'९ पटक मन्त्री बने, जनताको मन जित्‍ने केही काम गरेनन्'

|

हेटौंडा : पञ्चायत कालमा मकवानपुर जिल्लामा कमल थापा पञ्चायतको पर्याय थिए। त्यति बेलाका कम्युनिस्ट र कांग्रेसका कार्यकर्ताहरू उनीबाट भयभित थिए । तर, उनै थापा कहिले कांग्रेस त कहिले कम्युनिस्टबाट चुनाव चिह्न लिएर उम्मेदवार बनिरहेका छन्। ०७४ मा कांग्रेसको समर्थनमा आफ्नै चुनाव चिन्हमा उनी निर्वाचनमा थिए । तर, सफल हुन सकेनन् ।

उनी अहिले सूर्य चिह्नसहित एमालेको सहयोगमा चुनावी मैदानमा छन् । मकवानपुरमा पञ्चायतकालदेखि राजनीतिक इतिहास बनाएका थापा यतिबेला आफ्नो इतिहास,सिद्वान्त र अस्तित्वलाई पाखा लगाएर चुनाव जित्ने होडमा दौडिएका छन्।

हेटौंडामा ९ कक्षामा पढ्दा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको अध्यक्ष बनेर उनी विद्यार्थी कालबाटै राजनीतिमा होमिएका थिए। पूर्वराजा महेन्द्रका बफादार कर्णेल क्षेत्रबहादुरका सन्तान उनी २०३७ सालमै पञ्चायती संविधानको संशोधनका लागि गठन भएको मस्यौदा समितिको सदस्यसमेत बने। पछि २०४६ मा सञ्चार राज्यमन्त्री बनेका उनले पञ्चायतविरुद्धको आन्दोलत दबाउन तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह, राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदी, गृहराज्यमन्त्री नीरञ्जन थापासँग मिलेर आन्दोलनविरुद्ध चार खम्बा बनेर उभिएका थिए। 

एमाले कार्यकर्ताले आफूलाई स्विकार्न नसकिरहेको अवस्थामा उनीहरूलाई खुसी बनाउने कुनै कसर नछाडेका थापाले आफ्नै पार्टीको कार्यकर्तालाई भने ध्यान दिएका छैनन्। जसकारण पार्टीको पाँच पदाधीकारी केहिदिन अघि माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न पुगेका थिए।

प्रजातन्त्र पुनःस्थापनापछि भएको पहिलो आमनिर्वाचन २०४८ मा पराजित भएका थापाले २०५१ को मध्यावधि चुनावमा भने जित हात पारे। २०५१ यता हालसम्म ८ प्रधानमन्त्रीत्वकाल र २०६२ को पूर्वराजा ज्ञानेन्द्रको मन्त्रिमण्डलमा गरी ९ पटक मन्त्री बनिसकेका छन् उनी। तर, पटक–पटक विभिन्न मन्त्रालय सम्हालेका उनलाई जनताले अनुमोदन भने गरेका छैनन्।

गत मंसिरमा भएको राप्रपा महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि उनले पूर्वराजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरी आफूलाई हराएको आरोप लगाए । राप्रपा छाडेको घोषणा गरे । पुरानै राप्रपा नेपाल ब्युँताए । राजतन्त्रको मुद्दा पनि त्यागे ।

उनलाई लामो समय आफूसँगै राजनीति गरेका सहकर्मीले साथ छाडेका छन् । पार्टी, सिद्वान्त, नीति र आफ्नो अस्तित्व समेत त्याग्दै गएका थापालाई उनको सहकर्मीहरुले पनि त्यागेका छन्।

थापाले आफ्नो सिद्वान्त त्यागेकै कारण उनको पूर्वसहकर्मी दीपक बहादुर सिंह उनकै विपक्षमा चुनावी मैदानमा उभिएका छन्। कुनै समयमा सहोदर दाजुभाइभन्दा पनि नजिक रहेका उनीहरू थापाले राप्रपा त्यागेसँगै अलग भएका छन्। सिंह थापा उम्मेदवार रहेको क्षेत्रबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन्।

