|

काठमाडौं :  काठमाडौं क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओनसरी घर्ती मगरले आफू निर्वाचित भएमा जोरपाटी–साँखु सडक दुई वर्षभित्र स्तरोन्नति गर्न नसके राजीनामा दिने घोषणा गरिन्।

माओवादी केन्द्रबाट उम्मेदवार बनेकी घर्तीले ३० असोजमा  उम्मेदवार परिचय तथा निर्वाचन परिचालन समिति घोषणा कार्यक्रम सो कुरा बताएकी थिइन्। 

वर्षौंदेखि चुनावी एजेण्डामा सिमित बनेको  चावहिल साँखु सडक यस पटकको निर्वाचनमा पनि अछुतो रहन सकेन। ओनसरीले साँखु सडकलाई आफ्नो चुनावी एजेण्डा नै बनाएकी छन्।

सरकारले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन मिति ४ मंसिरमा तय गरेको छ। निर्वाचन प्रचार प्रसारका क्रममा हरेक पटक झुटा आश्वासन देखाउँन नेताहरु यस पटक पनि सोही काम दोहोर्याइ रहेका छन्।

२०७४ को निर्वाचनमा पनि राजनीतिक दलहरुले चाबहिल–जोरपाटी–साँखु सडकको विस्तार छिटो सकाउने प्रतिबद्धता जनाएका थिए। प्रतिनिधिसभा सदस्यमा यो क्षेत्रबाट वाम गठबन्धनका माधवकुमार नेपाल निर्वाचित भएका थिए।

निर्वाचन अगाडी सडक बनाउँने प्रतिवद्धता जनाएका पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल निर्वाचित भएसँगै बेपत्ता भए। त्यसपछि पनि सरकारी टोली लिएर पुगेका नेताहरु सडक बनाउने बाचा नगरेका होइनन्। हरेक मन्त्रीले सो सडकलाई मौखिक रुपमा प्रतिबद्धता जनाइरहे।

यति मात्र नभई सडक बनाउने भन्दै स्थानीयसँग  लिखित सम्झौता  कतिपटक भयो हिसाब किताब छैन।  

चाबहिल–साँखु सडक साता वर्षदेखि कालोपत्रेको पर्खाइमा छ। स्थानीय निर्वाचनअघि नै सडक विस्तारको चर्चा चलेको थियो। तर काम हुन सकेन।  कागेश्वरी मनोहरा नगरपालिकाका  पूर्वप्रमुख हरिकृष्ण थापा, पूर्व उपप्रमुख विन्दु सिम्खडाले सोही सडक निर्माणलाई चुनावी एजेण्डा बनाएर निर्वाचन जिते। तर, सडक कालोपत्रे नभएको स्थानीयको गुनासो छ। हालसम्म पनि हिलो धुलोको सास्ती कायमै छ।   

सडकको नाममा राजनीति गर्नेका कुर्सी फेरिए पनि सडकको अवस्था उस्तै रहेको स्थानीयको भनाइ छ। सडक निर्माणको माग गर्दै स्थानीयले पटक–पटक आन्दोलन गरे। आन्दोलनरत पक्षसँग पटकपटक विभिन्न सम्झौता पनि भयो। तर,त्यो सम्झौता कार्यान्वयन भयो न सडक नै निर्माण भयो।

स्थानीय हरिबोल कुइँकेल भन्छन्,‘चुनाव जित्नका लागि मात्र एजेण्डा बनाएका रहेछन्। कार्यकाल सकिँदा पनि निर्माण भएन। आज भोलि भन्दै टारियो।’ 

आस गरेका नेताले आश्वासन मात्र दिए पछि अब आउनेहरुको आश्वासनको भर लाग्दैन। थलीका स्थानीय अमृत कुमार थापाले भने,‘चुनावका बेला नेताहरुले आश्वासन बाँडे तर काम गर्न सकेनन्।’ अब चुनावको मुखमा गरिएको घोषणालाई विश्वास गर्न सकिने अवस्था छैन। 

सडक निर्माणको माग राख्दै पटकपटक आन्दोलन भइरह्यो तर काम भने हुन सकेको छैन।  काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका अनुसार यो सडकको २ खण्डमा मात्रै निर्माणको केही काम बाँकी रहेको  भनाइ छ। अन्य खण्डको विस्तार अन्तिम चरणमा पुगेको आयोजनाको भनाइ छ।

तर,अहिलेसम्मको काम हेर्दा आशा गर्ने ठाउँ कमै छ। किनकि सडक खण्डको दक्षिणढोका,थली र डाँछी क्षेत्रमा सडक विस्तारको काम नै सुरु पनि भएको छैन।

आयोजनाले चाबहिलबाट बाग्मती पुलसम्म युनाइटेड विल्डर्स एण्ड इञ्जिनीयर्स प्रालिलाई ठेक्का दिएको छ भने दक्षिणढोकादेखि थली उकालोसम्म बज्रगुरु/च्याङमिला/खानी जेभी, थलीबाट डाँछी खण्डमा बज्रगुरु/बिरुवा/खान जेभी, डाँछीबाट सलम्बुटार वनकोबीच सडकसम्म बिटी/सुनकोसी/वल्र्डवाइड जेभी र त्यहाँबाट साँखुसम्म लामा/समानान्तर जेभीले ठेक्का पाएका छन्।

सात वर्षसम्म  उस्तै छ अवस्था 

सरकारले चाबहिल–साँखु सडक निर्माण  तत्कालै सम्पन्न हुन्छ भन्दै आश्वासन देखाएको सात वर्ष पूरा भयो। तर,सडक कालोपत्रे भएन। १२ किलोमिटर लम्बाइको उक्त सडक चौडा विस्तार गरेर चार लेन फराकिलो बनाउने, सडकका दुवैतर्फ फुटपाथ र २÷२ मिटर अपांग मैत्री संरचना बनाउने गरी २२ मिटर चौडा बनाउन २०७२ सालमै सम्झौता भएको थियो।

तर‚ स्तरोन्नति सुरु गरेको सात वर्षमा करिब ८ किलोमिटर मात्र कालोपत्रे गरेको सडक विस्तार गरिएको आयोजनाले जनाएको छ।

पाँच चरणमा काम भइरहेको उक्त सडकको काम अझै पूरा हुन सकेको छैन। युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्स, बज्रगुरु–च्याङमिलारखानी जेभी, बज्रगुरु–विरुवाखानी जेभी र बिटी–सुनकोशी र वर्ल्डवाइड जेभी कम्पनीसँग ठेक्का सम्झौता भएको थियो। पछि लामा र समानान्तर जेभी कम्पनी पनि यही सडक निर्माणमा थपिएको छ। 

चाबहिलदेखि नारायण टारसम्म भने सम्पन्न भएको छ। जग्गाको मुआब्जाका कारण स्थानीयको अवरोध गरेको भन्दै सडकको काम अगाडि बढ्न सकेको थिएन। सरकारले उपलब्ध भएको जग्गामा कालोपत्रे गर्नू भनी आदेश दिएको तीन वर्ष बितिसक्दा पनि सडक कालोपत्रे हुन सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.