|

पाल्पा :  आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ। 

निर्वाचनका दिन नजिकिँदै जाँदा पाल्पाको चुनावी माहोल पनि तातिरहेको छ। बजार तथा गाउँघरका चोकचोकमा चुनावी चर्चा चलिरहेको पाइन्छ। उम्मेदवारसमेत मतदाताको घरघरमा मत माग्न जानेक्रम बाक्लिएको छ। 

उम्मेदवारका बारेमा अहिले मतदाताले टिकाटिप्पणी गर्न थालेका छन्। विगतका निर्वाचनमा फरक दलका फरक उम्मेदवार प्रतिस्पर्धामा थिए। जुन उम्मेदवारहरू एउटै दलमा रहेर राजनीति गरेका थिएनन्।

यसपालिको निर्वाचनमा भने नेकपा एमालेमा राजनीति गर्दै आएका पूर्व सहकर्मीबीच अहिले प्रतिस्पर्धा हुने भएको छ। एमालेबाट उम्मेदवार भएर पटकपटक निर्वाचन जित्दै आएका सोमप्रसाद पाण्डे अहिले फरक दलबाट चुनावी मैदानमा छन्।

उनी सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा नेकपा एकीकृत समाजवादी पार्टीबाट उम्मेदवार छन्।

यसअघिका निर्वाचनमा उनै पाण्डेलाई जिताउन मरिमेटेर लाग्ने युवा नेता ठाकुर गैरे नेकपा एमालेका तर्फबाट उम्मेदवार भइ निर्वाचनमा होमिएका छन्। 

पहिलेका सहयात्री अहिले प्रतिस्पर्धी बनेपछि यहाँका मतदातामा फरक खालका बहस भइरहेका छन्। पाण्डे छैठौं पटक निर्वाचन लड्ने तयारीमा छन्। गैरे भने पहिलो पटक उम्मेदवार भइ चुनावी मैदानमा उत्रिएका हुन्।

गैरेलाई विगतका निर्वाचनमा उम्मेदवार हुनबाट रोक्ने तीनै पाण्डे बाधक बनेका थिए। पाण्डे राष्ट्रिय राजनीतिको मूलधारमा रहेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका सम्धी हुन्।

पहुँचमा राजनीति नभएका कारण स्वच्छ र इमानदार राजनीति गर्दै आएका युवा नेता गैरे जहिले पनि टिकट पाउनबाट बञ्चित हुँदै आएका यहाँका अधिकांश मतदाताको बुझाई छ। 

केही वर्षअघि नेकपा एमाले विभाजित भयो। जसको प्रत्यक्ष असर पाल्पामा पनि पर्न गयो। एमाले विभाजित भएपछि बनेको नेकपा एकीकृत समाजवादीको नेतृत्व पाल्पाबाट पाण्डेले गरेका थिए। 

पार्टी विभाजित भइसकेपछि कतातिर लाग्ने भनेर अन्योलमा परेका उनी धैरै समयपछि समाजवादीतर्फ लागेका थिए। राजनीतिको राम्रोसँग अड्कलबाजी गर्नसक्ने क्षमता भएका पाण्डे एमालेमै रहन चाहन्थे। तर सम्धी पर्ने माधवकुमार नेपालको दबाबमा उनी समाजवादीमा जान बाध्य भएको उनीसँगै नजिक रहेर राजनीति गरेका नेताको भनाई छ।  

पाण्डेलाई सहज छैन यसपटक

पटकपटक सांसद र मन्त्री बनेका पाण्डेलाई यसपालि भने चुनाव जित्न सहज छैन। राष्ट्रिय रुपमा राम्रो छवि बनाएका गैरेले उनलाई टक्कर दिंदैछन्। विद्यार्थी संगठनबाट राजनीति थालेका गैरे अहिले नेकपा एमालेको पोलिटब्युरो सदस्य हुन्। पछिल्लो समयमा पाल्पामा गैरेको राम्रै प्रभाव भएको कतिपयको भनाई छ।  

नयाँलाई मौका दिने कि? पुरानालाई नै रोज्ने? भन्नेमा यहाँका मतदाताबीच तर्कवितर्क चलिरहेको देखिन्छ। यद्यपि कसले जित हासिल गर्छ? भन्ने अनुमान लगाउन सकिने अवस्था छैन । पाल्पा क्षेत्र नम्बर २ बाट पछिल्ला केही निर्वाचनमा एमालेले जित हासिल गर्दै आएको छ।

२०७४ सालको निर्वाचनमा वाम गठबन्धन तर्फबाट एमालेका पाण्डे उम्मेदवार बनेका थिए। उनले नेपाली कांग्रेसका हरिप्रसाद नेपाललाई पराजित गरेका थिए। 
अहिले वाम लोकतान्त्रिक गठबन्धनबाट पाण्डे नै उम्मेदवार बनेका छन्। एमाले छाडेर गएपछि पनि उनी उम्मेदवार बन्न पाएका हुन्। यहाँको गठबन्धनमा कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी रहेका छन्।

तर थोरै मत भएको पार्टीलाई उम्मेदवार नदिन माग गर्दै पाल्पा कांग्रेसका नेता केन्द्रीय कार्यालयमै डेलिगेसन गएका थिए। कांग्रेस नेता हरिप्रसाद नेपाल वा वीरबहादुर रानालाई टिकट दिनुपर्ने माग उनीहरूको थियो। अन्ततः भागबण्डामा यहाँ समाजवादीका पाण्डेले नै टिकट पाउन सफल भए। 

आ–आफ्नै उम्मेदवारले जित्ने दाबी 

आगामी निर्वाचनमा दुवै उम्मेदवारले आ–आफ्नै जितको दाबी गरेका छन्। गत बैशाखमा सम्पन्न भएको स्थानीय तहका वडाध्यक्षले प्राप्त गरेका मतका आधारमा एमाले अगाडि रहेको नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले बताए।  यही मतको आधारमा एमालेका उम्मेदवार गैरेको जित सुनिश्चित रहेको उनको दाबी छ। तर गठबन्धनको मत जोड्दा भने एमालेलाई गाह्रो पर्ने देखिन्छ।

समाजवादीका जिल्ला अध्यक्ष कमल पाण्डेले आगामी निर्वाचनमा स्थानीय तहको मतलाई आधार मान्न नसकिने दाबी गरे। पदमा रहँदा पाल्पाको विकासमा राम्रै पहल गरेको हुँदा पाण्डेले विजयी हासिल गर्ने उनको विश्वास छ। 

स्थानीय तह चुनावमा यस्तो छ मत

स्थानीय तहको निर्वाचनमा एमालेले ३० हजार ५ सय ३६ मत पाएको थियो । कांग्रेसले २९ हजार ३९, नेकपा माओवादी केन्द्रले ४ हजार ३ सय १३ र एकीकृत समाजवादीले ४ सय ३३ मत पाएको थियो । राष्ट्रिय जनमोर्चाले ८ सय ८४ मत प्राप्त गरेको थियो। 

पाल्पा क्षेत्र नम्बर २ मा दल र स्वतन्त्र गरी प्रतिनिधिसभामा १३ उम्मेदवार चुनावमा होमिएका छन्। पाल्पा क्षेत्र नम्बर २ मा १ लाख ५ हजार २ सय ९३ मतदाता छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.