एक वर्षयता ढुवानी भएको छैन भने ५ वर्षदेखि नुन

|

सुर्खेत : डोल्पाको छार्का ताङसोङ गाउँपालिका–६ का श्यामा तेन्जिन गुरुङलाई आफ्नो घरमा खाद्यान्न कसरी पुर्‍याउने चिन्ताले सताएको छ। कात्तिकदेखि उपल्लो डोल्पाका अधिकांश बस्तीमा हिमपातले बाटो बन्द हुने भएपछि गुरुङलाई जसरी भए पनि चिसो मौसममा परिवार पाल्न खाद्यान्नको जोहो गर्नु परेको छ।

उनको ८ जनाको परिवार छ। वर्षमा एक पटक मात्र फल्ने अन्न उवाले सबै घर परिवारलाई पाल्न मुस्किल भएपछि सदरमुकाम दुनैबाट चामल ढुवानी गरेर गाउँ लैजानुपर्ने गुरुङको बाध्यता हो।

सदरमुकाम मात्र सडक सञ्जालमा जोडिएका कारण उपल्लो डोल्पामा खाद्यान्न ढुवानी गर्ने उपयुक्त माध्यम घोडा, खच्चड र चौँरी नै हुन्। उनी जस्तै डोल्पोबुद्ध–१ का फूर्वा लामालाई समेत खाद्यान्न जम्मा गर्नकै पिरलो छ। हिमपातले बाटो बन्द नहुँदै खाद्यान्न जोहो गर्नु उनलाई बाँच्नका लागि गर्नुपर्ने एउटा अर्को संघर्ष भएको छ।

आर्थिक रुपमा सबल रहेका यहाँका स्थानीय उपल्लो डोल्पाबाट जाडोभरि अन्यत्र अस्थायी बसाइ सरे पनि निम्न आर्थिक अवस्था रहेका उपल्लो डोल्पाका सर्वसाधारण भने हिउँको प्राकृतिक नाकाबन्दीमा परेर भए पनि थातथलोमा बस्दै आएको लामाले बताए।

मंसिर ४ हुने चुनावको अन्य ठाउँमा ठूलो कौतुहल भए पनि उपल्लो डोल्पामा खाद्यान्न जोहोदेखि हिउँले कति समयमा बाटो बन्द गर्ला भन्ने चिन्ता रहेको लामाको भनाई छ।

उपल्लो डोल्पाका तीनवटा पालिकामा कुन समयमा हिमपात हुन्छ वा मौसम बिग्रिन्छ थाहा नै नहुने शे-फोक्सुण्डो गाउँपालिका–२ का पेम्मा ग्याल्छेल लामाले बताए।

उनले भने, ‘सुविधासम्पन्न ठाउँमा गफ लगाएजस्तो हाम्रो ठाउँमा छैन, भनेको समयमा औषधि, खानेकुरा, यातायातको सुविधा पाइँदैन। अब प्रकृतिले नै हामीलाई नाकाबन्दी लगाउँदै छ। भोट पनि कसरी खसाउने हो, समयमै हिउँ धेरै परेमा मतदान केन्द्रसम्मै जानसमेत मुस्किल होला।’

उपल्लो डोल्पामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बिक्री केन्द्रमा चामलसमेत छैन। लामो समयदेखि उपल्लो डोल्पामा चामल अभाव भए पनि ढुवानी गर्न नसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी डोल्पाका प्रमुख बिष्णु घिमिरेले बताए।

कात्तिकदेखि फागुनसम्म उपल्लो डोल्पा हिउँले ढाकेको हुन्छ। हिउँले ढाक्ने समयमा सदरमुकाम दुनैदेखि उपल्लो डोल्पा जान र आउन समस्या हुने गरेको छ।

जुफाल र दुनैबाहेक अन्य कुनै पनि ठाउँमा चामल नभएको उनले जानकारी दिए। जुफालमा २०० क्विन्टल चामल रहेको र दुनैमा पनि सोही अनुपातमा भएका कारण तत्काल सडक सञ्चालन नभए खाद्यान्न संकट पर्नसक्ने प्रमुख घिमिरेले आशंका गरे।

जाजरकोट–डोल्पा सडकको डोल्पा खण्ड अझै सञ्चालनमा नभएका कारण खाद्यान्न ढुवानीमा समस्या हुँदै आएको घिमिरेको भनाई छ। उपल्लो डोल्पामा एउटामात्र बिक्री केन्द्र रहेको छ।

त्यहाँ रहेको डिपोमा एक वर्षदेखि चामल नभएको स्थानीयले बताएका छन्। नयाँ ठेक्का सदर भए पनि अहिलेसम्म चामल ढुवानी हुन सकेको छैन। सहुलियतमा पाइने व्यापार कम्पनीको चामल जनताले नपाएर दैनिक फर्किरहेको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताए।

चामल मात्र नभएर यहाँ नुनसमेत नभएको अध्यक्ष शाहीले जानकारी दिए। उपल्लो डोल्पामा आयोडिनयुक्त नुन ढुवानी नभएको ५ वर्ष भएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड डोल्पाका प्रमुख प्रकाश धामीले बताए।

तिब्बतको बाटो हुँदै उपल्लो डोल्पामा नुन ढुवानी गर्नुपर्ने भए पनि ५ वर्षदेखि रोकिएकाले तेन्जे डिपोमा नुन ढुवानी हुन नसकेको हो। ३ पालिका लक्षित गरेर तिन्जे डिपोमा नुन ढुवानी हुने गरेको थियो।

तल्लो डोल्पाका ५ ठाउँमा रहेका केही डिपोमा मात्र नुन ढुवानी हुने गरेको छ। यातायातको पहुँच भएको ठाउँमा मात्र नुन ढुवानी हुने गरेको कार्यालय प्रमुख धामीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.