|

बागलुङ :  पर्वत ग्याँदीकी धनमाया नेपाली आजभोली बागलुङ बजारको चोकचोक र गल्लीगल्लीमा भेटिन्छिन्। काँधमा ढाको र हातमा पोकापुन्तुराका साथमा भेटिने धनमायाले मिठा–मिठा फलफूलहरू बेच्छिन्। उनको कथा भने नमिठो छ। उनले चोकचोक र गल्लीगल्लीमा बसेर फलफूल बेच्न थालेको १६ वर्ष भयो। यसरी फलफूल बेच्नु उनको रहर होइन। पोखरादेखि सुरु भएको फलफूल बेच्ने यात्रा म्याग्दीको बेनी हुँदै बागलुङ बजार आइपुगेको छ।

एक दश पोखराका विभिन्न ठाउँहरूमा फलफूल बच्ने र जुत्ता सिउने काम गर्नु भएकी धनमाया बागलुङसम्म आएकी छिन्। पोखरा छोडेर म्याग्दीको सदरमुकाम बेनी आउनु भएकी धनमाया करिब ५ वर्ष फलफूल तथा तरकारी बेचिन्। बेनीमा राम्रो कमाई नभएपछि चार महिनादेखि बागलुङ बजारमा फलफूल बेचिराखेकी छिन्। यहाँ पनि उनलाई काम गर्ने वातावरण सहज छैन।

'पढेलेखेको छैन, मैले काम पाउने भनेको होटलमा जुठो भाँडा माझ्ने हो, त्यहाँ पनि अरुको गाली खानु पर्छ, त्यही भएर मैले फलफूल बेच्न थालेको हुँ, मैले यसरी बाटोबाटोमा फूल बेच्न थालेको १६ वर्ष भयो', धनमायाले भनिन्, 'ज्यान पाल्न पर्‍यो, काम नगरि पाल्न सकिन्न, जसोतसो चलेकै छ, दुःख भन्ने कुरा त्यस्तै हो, चोर्न ढाट्न जानेको छैन, यस्तो काम गर्न नपरोस्, काम जस्तो भए पनि गर्छ, सानो ठूलो मान्दैन।'

४० वर्षीया धनमायाले १० वर्ष पोखराका सडक र गल्लीमा बसेर फलफूल बेच्ने र जुत्ता सिलाउने काम गरेको स्मरण गर्दै महानगरले सडकबाट हटाएपछि बेनी पुगेको बताइन्। उनले पोखरामा राम्रो कमाई भए पनि काम गर्न नपाएको दुखेसो पोखिन्। बेनीमा पाँच वर्ष काम गर्दा कमाई नभएपछि बागलुङ आएको उनको भनाइ छ। यहाँ आएर काम गर्दा देखिनै अवरोध भइराखेको उनले बताइन्।

'पोखरामा राम्रो कमाई हुन्थ्यो, त्यहाँ धेरै मान्छेको आवतजावत पनि भएको हुँदा फलफूल पनि राम्रै बिक्री हुन्थ्यो, मैले पोखरामा जुत्ता पनि सिलाउँथे, पछि धेरै मान्छेले नराम्रो नजरले हेरे, काम गरेको रिस गरेपछि मैले जुत्ता सिलाउन छोडेँ, फलफूल बेच्न पनि महानगरले दिएन, सडकबाट ढोकोसँगै उठाईदियो, त्यही भएर म बेनी आएँ', नेपालीले भनिन्, 'बेनीमा फलफूलसँगै टमाटर पनि बेच्थे, बुढाले कोट सिलाउनुहुन्थ्यो अरुको टेलरमा, कमाई राम्रो नभएपछि बागलुङ आएका हौँ, यहाँ आएको पनि ३-४ महिना भयो, बाटोमा बच्न हुँदैन भनेर नगरपालिकाले भनि राखेको छ, दुःख गरेर खान पनि दिएनन्।'

