|

काभ्रे :  फूलैफूलको पर्व तिहार सुरू हुन अब केही दिन मात्र बाँकी छ। यतिबेला गाउँ तथा शहरका फुलबारीहरूमा ढकमक्क फूलेका आकर्षक सयपत्री फूलले घर तथा आसपासको वातावरणमा छुट्टै सुन्दरता थपेका छन्।

तिहारमा घर सजाउन होस् वा काग, कुकुर, गाई र दाजु(भाइ पूजा गर्न, सयपत्री फूल नै प्रिय मानिन्छन्। खासगरी कुकुर पूजा, गाई हुँदै गोवद्र्धन पूजा र भाइटीकामा सयपत्री, मखमली जस्ता फूल बढी प्रयोग हुन्छ।

यसअघि तिहारसमेत प्रायः भारतबाट ल्याएको फूल प्रयोग गर्नुपर्ने बाध्यता थियो। पछिल्लो समय राजधानी आसपासकै केही स्थानमा व्यवसायिक फूल खेती गर्दै राजधानीबासीको मागलाई केही हदसम्म राहत दिएका छन्।

काभ्रेको महाभारत गाउँपालिका–१ धाप स्थायी घर भई विगत ७ बर्षदेखि काठमाडौंको नागर्जुन नगरपालिका–६ स्थित डाँडागाउँमा बस्दै आएको ४४ वर्षीय मानबहादुर योञ्जनले करिब ७ रोपनी जग्गामा  सयपत्री फूलको व्यवसायिक खेती गर्दै आएका छन्। योञ्जनसहित सुस्मा पाख्रिन, विना पाख्रिन लगायतले मिलेर गरेको फुल खेतीबाट तिहारको सिजनमा मात्रै ३ लाख बढीको फुल विक्री गर्ने गर्छन्।

नागर्जुनको वडा-३ र ६ मा मात्रै १ सय ५० रोपनी भन्दा बढी क्षेत्रमाहरूमा पर्याप्त मात्रमा सयपत्री फूल फुलेका योञ्जनको भनाइ छ। उनका अनुसार एक ढ्वाङ –चारपाथीको टिन) को ५ सय रुपैँयामा विक्री वितरण गर्ने गर्छन्। नागर्जुनका डाँडागाउँ, पोखरीडाँडा, इचंगु, भैरवनाथ, हवलदार बस्ती, भीरकोटा, रामकोट लगायतका क्षेत्रमा फूल ढकमक्क फुलेको देख्न सकिन्छ। यो क्षेत्रमा माघ सम्म फूल पाइने गर्छ।

नेपालमा करिब ६ सय किसिमका फूल पाइने भए पनि तिहारमा सयपत्री, गोदावरी र मखमली फूलको माग बढी हुन्छ। गत वर्ष भन्दा यस वर्ष तिहार अलि छिटो परेकाले फूलहरू सबैतिर राम्रोसँग फूलसकेका छैनन्।

त्यस्तै तिहार सुरु नहुँदै बाजरमा फूलको माग आएकाले विक्री वितरण सुरु भइसकेको छ।  यस वर्ष तिहारमा भारतबाट समेत फूल आयत नहुने र प्लाष्टिकको फूल समेत विक्री वितरणमा रोक लगाएकाले फूलको माग र मुल्य झन् बढ्ने अनुमान छ।

 स्थानीय माया गिरीले यस वर्षको लागि स्वदेशी उत्पादनले नै बजारको माग पुर्ति गर्न सकिने दाबी गर्छिन्। त्यस्तै अर्का स्थानीय राम खत्रीले अघिल्लो वर्ष तिहार ढिला हुँदा सयपत्री फूल जोगाउनै मुस्किल परेकोमा यसपटक भने फूल विग्रिन नपाउने बताए। स्थानीयहरूले उक्त क्षेत्रमा मकै, कोदो, तरकारी उत्पादन हुने भए पनि फूल व्यवसायलाई नै प्राथमिकता दिँदै आएका छन्। पछिल्लो समय नेपालमा पुष्प व्यवसाय फस्टाउँदो क्रममा रहेका छन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.