थापाविरुद्व उम्मेदवारी दिएपछि सिंहले भनेका थिए ‘मैले कसैलाई सम्मान गर्छु भने त्यो कमल दाइलाई मात्रै हो।’ आफूले  सबैभन्दा धेरै सम्मान गर्ने व्यक्तिको विरुद्वमा उभिनुको कारण विचार, सिद्वान्त, नीति र अस्तित्व रहेको उनको भनाइ थियो।

थापाले सबैकुरा त्यागेर सूर्य चिन्हबाट उठ्नु गलत भएको सिंहको टिप्पणी थियो। ‘कमल दाइप्रति प्रेम र सम्मान धेरै छ। मेरो अहिलेको लडाइँ व्यक्तिगत होइन राजनीतिक हो। उहाँले पार्टी, सिद्धान्त र नीति सबै त्याग्नुभयो। मैले त्याग्न सकिनँ’, उनले भने, ‘हुँदा हुँदा उहाँ एमाले बन्नुभयो। त्यसैले मैले सिद्वान्तको लडाइँ लड्न लागेको हो।’

कुनै पनि हालतमा चुनाव जित्ने ध्याउन्नमा रहेका कमल थापाले आफ्नो विगत र अस्तित्वलाई समेत बिर्सिँदा उनका निकटस्थहरू उनीबाट टाढा मात्रै भएका छैनन् उनको विरुद्वमा उभिएका समेत छन्।

उनका पुराना सहकर्मी सिंहसहित कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना प्रतिस्पर्धामा छिन् । गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनको परिणामलाई हेर्दा थापा एमालेसँगको गठबन्धनबाट उम्मेदवार बने पनि उनलाई चुनाव जित्न निकै मुस्किल पर्ने देखिन्छ ।

स्थानीय तहको निर्वाचनमा जिल्लाभर एउटा पनि उम्मेदवार नउठाएर थापाले एमालेलाई सहयोग गरेका थिए । थापाले कागजी रूपमा एमालेलाई सहयोग गरे पनि कार्यकर्ताले सिंहलाई मतदान गरेको आरोप एमालेको छ ।

थापाले भने राष्ट्रियता मिलेको कारण एमालेसँग तालमेल गरेको दाबी गर्दै आएका छन्। ‘मुलुकसामु राष्ट्रियता र लोकतन्त्रमाथि संकटको अवस्थामा राष्ट्रवादीहरू एक ठाउँमा रहनुपर्छ भन्ने मान्यताअनुरूप एमालेसँग सहकार्य गरेको हुँ’,उम्मेदवारी दर्तापछि उनले भने।

केही समययता मेरो राजनीतिक भविष्यलाई समाप्त पार्ने देशी–विदेशी षड्यन्त्रहरु भइरहेका छन्। विगतमा मैले राष्ट्रियताका पक्षमा लिएको अडानका कारणले मलाई राजनीतिक रुपमा समाप्त पार्न चाहने प्रयासहरुलाई परास्त गर्नुपर्ने आवश्यकता छ, जुन वास्तविकतालाई दृष्टिगत गर्दै मैले राष्ट्रवादी पार्टीको रुपमा पहिचान बनाएको नेकपा एमालेसँग सहकार्य गर्ने निर्णय गरेको हुँ’, थापाले आफ्नो फेसबुक पेजमा राखेको भिडियो सन्देशमा पनि भनेका छन्।

उनले आफ्नो पार्टी र विचार जोगाउनकै लागि नेकपा एमालेको चुनाव चिह्नबाट चुनाव लड्न लागेको दाबी गर्दै आएका छन्। तर,एमालेको चुनाव चिह्नबाट चुनाव लडेर यदि उनी निर्वाचित भइहाले भने पनि राप्रपा नेपालको दलीय अस्तित्व कसरी जोगिन्छ? भन्ने प्रश्न यतिबेला राप्रपा नेपालको कार्यकर्ताको मनमा उठेको छ।

