|

हेटौंडा : नेपाली कांग्रेसले मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार बनाएको चार महिलामध्ये महालक्ष्मी उपाध्याय ‘डीना’ एक हुन्। 

कांग्रेसको केन्द्रीय सहमहामन्त्री समेत रहेकी डीना मकवानपुर–१ बाट प्रतिनधिसभाको उम्मेदवार बनेकी छन्। चौथो पटक चुनावी मैदानमा उत्रिएकी उनी पहिलो जीतको खोजीमा छिन्। डिना यसअघि तीनपटक पराजित भइसकेकी छन्। 

पार्टीले समानुपातिकतर्फको पहिलो नम्बरमा राखेको आफ्नो नाम काटेर जनताबाट प्रत्यक्ष रूपमा अनुमोदित हुन आएको उनी बताउँछिन्। सहजै समानुपातिकबाट सांसद हुने निश्चित भए पनि जनताको बीचमा काम गरेर जनताबाट निर्वाचत हुन आएकोले आफ्नो जीत निश्चित रहेको उनी बताउँछिन्। 

उठेको जति सबै आम निर्वाचनमा पराजित भएकी डीनालाई यो पटक गठबन्धनको आड छ। तर, पनि उनी ढुक्क हुनसक्ने अवस्था भने छैन। उनको निर्वाचन क्षेत्रमा रोचक भिडन्त हुने अनुमान गरिएको छ। उनीविरुद्ध राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापा एमालेको सूर्य चिह्न लिएर चुनावी मैदानमा उत्रिएका छन्। त्यस्तैगरी राप्रपाका केन्द्रीय सदस्य दीपकबहादुर सिंह पनि यही निर्वाचन क्षेत्रबाट चुनावी मैदानमा छन्। यसअघि पटकपटक चुनाव हारेका डीना, थापा र सिंह यो पटक एउटै निर्वाचन क्षेत्रमा एकअर्काको आमनेसामने भएका छन्। निरन्तर हार व्यहोरेका उनीहरूबीचको त्रिपक्षीय प्रतिस्पर्धा रोचक हुने निश्चित छ। तीनै  उम्मेदवार अहिले घरदैलोसहित मतदाता भेटघाटमा व्यस्त छन्।

डीनाले अर्थशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन अध्ययन गरिकी छन्। स्वतन्त्र विद्यार्थी युनियन पद्मकन्या क्याम्पसकी पूर्वसभापति भइसकेकी महालक्ष्मी विगतमा तरुण दल र नेपाल महिला संघमा रहेर पनि काम गरिसकेकी छिन्। विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय उनी १४ औं महाधिवेशनमा देउवा प्यानलबाट नेपाली कांग्रेसको सहमहामन्त्रीमा निर्वाचित भएकी हुन्। यसअघि तीनवटा निर्वाचनमा प्रत्यक्ष रूपमा चुनावी मैदानमा उत्रिएकी उनले निरन्तर रूपमा तत्कालीन समयमा एमालेका विरोध खतिवडासँग हार्नुपर्‍यो। 

२०४८ सालको निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–२ बाट उम्मेदवार बनेकी उनी हाल समाजवादीमा रहेका तत्कालीन समयको एमालेका उम्मेदवार विरोध खतिवडासँग पराजित भएकी थिइन्। यस निर्वाचनमा खतिवडाले १६ हजार ८६९ मत ल्याएर उनलाई पराजित गरेका थिए। त्यतिबेला डीनाले ११ हजार ५७६ मत पाएकी थिइन्। २०५१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि उनी खतिवडासँगै पराजित भइन्। 

उक्त निर्वाचनमा खतिवडा १६ हजार १४४ मत पाएर निर्वाचित भए भने डीनाले ३ हजार ७९२ मत पाएर तेस्रो भइन्। त्यतिबेला राप्रपा अध्यक्ष थापा ११ हजार ८७८ मत ल्याएर दोस्रो भएका थिए। २०५६ मा भएको आमनिर्वाचनमा उनी उम्मेदवार बनिनन्। त्यतिबेला क्षेत्र नम्बर–२ बाट कांग्रेसका रामचन्द्र अर्याल ‘माइकल’ उम्मेदवार बनेका थिए। तर, उनी पनि खतिवडासँगै पराजित भए। २०७० सालमा डीना समानुपातिकबाट संविधानसभा सदस्य बनिन्। उनी संविधानसभा निर्वाचन अगाडिसम्म जलस्रोत राज्यमन्त्री थिइन्।

