काठमाडाैं : प्रदीपले आफ्नो पहिलो फिल्म जात्रा १७ दिनमै लेखि सकाएका थिए। त्यति डिटेलमा काम भएको फिल्म मात्र १७ दिनमा लेखिएको भन्दा धेरैले अचम्म माने। प्रदीप आफैलाई पनि अचम्म लाग्यो। तर, त्यो सत्य थियो। पहिलाे दिन बक्स अफिसमा कमजोर देखिएकाे फिल्मले दोस्रो दिनदेखि राम्रो प्रदर्शन गर्दै गयो। जात्राले राम्रो मुनाफा कमाउँदै हलमा ५१ दिन मात्र मनाएन समीक्षकबाट तारिफ पनि पायो। जुन नेपाली फिल्ममा बिरलै देखिने कुरा हो।
पहिलो फिल्मबाट लेखक तथा निर्देशकको रुपमा स्थापित भएका प्रदीपका त्यसपछिका दुईवटा फिल्म 'सत्रु गते' र जात्राको सिक्वेल 'जात्रै जात्रा'ले पनि बक्स अफिसमा राम्राे कमाइ गरे। लगातार तीन वटा व्यवसायिक रुपमा सफल फिल्म दिएका प्रदीपको चौंथो फिल्म महापुरुष प्रदर्शनको तयारीमा छ।
तर, प्रदीपले जसरी यसअघिका फिल्म लेखे महापुरुष त्यति सजिलै लेखिएन।
जमाना कम्प्युटर र किबोर्डको आइसके पनि प्रदीपलाई भने फिल्म लेख्नको लागि कलम नै समाउनुपर्छ। उनलाई कलमको मसी कपीमा सरेर लेखिएका अक्षरमै आफू राम्रोसँग पोखिएँ जस्तो लाग्छ। लामो समयसम्म लेख्दा कलमले औँलामा बनाएको डाम देखाउँदै प्रदीप भन्छन्, ‘जात्रा मैले १७ दिनमै लेखेर सकाएको थिएँ। तर, महापुरुष लेख्न दुई वर्ष लाग्यो। ६० वटा डायरी भरिएपछि, ४० औँ ड्राफ्ट सकिएपछि फिल्म यो स्वरुपमा आएको हो।’
जात्रा त्यति कम समयमा कसरी लेखेँ र महापुरुष लेख्न यतिधेरै समय किन लाग्यो, यति धेरै ड्राफ्ट किन लेखियो भनेर उनले सोचे र एउटा निष्कर्षमा पनि पुगे। उनी भन्छन्, ‘जात्राका तीन वटै पात्रहरूको जीवन कुनै न कुनै खण्डमा म आफैले बाँचेको थिएँ। लेख्न लागेको समय त्यति मात्र थियो। तर, वर्षौँदेखि त्यो कथा म आफैले बाँच्दै आइरहेको रहेछु। महापुरुष मैले देखेको, महशुश गरेको कथा थियो। तर, मैले बाँचेको कथा थिएन। जसले गर्दा बढी समय लाग्यो।’
‘हिरो र भिलेन फर्मुलामा बनेका फिल्ममा हिरो हुन्छ, भिलेन हुन्छ। भिलेनले हिरोको लागि अवरोध खडा गर्छ द्वन्द्व हुन्छ। त्यहीँबाट फिल्म बन्छ। तर, महापुरुषमा कोही भिलेन छैन, कोही हिरो छैन। सबै पात्र ग्रे छन्। घरी बाबु हिरो, छोरा भिलेन जस्तो लाग्छ। घरी बाउ भिलेन, छोरा हिरो जस्तो लाग्छ। घरी दुवै भिलेन, घरी दुवै हिरो जस्ता लाग्छन्’,उनी सुनाउँछन्।
फिल्मको कथा वस्तुमा प्रवेश गरिसकेपछि अनुमान गरिएको भन्दा बढी गहिराई देखिएको र पिँधसम्म पुग्न गाह्रो भएको उनी जिकिर गर्छन्।
फिल्मको लिखित रुप त तयार भयो तर केन्द्रीय पात्र बाउमा कुन कलाकार राख्ने? भन्ने एउटा महत्वपूर्ण प्रश्न थियो। बाउ पात्रको लागि सुहाउने, पात्रकाे गहिराइसम्म पुग्न सक्ने, समाजलाई राम्रोसँग बुझेको, व्यवसायिक रुपमा पनि फिल्मलाई सफल अवतरण गराउन सक्ने क्षमता भएकाे एक मात्र कलाकार हरिवंश हुन् भन्नेमा प्रदीप पक्का थिए। त्यसका लागि दोहोर्याएर सोच्नु पनि परेको थिएन। अझ प्रदीपसँग उक्त पात्रको लागि हरिवंश नभएको खण्डमा को? भन्ने प्रश्नको उत्तर समेत थिएन।
तर, हरिवंशलाई नजिकबाट चिनेका प्रदीपलाई एउटै डर थियो। जुन पात्रको लागि हरिवंशलाई प्रस्ताव गरिँदै थियो उक्त पात्रले बाँचेको एक्लोपनले हरिवंश बाँचेको वास्तविक जीवनको सबैभन्दा अप्ठ्यारो खण्डलाई छुन्थ्यो। त्यसकै कारण उनको घाउ अझ बढी दुख्ने त होइन भनेर प्रदीपलाई डर जस्तो केही लागेको थियो।
हरिवंशलाई थाहा थियो, यदि त्याे फिल्म खेल्ने हाे भने त्यही दुखाइबाट बारम्बार गुज्रिनको लागि तयार हुनुपर्छ। हरिवंशकाे प्रदीप प्रति यति विश्वास थियो कि उनकाे मनमा त्यसरी आफै दुखेर गरेको काम पछि व्यर्थ हुने हाे कि? भन्ने शंका पनि थिएन।
