एमालेभन्दा गठबन्धन बलियो, दोङको जित कांग्रेसको भूमिकामा निर्भर !

|

काभ्रे : मंसिर ४ गतेको निर्वाचनका लागि मनोनयन दर्ता भएसँगै काभ्रेमा चुनावी माहोल ह्वात्तै बढेको छ। चियापसल, सार्वजनिक यातायात, पार्कदेखि मानिसको जमघट हुने हरेक ठाउँमा चुनावकै विषयमा कुराकानी हुने गरेको भेटिन्छ। अहिले चुनावी गफ नहुने ठाउँ छैन।

व्यापारीदेखि किसानसम्म कुन क्षेत्रमा कसको उम्मेदवारी?, कुन पार्टी र उम्मेदवार कस्तो? उनीहरूले विगतमा गरेका काम ?, चुनाव कसले जित्ला ? प्रश्नसहितका विषयमा पक्ष विपक्षमा चुनाव केन्द्रित कुराकानी भइरहेको सुनिन्छ।

यसैबीच काभ्रेको प्रतिनिधिसभा अर्थात् संघीय निर्वाचन क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धन दलबाट साझा उम्मेदवारका रूपमा नेकपा (माओवादी केन्द्र)का सूर्यमान दोङ (लालध्वज) र नेकपा एमालेकातर्फबाट पूर्व राज्यमन्त्री रेशम लामा प्रतिस्पर्धा गर्दै छन्। दोङ माओवादी पोलिटब्युरो सदस्य तथा पूर्व ऊर्जा राज्यमन्त्री हुन् भने र लामा नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व राज्यमन्त्री हुन्। 

यो निर्वाचन क्षेत्रमा यी दुई उम्मेदवारसँगै अन्य राजनीतिक दलका १० र स्वतन्त्र ५ गरी १७ जना उम्मेदवार चुनावी मैदानमा छन्। यो क्षेत्रमा मुख्य प्रतिस्पर्धा भने सत्ता गठबन्धन दल र एमालेबीच नै हुने देखिन्छ। आफूले अत्यधिक मत ल्याएर जित्ने दुवै उम्मेदवारको दाबी छ।

काभ्रे–१ मा नेता दोङ २०६२।०६३ को जनआन्दोलनपछि पुनःस्थापित प्रतिनिधिसभाको सदस्यमा चयन भएसँगै २०६४ सालमा सम्पन्न संविधानसभा सदस्य निर्वाचनमा २८ हजार ८ सय मत पाई विजयी भएका थिए।

२०७० को निर्वाचनमा पराजित उनले संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन–२०७४ मा पार्टीको उम्मेदवारलाई जिताउन  कुशल नेतृत्वको भूमिका निर्वाह गरेका थिए। तेस्रो पटक चुनावी भिडन्तमा रहेको दोङलाई काभ्रेमा समृद्धिको जग बसाल्ने नेताको रूपमा चिनिन्छ।

त्यस्तै राप्रपाबाट एमालेमा प्रवेश गरेसँगै पार्टीको केन्द्रीय सदस्य समेत भएका लामालाई काभ्रे–१ उम्मेदवारको टिकट दिएपछि चुनावमा जित सुनिश्चितताका लागि सक्रिय रूपमा होमिसकेका छन्। उनी सत्ता गठबन्धन दलका उम्मेदवारका लागि मुख्य प्रतिस्पर्धीका रूपमा चुनावी मैदानमा देखिएका छन्।

काभ्रे–१ मा विगतमा भन्दा यो पटक निकै प्रतिस्पर्धा हुने कतिपयको बुझाइ छ। भूगोलको हिसाबले भने उम्मेदवार दोङको अधिकांश क्षेत्र अर्का उम्मेदवार लामाको भन्दा बढी प्रभाव रहेको जानकारहरू बताउँछन्। त्यसैको फाइदा उम्मेदवार दोङले लिन सक्ने उनीहरूको अनुमान छ। 

कसको सम्भावना कति ?
काभ्रेमा सक्रिय ठूला दलमध्येका दुई दल कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धन दल एकातिर र एमाले एक्लै चुनावी मैदानमा छन्। अघिल्लो २०७४ सालको निर्वाचन र गत स्थानीय तहको निर्वाचनमा प्राप्त मत आधार हेर्दा एमाले काभ्रे–१ मा कमजोर देखिन्छ।