२०७४ सालमा भएको निर्वाचनमा पनि डीना पुनः एकपटक खतिवडासँगै पराजित हुन पुगिन्। हालसम्मको राजनीतिक जीवनमा कांग्रेस पार्टीभित्र राम्रो स्थान बनाए पनि उनले जनताबाट प्रत्यक्ष अनुमोदित हुने अवसर भने पाएकी छैनन्। २०७४ को निर्वाचनमा उनले ३४ हजार ९० मत प्राप्त गरेकी थिइन् भने खतिवडा ४६ हजार ४८१ मतका साथ निर्वाचित भएका थिए। 

तर, यो पटक भने खतिडा डिनाको बाटोबाट हटिसकेका छन्। सधैं खतिवडासँग हारेकी डीनालाई यो पटक खतिववडाको चुनौती छैन। गठबन्धनको कारण आगामी निर्वाचनमा खतिवडा मकवानपुरको निर्वाचन क्षेत्र नम्वर २ बाट उम्मेदवार बनेका छन् भने डिना निर्वाचन क्षेत्र नम्वर १ मा उम्मेदवार बनेकी छिन्। 

खतिवडाको चुुनौती पन्छिएको भएपनि थापा र सिंहको चुनौती भने कम छैन। चुनाव हार्न रेकर्ड नै राखेका राप्रपा नेपालका अध्यक्ष थापा कुनै पनि हालतमा चुनाव जित्ने दाउमा छन्। आफ्नो जीवनको अन्तिम चुनाव भन्दै जीत सुनिश्चित गर्न उनी एमालेको सूर्य चिह्नबाट उम्मेदवार बनेका छन्। राप्रपाको पुरानो मत र एमालेको संगठित मतले चुनाव जित्ने दाउमा रहेका थापालाई मकवानपुरमा एमालेजनले स्वीकार गरिसकेको छैन भने राप्रपाका उम्मेदवार सिंहले सकस बनाएका छन्। लामो समय राप्रपामा सँगै काम गरेका थापा र सिंह प्रतिस्पर्धामा उत्रिँदा राप्रपाको मत विभाजित हुने निश्चित छ। यसको फाइदा डीनालाई पुग्ने देखिन्छ। 

थापालाई मकवानपुरमा एमालेजनले स्वीकारिसकेका छैनन्। जसले गर्दा उनले पूर्ण रूपमा  एमालेको पनि मत पाउने सम्भावना छैन। गत स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर पपुलर मत पाएका सिंहलाई पनि यो निर्वाचनमा उक्त मत पाउन मुश्किल देखिन्छ। स्थानीय तहको चुनावमा एमालेको लालकिल्लामा एमालेलाई नै पछि पार्दै राप्रपाबाट एक्लै सिंहले २० हजार भन्दा धेरै मत पाएका थिए। तर,यो निर्वाचनमा राप्रपाका अध्यक्ष थापा पनि चुनावी मैदानमा उत्रिएको हुँदा राप्रपाको पुरानो मत उनलाई जाने आँकलन गरिएको छ। थापा र सिंहबीचको प्रतिस्पर्धाको फाइदा डीनालाई पुग्ने भए पनि उनलाई केही चुनौती भने पक्कै छ। 

मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ मा ४ वटा पालिकाका ४० वटा वडा पर्छ। हेटौंडा उपमहानगरपालिकाका १५, बकैया गाउँपालिकाको १२ , मकवानपुरगढी गाउँपालिकाको ४, र बागमती गाउँपालिकाको ९ वडा यस निर्वाचन क्षेत्रमा पछ। स्थानीय तहको निर्वाचनमा ४० वटा वडामध्ये २६ वटा वडामा सत्तारुढ दल विजयी भएको छ। यस क्षेत्रमा एक लाख ५० हजार एक सय ५५ मतदाता छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.