|

ललितपुर : चाचा हुई ई ई ...., सररर .........यी यस्ता ध्वनि अचेल उपत्यकामा कम सुनिन थालेको छ। बढ्दो शहरीकरण, पिङ हाल्ने स्थानको कमी र पश्चिमा संस्कृतिको प्रभाव तथा अन्य मनोरन्जनात्मक तत्वका कारण अचेल पिङको संख्या घट्दै गएको छ।

खुसियाली र उमङ्ग बोकेर आएको नेपालीहरुको महान चाड दशैँ र तिहारमा पिङ खेल्ने गरिन्छ। भनिन्छ , पिङ खेल्नाले परम्परा धान्नुका साथै एउटा छुट्टै अनुभूति हुन्छ।

लिङ्गे पिङ , रोटे पिङ, डोडे र जाँते पिङ पहिलेदेखि नै खेलिँदै आए पनि  अचेत लिङ्गे पिङ नै प्रचलनमा आएको देखिन्छ

हाम्रो घरवरपर खेलिने पिङ, वासबाट बनेको हुन्छ।  ४ वटा या ६ वटा वासका लिङ्गोमा माथिबाट काठ अड्याएर डोरी बानेर पिङ तयार पारिन्छ। वर्षमा एकपल्ट आउने चाडमा पिङ खेल्नुपर्ने ४० वर्षीय नमराज शर्मा बताउँछन्। पिङ खेल्नुपर्छ वर्षमा एकपटक आउने  चाड दशैँ र तिहारमा , उनले भने , पिङ खेलेर धर्ती छोड्नुपर्छ , दशैँ तथा तिहारमा खाएको पनि पच्छ , एकदम रमाइलो हुन्छ।

पिङ खेल्नुपर्छ भन्ने भनाइ आइरहँदा कतिजना पिङभन्दा पनि अन्य मनोरञ्जनात्मक तत्वमा भुलिरहेका हुन्छन्।  पिङ हाल्ने ठाउँ हुनुपर्‍यो नि, बानेश्वरका दिलिप बस्नेतले भने ' पिङ हाम्रो संस्कृति झल्काउने तत्व भए पनि हामी बाध्य भएर, दशैँको फुर्सद कटाउँछौँ। घरहरु बढ्दै जाँदा स्थानको अभाव हुन जान्छ। सडकको छेउछाउमा पहिले पहिले पिङ हालिने गरेपनि अचेत सवारीको चापसँगै त्यहाँ पिङ हाल्न संभव भएको छैन।'

प्राय गरी बच्चाहरु नै पिङमा तल्लिन हुने भए पनि युवा वर्गाले पनि पिङ नखेल्ने होइनन्।

तर कोही भने कहाली लाग्ने डरले पिङ खेल्दैनन्। 'पिङ म त्यत्ति खेल्दिनँ' ,५४ वर्षीय रेनुका आचार्यले भनिन्, पिङ मच्चिँदा मलाई डर लाग्छ, तर हाम्रो संस्कृति भएकाले एकपटक भए पनि पिङ खेल्ने प्रयास गर्छु। वरपर पिङ नहुँदा ,त्यो संभव छैन।'

संस्कृतिसँग मात्र नभई पिङको सम्बन्ध खानपान, स्वास्थ्य र मनोरञ्जनसँग रहेको संस्कृतिका जानकार पण्डित माधव प्रसाद शर्माले
 बताए। ' दशैँ र तिहार रमाइलो हुन्छ , धेरै मासु लगायत अन्य खाद्यान्न र परिकार खान्छौँ', उनले भने, 'हात गोडा तन्काउन र रमाइलो गर्न पिङले मद्दत गर्छ।'

अहिले बेस्सरी मच्चिएर खेलिने पिङका बारेमा अनविज्ञता प्रकट गर्छिन् ८१ वर्षीय काली आचार्य। 'पहिला पिङ त लिङ्गे पिङ खेल्थे,रोटे पिङ खेल्थे , रुखमा हालेको डोडे पीङ खेल्थे , उनले भनिन् , अहिले त त्यस्तो चलन छैन , पिङ हाल्ने नै कम भयो।'

पिङका लागि भनेर किन्ने डोरीको पैसा उठाउन घरघरमा आउने गरेको उनी सम्झन्छिन्। पछिल्लो समयमा भने कुनै संघ संस्था या क्लबले खाली स्थान वा चौरमा पिङ हालिदिन थालेको छ। हालेको स्थानमा पिङ खेल्नेको संख्या उल्लेख्य हुने गरेको छ। धापाखेलमा पिङ खेल्न भनेर बालबालिकाको ठेलमठेल हुने गरेको छ। पिङ जस्तै चङ्गा उडाउने पनि हाम्रो समाजमा कम हुँदै गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.