|

हेटौंडा : मकवानपुरको मनहरी गाउँपालिका–४ वनकरिया बस्तीकी ६० वर्षीया सन्तमाया वनकरिया यतिबेला बेचैन छिन्।

भर्खरै फोक्सोको उपचार गराएर काठमाडौंबाट फर्किएकी उनलाई हारेको चुनावको जरिवानाले बज्रपात परेको छ। गएको स्थानीय तहको चुनावमा उनी लोपोन्मुख वनकरिया समुदायबाट नेपालकै पहिलो उम्मेदवार बनिन्।

नेपालको मकवानपुरमा मात्रै बस्ने वनकरिया समुदायको नेतृत्व गर्दै उनी मनहरी गाउँपालिका- ४ को वडा सदस्यको उम्मेदवार बनेको थिइन्। वनकरिया समुदायको लागि केहि गर्ने हुटहुटीमा रहेकी उनलाई माओवादी केन्द्रले वडा सदस्यको उम्मेदवार बनाएको थियो।

चुनाव जितेर उनलाई पछाडि परेका वनकरियाको लागि धेरै काम गर्न मन थियो। वनकरिया बालबालिकाको लागि  गाउँमै स्कुल,स्वास्थ्यचौकी बनाउने ,तटबन्धन गर्ने र लालपुर्जाको लागि पहल गर्ने उनको  सोचाई थियो। तर,उनको यो सपनामा ४ मतले ब्रेक लाग्यो।

४ मतले उनी वडा  सदस्यमा हार्न पुगिन्। चुनावमा उनको २० हजार रुपैयाँ खर्च भएको थियो। ‘ऋण खोजेर  गाउँघरका साथी भाइहरूलाई चुनावमा खाजा खर्च भनेर २० हजार रुपैयाँ खर्च गरे। सरकारले वनकरियालाई दिने भत्ताबाट ऋण तिरिरहेको छु,अझै सकिएको छैन',उनले भनिन्।

आइतबार उनलाई चुनावमा भएको खर्च विवरण निर्वाचन आयोगमा पेश गर्नुपर्छ भन्ने थाहा थिएन्। भर्खरै फोक्सोको उपचार गरेर आएकी सन्तमाया राम्ररी बोल्न सक्ने अवस्थामा पनि छैन। यस्तोमा निर्वाचन आयोगमा चुनावमा भएको खर्च विवरण पेश नगरेको कारण डेढ लाख रुपैयाँ जरिानामा परेको खबर उनको लागि आकाश खसेजतिक्कै थियो।

‘चुनाव लड्दाखेरीको २० हजार ऋण तिरिनसक्दै आफू बिरामी परे। जसोतसो उपचार गरेर भर्खर आइपुगेको छु। अब मैले कताबाट जरिवाना तिर्नु ? निर्वाचन खर्च बुझाउनुपर्छ भनेर मलाई कसैले थाहा नै दिएनन्’,उनले भनिन्।

सन्तमायाले वडाध्यक्षले आफूलाई निर्वाचन खर्च बुझाउनुपर्ने सम्बन्धनमा जानकारी नगराएको दुखेसो  गरिन्। घरैमा आएर उम्मेदवार बनाउने माओवादीका कुनै पनि नेताले चुनाव खर्च पनि बुझाउनुपर्छ भनेनन् । उनले आफूले कुनैपनि हालतमा निर्वाचन आयोगलाई उक्त रकम तिर्न नसक्ने समेत बताइन्। ‘खानै मुस्किल छ, कहाँबाट त्यत्रो रकम तिर्ने ? राजनीति हाम्रा पितापुर्खाले गरेनन्, जसले गर्दा वनकरिया सधै पछाडि परे। त्यसैले आफ्नो समुदायलाई अगाडि लैजान्छु भनेर मैले उम्मेदवारी दिए। तर सबै विधि–विधान थाहा छैन, अब यत्रो जरिवाना तिर्ने हो भने त राजनीतिबाट भाग्नुपर्छ,’ थाहाखबरसँग उनले भनिन्।

सबै जायाजेथा बेच्दा पनि डेढ लाख नजुट्ने उनी दुखेसो गर्छिन्। करिव २० वर्ष जंगल जीवन बिताएकी उनलाई सामान्य रुपमा आफ्नो नाम मात्रै लेख्न आउँछ। १८ वर्षअघि जंगल जीवन त्यागेर वनकरिया समुदायसँगै बस्तीमा सरेकी उनले प्रौढ शिक्षामार्फत आफ्नो नाम लेख्न सिकेको छिन्।

 निर्वाचन आयोगले वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका उम्मेदवारहरूलाई आफ्नो चुनाव खर्च आयोगमा पेश गर्न भनेको थियो। निर्धारित समयमा चुनाव खर्च पेश नगर्ने उम्मेदवारहरूलाई आयोगले जरिवाना गरेको छ।

 जसमा वडा सदस्यको लागि डेढ लाख रुपैयाँ जरिवाना तोकिएको छ। ६ महिनाभित्र जरिवाना नतिर्नेलाई तीन पुस्तेसहित कालोसूचीमा राखिनेछ, उनीहरू आगामी ६ वर्षसम्म चुनावमा उठ्न पाउने छैनन् र अहिले चुनाव जितेकाहरूको पनि पद खारेज हुनेछ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.