२०७४ मा सँगै मिलेर चुनाव लडेको दल माओवादी केन्द्र अहिले एमालेको विपक्षमा छ। यो क्षेत्र माओवादीको पकड क्षेत्रसमेत मानिन्छ। यो क्षेत्रबाट विगतको निर्वाचनमा गठबन्धन दल कांग्रेस र माओवादीका उम्मेदवारले जित्दै आएको छ। पछिल्ला तीन (०६४, ०७० र ०७४)को निर्वाचन र दुई स्थानीय निर्वाचनमा यी दुई दलकै उम्मेदवारले जितेका छन्।

त्यसैले योपटकको निर्वाचनमा गठबन्धन दलकै उम्मेदवारले विजय हुने निश्चितप्रायः देखिन्छ। २०७४ को निर्वाचन जस्तो अहिले एमालेमा बलियो जनाधार देखिँदैन। त्यस्तै गत स्थानीय तहको नतिजा हेर्ने हो भने स्थानीय सरकारमा एमालेको बलियो पकड पनि छैन। यो क्षेत्रमा गठबन्धन बलियो देखिन्छ।

एमालेभन्दा गठबन्धन बलियो, दोङको जित कांग्रेसको भूमिकामा भर
काभ्रे–१ मा जिल्लाभर १३५ वडामध्ये ६९ वडा पर्छन्। त्यसमा चौरीदेउराली गापा, महाभारत, खानीखोला, रोशी, तेमाल गापा र नमोबुद्ध नपाका सबै वडासँगै  बेथानचोक गापाको वडा नं. ६, पनौती नपाको वडा नं. ४ देखि १० सम्म र धुलिखेल नपाको वडा नं. ८–१२ सम्मको यस क्षेत्रमा पर्छ।

यो क्षेत्रमा पर्ने धुलिखेल बाहेक सबै स्थानीय तहमा गठबन्धन दलकै नेतृत्व छ। धुलिखेलमा पनि उपमेयर भने गठबन्धनकै छन्। यो क्षेत्रको १ लाख ५२ हजार ११४ मतदाताका लागि ९५ मतदानस्थल र १८९ मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ।

गत स्थानीय चुनावमा दलहरूले पाएको मत जोड्दा सत्ता गठबन्धन बलियो देखिन्छ। यो क्षेत्रबाट ०६४ मा माओवादी र ०७० मा कांग्रेसले एक्लै चुनाव जितेको थियो। यो दुवै निर्वाचनमा एमालेका उम्मेदवार पराजित भएका थिए। ०७४ मा एमाले र माओवादी तालमेल गरेर चुनाव लड्दा माओवादीको भागमा परेको थियो। 

माओवादीका उम्मेदवार दोङको जितका लागि कांग्रेसको मतको महत्व छ। यो चुनावमा कांग्रेसका तर्फबाटअन्तरघात हुने कुनै सम्भावना नरहेको जिल्ला सभापति तथा काभ्रे–१ ख का उम्मेदवार तीर्थ लामाको दावी छ।

कांग्रेसका जिल्ला सभापति लामा समेत सोही क्षेत्र प्रदेश ‘ख’ तर्फका उम्मेदवार भएपछि दोङलाई सहज भएको अर्काथरीको अनुमान छ। आफ्ना लागि यो क्षेत्र जित्न खासै चुनौतीपूर्ण नहुने दोङको पनि बुझाइ छ।

तर यो क्षेत्रबाट गठबन्धनको भारी मतको बाबजुत आफू विजय हुने एमालेका उम्मेदवार लामाको दाबी छ। एमालेका उम्मेदवार लामाले चुनाव जित्न एमालेको मात्रै मतले भने पुग्ने देखिदैन। उनले जित्नका लागि अन्य दलको मत लिनैपर्ने हुँदा सहज भने देखिँदैन। 

दोङ र लामामध्ये को विजयी हुन्छ भन्नलाई कांग्रेसको भूमिका निर्भर हुने देखिन्छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.