थापा सूर्य चिह्नबाट निर्वाचित भएपछि निर्वाचन आयोगको आधिकारिक रेकर्डमा थापा एमालेकै सांसदको रुपमा रहन्छन्। त्यसो भएमा संसदमा उनले आफूले नेतृत्व गरेको दलको भाषा, विचार बोल्न र आफ्नो दलको प्रतिनिधित्व गर्न पाउँदैनन्।

यस्तो अवस्थामा उनले जनताका मुद्दा उठाउने स्थलमै पार्टीको प्रतिनिधित्व र विचार व्यक्त गर्न पाउने छैनन्। त्यसैले उनी निर्वाचित हुनु र नहुनुमा राप्रपा नेपालका कार्यकर्ताका लागि खासै अर्थ राख्दैन। उनी निर्वाचित हुँदा संसदमा ती कार्यकर्ताको विचार र भावनालाई भन्दा एमालेको विचार र भावनालाई नै उनले संसदमा प्रतिनिधित्व गर्नुपर्छ। उसो त राप्रपा नेपालका केन्द्रिय अध्यक्ष रहेका थापा यतिबेला पार्टीका अन्य उम्मेदवारको पक्षमा पनि उभिएका छैनन्। आफ्नो जीत सुनिश्चित गर्न एमालेसँग उनी मकवानपुरको हरेक कार्यक्रममा देखा परिरहेका छन्। 

पार्टी त्याग्नु, राजनीतिक जीवनभरिको सिद्वान्त त्याग्नु, पुराना सहकर्मीहरुको साथ छुट्नु, एमाले कार्यकर्ताले स्विकार्न नसक्नु र पूर्वसहकर्मी आफूविरुद्व चुनावी मैदानमा उत्रिनु थापालाई निर्वाचन जित्नको लागि ठूलो चुनौती रहको छ।

एमाले कार्यकर्ताले आफूलाई स्विकार्न नसकिरहेको अवस्थामा उनीहरूलाई खुसी बनाउने कुनै कसर नछाडेका थापाले आफ्नै पार्टीको कार्यकर्तालाई भने ध्यान दिएका छैनन्। जसकारण पार्टीको पाँच पदाधीकारी केहिदिन अघि माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न पुगेका थिए।

आठौंपटक चुनावी मैदानमा रहेका थापाले यो चुनाव आफ्नो जीवनको अन्तिम चुनाव बताउँदै आएका छन्। त्यसैले कुनै पनि हालतमा चुनाव जित्ने दाउमा उनले बलियो संगठन रहेको एमालेको चुनाव चिन्ह रोजे।

तर, सूर्य चिन्ह लिए पनि उम्मेदवारी दिन जाँदा थापाका साथमा एमालेका नेता तथा कार्यकर्ता थिएनन् । एमालेको प्रदेश र प्रतिनिधिसभाको अन्य उम्मेदवार एकैपटक उम्मेदवारी दिन गए पनि थापा भने एक्लै गएका थिए । सत्ता गठबन्धनबाट सबै उम्मेदवारसँगै एमालेसँगको गठबन्धनबाट उम्मेदवार बनेका थापा ‘सुटुक्क’ निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । वैधानिक रूपमा उनी एमालेका सांसद हुनेछन् । राजतन्त्र र हिन्दु धर्मको पक्षमा लामो समयदेखि राजनीति गर्दै आएका थापा सूर्य चुनाव चिह्न लिएर उम्मेदवार त बने तर आफ्नो क्षेत्रकै एमाले अगुवा कार्यकर्ता रिझाउन गाह्रो भइरहेको छ ।

अघिल्लोपटक कांग्रेसको सहयोगमा आफ्नै पार्टीको चुनाव चिह्न लिएर मैदानमा उत्रिएका थापा एमालेका उम्मेदवार कृष्ण दाहालसँग पराजित भएका थिए । एमालेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भएका उनले एमालेको पार्टी प्रवेश कार्यक्रममा अतिथि बन्दै सम्बोधनसमेत गर्न भ्याए ।