धनमायाको चार जनाको परिवार छ। दुई छोरी र श्रीमान रहेको नेपालीको परिवार यसरी फलफूल बिक्री गरेर चल्दै आएको छ। दुई छोरीले पोखरा पढ्ने र श्रीमानले यहाँको एक टेलरिङ सेन्टरमा कपडा सिलाउने काम गर्ने गरेको उनको भनाइ छ। 'हाम्रो अरु केही छैन, यही काम गर्ने खाने हो, श्रीमानले कोट सिलाउनुहुन्छ, छोरीहरूले पोखरा बसेर पढ्छन्, व्यापार खास्सै छैन, दसैँको बेला राम्रो भयो अहिले कम छ', उनले भनिन्।

नेपालीले स्याउ, सुन्तला र मौसम अनुसारका फलफूल बेच्ने गर्छिन्। यो सिजन स्याउ, अम्बा र सुन्तला भएको अन्दै खुद्रा पसलबाट खरिद गर्ने र बजारको दरमा बिक्री गर्ने गरेको उनको भनाइ छ। फलफुल बेचेर दैनिक ५०० देखि एक हजारसम्म कमाउने  हुने भन्दै कहिलेकाही १५ सयसम्म आम्दानी हुने गरेको बताउँछिन्।

'अहिले खास्सै नाफा छैन, फलफूल बेच्दा कहिले चार सय हुन्छ, कहिलेकाहीँ एक हजार पनि हुन्छ, महिनाभरिको हिसाब गर्दा त्यही १५ देखि २० हजारको कमाई हुन्छ, आफ्नो घर छैन, भाडा तिर्नु पर्‍यो, खानु पर्‍यो, छोरीहरूलाई पढाउनु पर्‍यो, खर्च बढेको बढेछ, कमाउ घट्दो छ', उनले भनिन्, 'अब कता गएर के गर्ने हो, केही काम पाइँदैन, यहाँ पनि नगरपालिकाले सडकमा बसेर नबेच्न भनेछ, केही काम दिए त गर्न हुन्थ्यो, काम नगरेसम्म खान लाउन पुग्दैन।'

धनमायाका श्रीमान कुमार नेपालीले बागलुङ बजारको एक सिलाई कटाई पसलमा काम गर्दै आएका छन्। उनले आफूहरू दुई अनपढ भएको हुँदा भौतारिनु परेको बताए। कुमारले पढेलेखेको भए केही जागिर गर्न सकिने भन्दै अनपढ भएका कारण जस्तो काम पर्नु गर्नु तयार हुनु पर्ने बताउँछन्। दुई जनाको मेहनतले परिवार चल्दै आएको उनको भनाइ छ।

'सानोमा गरिबीका कारण पढ्न पाइएन, पढेको भए अहिले केही सानोतिनो जागिर खाइन्थ्यो होला, अहिले काम पनि पाइँदैन, कहिले जुत्ता सिलाउने कहिले फलफूल बेच्ने काम गरेर गुजारा चलेको छ, उनले (धनमाया) सडकमा बेचेर र मैले कपडा सिलाएर थोरैथोरै कमाउँछौँ, जसोतसो महिना भरि खानलाउन पुगेको छ', कुमारले भने।

उनले लामो समयदेखि यसरी सडकमा बसेर काम गर्दै आएको सुनाउँदै स्थानीय सरकारले कुनै पनि विकल्प नदिई सडकबाट हटाउँदा आफूहरू समस्यामा परेको गुनासो पोखे।

 उनी भन्छन्, 'सरकारले केही विकल्प दिएर सडकबाट हटाएको भए हामीहरूलाई जिउ पाल्न सजिलो हुन्थ्यो, जता भए पनि काम गर्ने थियौँ, पोखरामा राम्रै थियो, हटाउनु भयो, बेनीमा कमाइनै हुन नसकेपछि अहिले बागलुङ आएका छौँ, यहाँ पनि बाटोमा व्यापार नगर्न भन्दै हुनुहुन्छ रे, हामी जस्ता गरिब दुःखीले अब के गरेर ज्यान पाल्ने?'

उनले आफू एक्लैको कमाइले परिवार चलाउन गाह्रो हुने सुनाए। काम पाए आफूहरूले जस्ता ठाउँमा पनि गर्न सक्ने बताए। बागलुङ नगरपालिकाले बजार क्षेत्रका सडकमा यत्रतत्र रुपमा राखिएका सामानहरू हटाउन थालेको छ। त्यसले गर्दा ठेला व्यापारीहरू समस्यामा परेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.