यो एउटा बन्नैपर्ने फिल्म हो र फिल्म बनिसकेपछि यसले आफ्नो घाउको लागि मात्र होइन धेरैको घाउको लागि मलमको काम गर्नेछ भन्नेमा पनि उनी पक्का थिए। त्यसपछि हरिवंश दुख्नको लागि तयार भए।
फिल्मको छायांकनका क्रममा पनि आफ्नी श्रीमती मीराको याद आइरहेको उनी बताउँछन्। उनी भन्छन्, ‘फिल्मको छायांकन अवधिभर मलाई मीराको याद आइरहन्थ्यो। फिल्ममा त्यो पात्रको पुरानो फोटोको रुपमा मेरै फोटो प्रयोग भएको छ जसमा मीराको शरिरमा अनुहार अर्को राखिएको छ। तर, आफूलाई त त्यो थाहा हुन्छ। उनलाई सम्झने बित्तिकै आँखा रसाउँथ्यो। इमोसनल सिनको लागि त्यसले गर्दा फाइदा पनि भयो।’
हरिवंशका अहिलेसम्मका जति पनि चर्चित पात्र छन् ति सबै मान्छेलाई हँसाएका कारण चर्चित छन्। तर, उनले निभाउँदै आएका पात्र र महापुरुषमा निभाउनु पर्ने पात्रमा धेरै भिन्नता थियो। हाँस्यरसको पर्यायवाची बनेको मह जोडीका ‘ह’ अर्थात हरिवंशलाई यो रुपमा दर्शकले कसरी लिने हुन् भन्ने अर्को प्रश्न थियो। त्यसमाथी फिल्मको वर्कशप सुरु भएको केही दिन प्रदीपले खोजेको पात्र हरिवंशबाट निस्किरहेको थिएन।
‘प्रदीपले खोजेको पात्र मबाट ननिस्केपछि म वर्कशप बाहिर पनि काम गरिरहेको हुन्थेँ। मोबाइलमा भिडियो बनाएर डायलग भनिरहेको हुन्थेँ। आफूलाई पनि चित्त बुझिरहेको थिएन’, हरिवंश भन्छन्, ‘त्यसै गर्दा गर्दै प्रदीपले खोजेको पात्र भेटे। अनि मलाई पात्र यही हो, यसको ख्याल राख्नु। यसैलाई निरन्तरता दिनु भनेर प्रदीपले भने। मैले त्यसै गरेँ।’
छायांकनका क्रममा कतिपय सिनमा ठ्याक्कै खोजेको भाव नआउँदा धेरै वटा टेक पनि लिनुपर्यो। हरिवंशलाई पनि दोहोर्याएर टेक दिन झन्झट लागेन। उनकाे काम प्रतिको यो लगावले आफूलाई सँधै उर्जा दिने गरेकाे प्रदीप बताउँछन्। ‘यो उमेरमा पनि आफ्नो कामलाई लिएर, आफ्नो पात्रलाई लिएर हरि दाइ जस्तो जिज्ञासु हुनुहुन्छ त्यसले नै प्रष्ट पार्छ कि उहाँ कुन लेभलको एक्टर हो’, उनी भन्छन्, ‘सुट सकिसकेपछि पनि हरि दाइ घर गएर मलाई फोन गर्नुहुन्थ्यो। मैले गरेको मिलिरहेको छैन कि, त्यो सिनमा मैले अलि लाउड गरेँ कि, त्यसले गर्दा अर्कै अर्थ पो लाग्ने हो कि भनेर बारम्बार सोध्नुहुन्थ्यो। कुनै फिल्म या टेलिफिल्ममा काम गर्दा हरि दाइ यति जिज्ञासु भएको, सुटपछि पनि फोनमा कामकै कुरा गरेको मैले थाहा पाएको थिइनँ।’
विषय वस्तु गम्भिर भइकन पनि प्रदीपका फिल्म दर्शक हाँस्ने ठाउँ प्रसस्त हुन्छन्। विषय पहिलेका भन्दा फरक र गम्भिर भएर पनि महापुरुष उनको त्यही शैलीमा बनेको फिल्म हो। बिमार निको बनाउने भए पनि स्वादका कारण मान्छेले औषधी खाने वेलामा मुख बिगारे जस्तै फिल्म हेर्दा मुख पनि नबिग्रने र औषधीको काम पनि हुने भएकाले आफूलाई याे जनरामा काम गर्न मनपर्ने उनी बताउँछन्।
महापुरुष कुनै एउटा लिंग विशेषको कथा नभएर समाजमा वर्षौदेखि प्रचलित अव्यवहारिक तथा अहितकारी व्यवस्था भत्काउने सिर्जनात्मक प्रयास रहेको प्रदीप बताउँछन्। साथीकाे सबैभन्दा बढी आवश्यकता रहने उमेरका दुई पात्रकाे प्रेम, प्रेममा अवराेध खडा गर्न खाेज्ने समाज तथा सोही व्यवस्थामा जेलिएको युवापुस्ताको द्वन्द्व फिल्मको मुख्य विषयवस्तु रहेको उनको जिकिर छ।
तिहारको भोलिपल्टदेखि प्रदर्शनमा आउने फिल्मको दुई वटा गीत र ट्रेलर सार्वजनिक भइसकेका छन्। जसले दर्शकबाट सकरात्मक प्रतिक्रिया पाइरहेका पनि छन्। फिल्ममा हरिवंश बाहेक गौरी मल्ल, मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री, अञ्जना बराइली, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।