हाल घरदैलोमा गरिरहेका उनी एमालेको समर्थन पाउन सार्वजनिक रूपमा एमाले अध्यक्ष ओलीको प्रशंसा गरिरहेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्धका कारण उनले अन्तिम समयमा टिकट पाउन सफल भए । यसअघि पनि ०७४ को निर्वाचनमा राप्रपा हुँदा नै झापालगायत केही क्षेत्रमा एमालेसँग तालमेल गरे पनि थापाले भने मकवानपुरमा कांग्रेसको साथ रोजेका थिए ।

सोही समयमा नै एमालेको सहयोगमा मकवानपुर आउने प्रस्ताव ओलीले गरेको थापाको दाबी थियो । यद्यपि यो पटक भने ओलीले अन्तिम समयमा आएर थापालाई टिकट दिएका छन् ।

ओली पहिलोपटक प्रधानमन्त्री हुँदा परराष्ट्रमन्त्री बनेका थापाले भारतीय नाकाबन्दीको समयमा ओलीलाई डटेर साथ दिएका थिए । तर, थापालाई सूर्य चुनाव चिह्नबाट लड्दा पनि सहज भने देखिँदैन । पार्टीका पाका नेता तथा जिल्ला इन्चार्ज रामेश्वर रानाको टिकट खोसेर थापालाई दिइएको भन्दै एमाले कार्यकर्ता रुष्ट छन्।

प्रजातन्त्र पुनःस्थापनापछि भएको पहिलो आमनिर्वाचन ०४८ मा पराजित भएका थापा ०५१ को मध्यावधि चुनावमा भने विजयी भएका थिए । थापा ०५१ यता हालसम्म ८ प्रधानमन्त्रीत्वकाल र ०६२ को पूर्वराजा ज्ञानेन्द्रको मन्त्रिमण्डलमा गरी ९ पटक मन्त्री बनिसकेका छन्। ०४८ को निर्वाचनमा मकवानपुर–१ मा थापालाई एमालेका कृष्ण दाहालले पराजित गरेका थिए । दाहालसँग थापाले ०५१ को मध्यावधि चुनावमा त्यसको बदला लिए । ०५६ मा थापा मकवानपुर–१ मा दाहालसँग पराजित भए । त्यसबेला दाहालले २० हजार ४ सय ४२ मत पाउँदा थापाले १५ हजार नौसय ८५ मत प्राप्त गरेका थिए ।

०६४ को संविधानसभा निर्वाचनमा मकवानपुर–३ बाट उम्मेदवार बनेका थापा तेस्रो भए । ०७० को संविधानसभा निर्वाचनमा उनी प्रतिस्पर्धामा उत्रिएनन् । उनले आफ्नो श्रीमतीलाई मकवानपुर–१ बाट उम्मेदवार बनाएर आफू समानुपातिक उम्मेदवार बनेका थिए । समानुपातिकबाट सांसद बनेका उनी ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा तीनै प्रधानमन्त्रीका मन्त्रिमण्डलमा मन्त्री बने । ०७४ को प्रतिनिधिसभामा उनले मकवानपुर–१ मै फेरि उम्मेदवारी दिए ।

थापाका प्रतिस्पर्धी थिए, उनै तीन पटक प्रतिस्पर्धा गरेका दाहाल । तर उक्त निर्वाचनमा पनि थापा पराजित भए । कांग्रेस–राप्रपाको गठबन्धनलाई माओवादी–एमाले गठबन्धनका दाहालले थापालाई पराजित गरेका थिए।

उनलाई उक्त क्षेत्रमा पटक-पटक पराजित गर्न सफल भएका एमालेका नेता कृष्णप्रसाद दाहालले पार्टीको हाई कमान्डले गरेको निर्णयको फेसबुकमार्फत विरोध जनाएर काठमाडौंमा बसिरहेका छन्।

पार्टी त्याग्नु, राजनीतिक जीवनभरिको सिद्वान्त त्याग्नु, पुराना सहकर्मीहरुको साथ छुट्नु, एमाले कार्यकर्ताले स्विकार्न नसक्नु र पूर्वसहकर्मी आफूविरुद्व चुनावी मैदानमा उत्रिनु थापालाई निर्वाचन जित्नको लागि ठूलो चुनौती रहको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.