त्रिवि)को जनस्वास्थ्य केन्द्रीय विभाग र चिकित्सा शिक्षाशास्त्र अध्ययन संस्थानलाई २४ घन्टाभित्र स्पष्टीकरण माग गर्‍याे। 

आयोगका अनुसार त्रिविले आयोगलाई जानकारी गराई विश्वविद्यालय सेवा आयोग र शिक्षक सेवा आयोगको नियमित रूपमा हुने पदपूर्तिसम्बन्धी कारबाही गर्न बाधा नहुने बाहेक नयाँ पद सिर्जना गर्ने, रिक्त पदपूर्ति गर्ने, भत्ता वृद्धि गर्ने लगायतका कुनै पनि आर्थिक सुविधा र पुरस्कार प्रदान गर्न नहुने आचारसंहितामा व्यवस्था छ।

आयोगले असोज ३१ गते यो व्यवस्थालाई स्मरण गराउँदै ती निकायले शुरु गरेको करार सेवामा पदपूर्ति प्रक्रिया नियमित प्रक्रिया हो होइन ? होइन भने प्रक्रियालाई रोक्नु नपर्ने आधार के छ ? भनी स्पष्टीकरण सोधेको छ। 

नजिकिदै गरेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पछिल्लाे समय शिक्षकहरूसमेत निर्वाचन आचारसंहिता विपरीत क्रियाकलाप गरिरहेका छन्। काठमाडौँ उपत्यकाभन्दा पनि बढी बाहिर जिल्लामा यस्तो गतिविधि भइरहेको छ। त्यसो त धमाधम आयोगले स्पष्टीकरण सोध्न थालेको छ। 

के गर्न पाउँदैनन् शिक्षक र कर्मचारीले ?

निर्वाचन आचारसंहिता, २०७९ (पहिलो संशोधन सहित)को दफा (१०) मा विद्यालय,महाविद्यालय वा विश्वविद्यालय तथा त्यसमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने आचरण छ। 

संहिताको दफा ‘क’मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचार गर्न नहुने व्यवस्था छ। दफा ‘ग’मा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सवारीसाधन, भवन वा अन्य सामग्री प्रयोग गर्न दिन, कार्यक्रम वा सभा वा सम्मेलन गर्न वा प्रचार गर्न नहुने उल्लेख छ।

त्यसैगरी दफा ‘ज’मा सामाजिक सञ्जालमा  कुनै राजनीतिक दल वा उम्मेदवारहरूको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारमा सामग्री पोष्ट वा शेयर गर्न नमिल्ने, मत माग्न नहुने व्यवस्था छ। आयोगको अनुमतिबिना शिक्षकलाई विदेश भ्रमणमा खटाउन खर्च दिन नपाइने उल्लेख छ।

‘सामान्य राजनीतिक कुरालाई ठूलो मुद्दा बनाउनु हुँदैन’

नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदी निर्वाचनलाई प्रभाव पार्ने गरी केही गतिविधि शिक्षकहरूबाट नभएको दाबी गरे। सामान्य राजनीतिक कुरालाई ठूलो मुद्दा  मानी स्पष्टीकरण सोध्नु जरुरी नरहेको उनले बताए।

उनले भने, ‘लोकतन्त्रमा सामान्य राजनीतिक कुरालाई सामान्य ठान्नुपर्छ, विचार व्यक्त गर्दा यसलाई ठूलो विषय बनाउनु हुँदैन। नभए केका लागि चाहिन्छ लोकतन्त्र, हामी हाम्रो मर्यादामा हामी छौँ। पेशागतरूपमा हामी निर्वाचनलाई प्रभाव पार्नेछैनौँ, साथीहरू सामान्य रूपमा गरेका राजनीतिक कुरालाई ठूलो मुद्दा बनाउनु हुँदैन।’

सामाजिक सञ्जालमा सामान्य प्रतिक्रिया व्यक्त गर्दा स्पष्टीकरण लिन नपर्ने उनले बताए। महासंघका अनुसार देशभर अहिले साढे ३ लाख शिक्षक छन्।

‘आचारसंहिता पालना गर्छौं र गराउँछौँ’

नेपाल विद्यार्थी कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी भने निर्वाचन आचारसंहिता आफू पूर्ण पालना गर्ने दाबी गर्छन्। अन्य कर्मचारीहरूलाई पनि पालना गर्न उनको आग्रह छ। उनले फेसबुकमा समेत ट्याग नगर्न आग्रह गरेका छन्। उनले भने, ‘कुनै पनि राजनीति दलका दलाललाई  प्रचार सहित ट्याग मलाई नगर्नु होला, सकेसम्म पूर्ण पालना गर्ने कोसिस गर्दछु।’

भोट दिने जनतालाई भने उम्मेदवारले पहिला कस्ता वाचा गरेको र कति पूरा गरे वा गरेन‚ यसको यकिन गरी सक्षम उम्मेदवारलाई भोट दिनुपर्ने उनको आग्रह छ। 

आयोगले भन्यो : आचारसंहिता विपरीत गतिविधि गर्नेलाई तुरुन्तै कारबाही

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता विपरीत शिक्षक होस् या अन्य कर्मचारीहरूले चुनावी प्रचारप्रसार गरे तुरुन्तै कारबाही गरिने चेतावनी दिए।

उनले भने, ‘विभिन्न ठाउँमा आचारसंहिताले उल्लेख गरेभन्दा बाहिरका गतिविधि हुन थालेको छ। यस्तो गर्नु गलत हो।’ उनका अनुसार राजनीतिक दललाई किन प्रचारप्रसार गर्न लगाइएको भन्दा हामीले गराएको होइन भनी राजनीतिक दलका नेताहरू पन्छिने गरेका छन्।

‘हामी दललाई किन यस्तो कार्य गरेको भनी स्पष्टीकरण सोध्छौँ। उनीहरूले होइन भनेपछि हामीले ती आधार नभएको मानी एक लाख जरिवानासम्म हुन्छ। हामीले शिक्षक, उम्मेदवार लगायतलाई पटक पटक सचेत गराएका छौँ। अब दण्डात्मक रूपमा हामी प्रस्तुत हुन्छौँ’‚ उनले भने।

उनका अनुसार आयोगले निर्वाचन आचारसंहिता विपरीत कार्य गर्ने कर्मचारी, प्राध्यापक, शिक्षक तथा अन्य सम्बद्ध व्यक्तिलाई प्रचलित कानुनबमोजिम तत्काल विभागीय कारबाही प्रारम्भ गर्न सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिएको छ। निर्देशन बमोजिम कारबाही नगर्ने कार्यालय प्रमुखहरूलाई निर्वाचन आयोग ऐन २०७३ बमोजिम आयोग सचिवालयले कारबाही गर्ने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.