|

पर्वत : हाल पर्वतको कुश्मा नगरपालिका–५ बडागाउँमा बस्दै आएकी लक्ष्मी मल्लको माइतीघर बागलुङको जैमिनी नगरपालिकाको जैदीमा हो।

१९९४ सालमा जन्मिएकी उनी अहिले ८५ वर्षकी भइन्। लगभग ६४ वर्ष अगाडि २०१५ सालमा आफूले देखेको देउसी भैलोको कथा उनले सुनाइन, जुन सुन्दा अहिलेको पुस्तालाई ‘त्यस्तो पनि हुन्थ्यो र?’ भन्ने लाग्छ।

‘लौ मैले भनेको पत्याउनु, अहिलेका भैलो त लव गर्न हिँडेका जस्ता लाग्छन्। गुजुल्टिएर गीत बजाउनी, घुँडाबाट माथि देखाएर नाच्नी, भगवानको नाम लिने कसैले हैन। भमरा झुम्मिए झैँ के के हो के के गरेको हेर्न भन्दा नहेर्न नै ठिक छ’, मल्ल भन्छिन्, ‘भए जतिका देवी देउरालीको नाम भट्ट्याउँदै आङ जाँदा जिरिङ जिरिङ हुनी, हेर्दा हेर्दै गीत लागेर मान्छे काम्नी, भगवान भगवान भन्नी हुन्थ्यो। अन्तिममा आकाशै बाँधम, पातालै बाँधम, चार दिशा बाँधम भनेर भट्ट्याउँदै भगवानको पुकार गरेपछि उत्रेका देउताले छाड्थे।’

ऊ बेलाको देउसीको अर्को आकर्षणमा बजाउने र नाच्ने तीन प्रकारका कलाकाहरू पर्ने मल्ल सुनाउँछिन्, ‘मादलेले मादल, डम्फु, खैँजडी र मुजुरा बजाउनी, पुसुङ्गेले सेतो कछाड कालो कोट र सेतो फेता लाउनी गर्थे। मारुङ्गे भनेको केटालाई पूरै केटीका सिँगार पटार गरेर ठ्याक्कै केटी बनाउन। त्यो देखेपछि यी भैलो खेलका मान्छे आफ्नो घरबाट नगइदिए नि हुन्थ्यो नि भन्नी लाग्थ्यो।’
लक्ष्मीको भोगाइअनुसार केही दशक अगाडिसम्म भैलो खेल्दा मादलको प्रयोग सबैभन्दा बलियो पक्ष थियो। छाला सम्बन्धी काम गर्नेहरू गाउँ गाउँमा हुने भएकाले सस्तो मूल्यमा मादल, डम्फु र खैँजडी पाइन्थे। तर छालाको काम गर्नेहरू क्रमिक रूपमा त्यो पेसाबाट विस्थापित हुँदै गएपछि ऊ बेलाको जस्तो सस्तो दरमा मादल पाउन छाडिँदै गयो।

बिस्तारै देउसी भैलाको स्वरूप र शैलीमा पनि परिवर्तन आउँदै गयो। मादल खरिद गर्न बजारमा मात्रै निर्भर हुँदै जान थालेपछि पाको उमेरका देउसी समूहले मादल बजाउन सके पनि बालबालिकाहरू भने पानी बोक्न प्रयोग हुने प्लास्टिकको भाँडा (जर्किन÷ग्यालिनका नामले चिनिने) प्रयोग हुन थाल्यो।
‘म हामी ६÷७ कक्षातिर पढ्थ्यौँ सायद, मन्दिरका लागि पैसा उठाउने भनेर साथीहरू मिलेर खेलियो तर मादल थिएन।

मुजुरा त जसोतसो पाए पनि मादलको काम पानी बोक्ने ग्यालिनले हुन्थ्यो। देब्रे हातले ग्यालिन समात्ने दाहिने हातले एकोहोरो हान्ने गरेर खेलिन्थ्यो’, लोक तथा दोहोरी गीत गायक सुदीप क्षेत्री भन्छन्, ‘अहिले हाम्रो संस्कृति हाम्रो रहेन, हाम्रा कला हाम्रा रहेनन्, हाम्रा बाजा हाम्रा रहेनन्। सबै क्षेत्रमा पाश्चात्य प्रभाव त्यसमा पनि अहिलेको पुस्ता मौलिकतामा रमाउन नसक्ने देखिएको छ।’

८६ वर्षीया मल्लको कुरा पनि उही नै हो। देउसी भैलोमा एक जनाले भट्ट्याउने हो, अरूले ‘देउसी रे’ वा ‘भैलो’ भन्ने हो। अहिले गाडीमा ‘साउन्ड सिस्टम’ बोकेर हिँड्ने हिन्दी र ‘र्‍याप’ गीतमा महोत्सव वा ‘कन्सर्ट’ मा जस्तै गरी भैलो खेलेको देख्न पाइन्छ। साना उमेरका बालबालिकाहरू ३-४ जनाको टोलीमा बिना हिचकिचाहट जानी÷नजानी भट्ट्याउने गरेको देख्न पाइन्छ। तर अबोध बालबालिकाहरूमा मानसिकतामा युवा पुस्ताको चलन छिर्न २-४ वर्षको कुरा हो।

कुश्मा नगरपालिका–२ खुर्कोटका ७० वर्षिय नारायणप्रसाद रेग्मी पनि आजभोलिको देउसी भैलोमा विकृति आएको सुनाउँछन्। एक त पहिलेको जस्तै बाक्लो गरी देउसी भैलो खेल्नहरू नआउने र आएकाहरूमा पनि पहिलो जस्ता कौशल नभएको उनको अनुभव छ।

पछिल्लो पुस्ताले देउसी खेल्नै छाडेको बताउँदै उनले यस्तै अवस्था रहे कुनै बेला देउसी खेलिन्थ्यो रे! भन्ने अवस्था आउन सक्ने भन्दै चिन्ता व्यक्त गरे। ‘पहिले दिनमै ४-५ टोली आउँथे। उनीहरूको उद्देश्य मन्दिर, पाटी, धारो, चौतारो, स्कुल बनाउने। कोषमा पैसा जम्मा गर्ने भन्ने हुन्थ्यो। अहिले मान्छे जति गाउँ छोडेर गए।

घर रित्तै छन्, भैलो खेल्न को पो आउने हो?’, रेग्मी भन्छन्, ‘बुढाबुढी खेल्न हिँड्दैनन्। त्यही अलि अलि साना केटाकेटीहरू भैलो भन्दै हिँडेका छन् र तिहार जस्तो भएको छ। तीनले के को भट्ट्याउन जानेका छन् र आशीर्वाद दिउन?’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.