|

दाङ : राजपुर गाउँपालिका-६ भौवा नाकामा नेपाल–भारत सीमा स्तम्भ नै छैन। स्थानीय टंकबहादुर पुन  दुई देशबीच सीमा छुट्टाउने सीमा स्तम्भ नहुँदा समस्या भएको बताउँछन्। उनले आफ्नो क्षेत्रमा एउटा ठूलो सिमलको रूख रहेको र त्यसैलाई नै सीमा स्तम्भ मान्दै आएको सुनाउँछन्। 

‘हाम्रो भौवा नाकामा सीमाका पिलर कहीँ पनि छैनन्। हामीले एउटा सिमलको रुखलाई नै पिलर मानेर नेपाल र भारतको भूमि छुट्टाउँदै आएका छौँ’, उनले भने, ‘यो रूख ढलेपछि हामी सीमाको पिलर खोज्न कहाँ जाने? कसलाई बोलाएर पिलर खोज्ने? ’

यस्तै, उनले भौवा नाकामा सीमा स्तम्भ बनाइदिनपनि राज्यसँग माग गरे। यस्तै, सोही ठाउँका स्थानीय यमबहादुर परियारले पनि भएका सीमा स्तम्भ जीर्ण भएका र आफूहरूले सिमलको रुखलाई नै सीमास्तम्भ मान्दै आएको बताए।  उनका अनुसार सिमलको रूख खोलाको छेउमा नेपाल र भारतको बिचमा रहेकाले त्यसैलाई आधार मानेर सीमास्तम्भ मान्न थालिएको हो।

‘हामीलाई त्यही सिमलको रुखले दक्षिणमा भारत र उत्तरमा नेपाल पर्छ भन्ने जनाएको छ’, ‘दक्षिण क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसवी) नजिकै आएर बसेको छ। हाम्रो नेपालको पनि सीमा सुरक्षा बल खटेको छ।’ 

यस्तै, उनले कुनै पनि कारणले भोलि गएर त्यो सिमलको रूख नष्ट भएका सीमा छुट्टाउने समस्या हुने भएकाले राज्यले यसतर्फ ध्यान दिनुपर्ने पनि बताए।

‘अहिले रूख ठूलो छ। तर, भोलि त्यो सुकेर नै जाने हो। भोलि नेपाल र भारतको सीमा कता हो? भन्ने समस्या हुनसक्छ। त्यसैले यहाँ सीमा स्तम्भ राख्न सरकारले ध्यान दिनुपर्छ। अहिले रुखलाई नै आधार मानेर हामीहरू बसेका छौँ’, उनले भने। 

राजपुर गाउँपालिका- ६ मा पर्ने भौवा नाकामा नेपाल भारत सीमा क्षेत्र नजिकै रहेको दशगजामा ठूलो सिमलको रुख छ। दक्षिणतर्फ भारत र उत्तरतर्फ नेपालको बिच दशजगाको केन्द्रविन्दुमा ठूलो सिमलको रूख देखिन्छ। सिमलको रुखदेखि उत्तर तर्कतिर नेपालबाट भौवा खोला भारततर्फ बग्छ। सिमलको रुखदेखि उत्तरतर्फ नेपाली बस्तीहरू सजिलैसँग देख्न सकिन्छभने पश्चिमतर्फ ६२५ नम्बर र पूर्वमा ६२४ नम्बरको नेपालको स्तम्भ रहेको छ।

सिमलको रुखदेखि ठ्याक्कै दक्षिण तर्फ भारतीय सुरक्षा बल एसएसबीको क्याम्प छ। पहाडबाट बसाइँसराइ गरेर भौवा नाका झरेका अधिकांश सीमावासीले दशजगामा स्तम्भ नभएकै कारण दुई देशको सीमा छुट्याउने सिमलको रुखलाई मान्दै आएको बताउँछन्। 

आफ्नै गाउँपालिका आउन पनि भौवा नाकावासीलाई भारतको भूमि प्रयोग गर्नु पर्ने बाध्यताले उनीहरू भारतीय सुरक्षाकर्मीको ज्यादती सहनु परिरहेको छ। नेपाली भूमि प्रयोग गर्न वर्षायाममा गतिलो बाटो नहुँदा नाकावासीले नेपालमै आउन भारतीय भूमि प्रयोग गर्नुपर्ने अवस्थाले नाका बासीले समस्या भोग्दै आएका छन्।

गाउँपालिका उपाध्यक्ष धनपति देवी यादवले पनि अहिलेसम्म सिमलको रुखलाई नै सीमा स्तम्भ मान्दै आएको बताइन्। उनले भारतले नेपाली भूमि मिच्दै गएको अवस्थामा भोलि गएर यो रूख नष्ट भएमा यहाँ समस्या हुने भएकाले स्थानीय तहले मात्र नहुने भएकाले राज्यले नै ध्यान दिनुपर्ने बताइन्। 

उनले अहिले यहाँका नागरिकहरूले सिमलको रुखसँगै भारतीय सीमा सुरक्षाकर्मी पनि नजिकै क्याम्प राखेर यसैलाई सीमाको आधार मानेर बसिरहेको जानकारी दिइन्। उनले यस ठाउँमा पक्की सीमास्तम्भ निर्माण भएपछि मात्र दुवै देशको सीमा सुरक्षित हुने बताइन्।

जिल्लामा कोइलावास, पटौली, सुनपथरी, भौवा, खाङ्ग्रा, मुन्सीलगायत ठूला–साना गरी भारतसँग जोडिएका २६ नाका छन्, भने ७७ वटा सीमा स्तम्भ छन्। ३७ वटा मुख्य र ४० वटा सहायक सीमास्तम्भ छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.